काव्य मुशायरामा लम्साल र पाण्डे

काव्य मुशायराको दशौं शृङ्खलामा कवि डा. नवराज लम्साल र गजलकार यात्रीप्रकाश पाण्डे प्रस्तुत भए । कवि लम्सालले समाज, समय र वर्तमान विसङ्तिहरुलाई इगिंत गर्दै सशक्त कविताहरु सुनाए । उनले, कविताको घोषणा पत्र, प्रेम र घृणा, बेश्या गमन, सन्तुलन, प्रेमको नाममा ३० वर्षपछि, मायाको श्रृंखला, फर्कन्छु साथी म त, विश्व शान्ती र सन्चो बिसन्चो गरी ९ ओटा कविता सुनाए । शक्तिशाली कविता मार्फत दर्शक तताएका लम्सालको कर्ण र धरा लगायतका कृतिहरु प्रकाशीत छन् ।

त्यस्तै गजलकार यात्रीप्रकाश पाण्डेले उनले तिर्खा पिइरहन्छन् फाँटहरु परबाट, सुनले भन्छ सुन्दर वस्तु बनियो आगोबाट, किन्न पनि मिल्ने बेच्न पनि मिल्ने सामानजस्तो , नजानेर पनि पुजियो जानेर पनि बुझियो, जानेलाई रोकिदिन्छ रोकिदिन्छ आउनेलाई पनि ,धन हुनेले ठुलाठुला घर बनाउँछ , मेरै बाटो काटिहिड्छ अवसर कहाँको लागि, तिमिलाई मात्रै सधैँ अघि अघि राखियो, बनाउनेले बनाइदियो नालायक के लाग्छ जस्ता गजलका उम्दा सेरहरुमार्फत् निकै सशक्त गजलहरु प्रस्तुत गरे । विविध विषयवस्तुहरुलाई समेटेर लेखिएको एक दर्जन गजलको प्रस्तुतीका कारण पाण्डेलाई दर्शकहरुले निकै रुचाए । उनको स्पन्दन आलोकहरु र नजरसँग नजर गजल संग्रह प्रकाशित छ । गजलकार र कविको स्तरीय प्रस्तुतीको प्रभावले मण्डला थिएटर कार्यक्रम अवधिभर गुञ्जायमान रह्यो ।