सप्रनेको ३० औं श्रृङ्खला

 

स्रष्टाखबर समाचारदाता

शनिबार राजधानिको लाजिम्पाट स्थित डिल्लीरमण पुस्तकालयमा स्रष्टा प्रतिष्ठान नेपाल सप्रनेको कवि गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कवि प्रलास सिन्धुलीय, ज्ञानु विद्रोही, ओमकोइराला, यात्रीप्रकाश पाण्डे लगायत ४७ जनाले रचना वाचन गरिरहँदा हल ताली र वाह ! वाह ! ले गुञ्जायमान थियो ।

कार्यक्रममा गहकिलो अन्तरवस्तु भएको, प्रकृति चित्रण, देश, समय र परिस्थिति एवं राजनितिलाई विषयवस्तु बनाएर पाठकको मन छुने शैलीमा लेखिएका रचनाहरु वाचन भए ।

अग्रज पुस्ता र अनुज पुस्तालाई जोड्ने हेतुले विगत ४ वर्षदेखि विभिन्न साहित्यिक गतिविधि गर्दै आएको यस संस्थाले नेपाली भाषा साहित्यको उत्थानका निमित्त विभिन्न कामहरु गर्दै आइरहेको छ । कार्यक्रममा बोल्दै सप्रनेकी अध्यक्ष कवि अमृता स्मृति भन्छिन्, “यस्तै रचना आउने हो भने नेपाली साहित्यको फाँटमा झार कम र बाली ज्यादा लाग्ने संकेत देखिन्छ ।” अग्रज पुस्ता र अनुज पुस्तामा सञ्चार र अध्ययनको अभाव हटाउन छिट्टै सप्रनेले नयाँ कार्यक्रम ल्याउने कुरा उनी बताउँछिन् ।