‘हामी’मा सुनिए दुइ नारी स्रष्टा

 

आइतबार राजधानीको सर्वनाम थिएटरमा दुई नारी स्रष्टाले कविता वाचन गरेका छन् । हरेक महिनाको पहिलो दिन लुनकरणदास–गंगादेवी साहित्य कला मन्दिर र सर्वनाम थिएटरले गर्दै आएको हामी कवि र कविताको ५० औं श्रृङखलामा धादिङकी कवि सुनीता खनाल र झापाकी कवि लीला अनमोल प्रस्तुत भएका हुन् ।

आमा शीर्षकको कविताबाट खनालले प्रस्तुति थालिन् । यसपछि उनले मानव सभ्यताको क्रुरतालाई प्रकृति र जीवजन्तुसँगै दाँज्दै ‘दुइटा पृथ्वि’ कविता सुनाइन । ‘ओ नायक’, ‘चिसो घाम’, ‘पातमा प्रेम’, ‘ऐनाको देश’, ‘रातो रुमाल’, ‘गर्भिणी थियो मेरो नाम’, ‘साँझ पर्नुअघि’, आगोको ठेगाना, अँध्यारो घामको गीत लगायत १२ वटा कविता सुनाएकी उनले प्रायः विकृत राजनीतिक चेतना, प्रेम, वैदेशिक रोजगारको पीडा र नारी पहिचानका कविता सुनाइन् । अन्तिममा स्वर्गीय बुबाप्रति समर्पित गर्दै ‘पैसा फल्ने रुख’ शिर्षकको कविता सुनाउँदा दर्शक÷श्रोता निकै भावुक भएका थिए ।

दोस्रो चरणमा कवि अनमोलले प्रायः प्रेम–प्रणयका कविता सुनाइन् । नेपाली नारीहरुको अवस्था र राजनीतिले विभाजित पारेको मनोविज्ञानमाथि लेखिएको कविता प्रस्तुत गरिन् । २०६७ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत अनमोलले आमा, अन्तिम कुमारी रात, चंगा, कफ्र्य, दुर्घटना, सपनाको घर, दुर्घटित विश्वास, तिमी नभएको भए, लोकतन्त्र, कान्छा सहर नजाऊ लगायतका कविता सुनाइन् ।

 

कार्यक्रममा उपस्थित भएकी ८० वर्षिया नरमाया गुरागाईँले कवि खनालको कविता राम्रो भएको भन्दै खुसी प्रकट गरिन् । बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कविता क्षेत्रका दख्खल व्यक्तित्व्हरुको उपस्थिति रहेको थियो ।