धादिङमा पुस्तक परिचर्चा एवं रचना वाचन

धादिङ । शुक्रबार धादिङबेसीमा स्रष्टा प्रतिष्ठान नेपाल धादिङ शाखा र पब्लिक प्राध्यापक संघ नीलकण्ठको संयूक्त आयोजनामा सुनिता खनालको ‘ओ नायक’ पुस्तक परिचर्चा एवं रचना वाचन कार्यक्रम भबवयताका साथ सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले संसारमा सबैभन्दा महत्वपूर्ण कुरा नै भाषा, संस्कृति र साहित्य भएको बताए । उनी थप्छन् “देशलाई विकसीत बनाउन र सद्भाव बढाउनको निमित्त मात्र नभइ मानव हुनुको पहिचान नै भाषा, संस्कृति, कला, साहित्य हो ।” दिवसले कवि खनाललाई बधाई दिंदै नेपाली साहित्यको विकासमा ‘सप्रने’ जस्ता धेरै संस्थाको महत्वपूर्ण योगदान रहने कुरा प्रष्ट्याए ।
कवि खनालले आफ्नो पहिलो कविता कृति ‘ओ नायक’बाट ‘आमाको वैंश’, ‘चिसो घाम’ र ‘दुइटा पृथ्वि’ कविताका साथ प्रस्तुत भइन् । उनले धादिङमा पहिलो पटक साहित्यक कार्यक्रममा उभिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद समेत दिइन् ।
खनालको संग्रहमाथि डा. नविनबन्धु पहाडीले समालोचना गरे । उनले ‘ओ नायक’ नेपाली साहित्यमा एउटा महत्वपूर्ण कृति भएको कुरा बताए । तथापी ‘ओ नायक’ कविको बौध्द्धिक चापले थिचिएको कारण सामान्य पाठकलाई बुझ्न गाह्रो रहेको समेत प्रष्ट्याए । उनले सरल कविता लेख्न सुझाव दिए । धादिङको साहित्यक इतिहास र वर्तमान अवस्थासम्मको कुरा गर्दै पहाडीले यदि धादिङलाई विर्षने हो भने नेपाली साहित्यिक इतिहास अधुरै रहने समेत जिकिर गरे ।
सुप्रसिध्द्ध गीतकार गजलकार शितल कादम्बिनीले आफ्नो २ ओटा गजल सुनाइन् । उनले गजल वाचन गरेपछि ‘वान्स मोर’ले हल गुन्जायमान थियो । कादम्बिनीले सुनिताको कवितामा दम भएको कुरा बताइन् । कार्यक्रममा कवि देवकी अभिलाषी, सिर्जना अर्याल अधिकारी, विकु लामा, प्रकाश सापकोटा लगायत १ दर्जनभन्दा बढी सर्जकले सिर्जना वाचन गरेका थिए ।
पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष देवि अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्रष्टा प्रतिष्ठान नेपाल ‘सप्रने’की केन्द्रिय अध्यक्ष एवं कार्यक्रम संयोजक कवि अमृता स्मृतिले कार्यक्रमको उदेश्य एवं विषयवस्तुमाथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गरिन् । स्मृतिले ‘सप्रने’ले विगत ४ वर्षदेखि गर्दै आएको साहित्यिक गतिविधिसँगै ‘ओ नायक’ धादिङको माटोले जन्माएको चेली सुनिता खनालको महत्वपूर्ण कृति भएको बताइन् ।
कार्यक्रममा स्रष्टा प्रतिष्ठान नेपाल धादिङ शाखाका अध्यक्षले आगामी दिनमा पनि यस्तै महत्वपूर्ण कार्यक्रम गर्दै जाने प्रतिबध्दता व्यक्त गर्दै सम्पूर्णमा कृतज्ञता व्यक्त गरे ।