धादिङेली साहित्यको नेपाली साहित्यमा महत्वपूर्ण योगदान

नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा स्रष्टा प्रतिष्ठान नेपाल ‘सप्रने’ धादिङ शाखाको संयोजनमा शुक्रबार र शनीबार धादिङबेसीमा साहित्य र संस्कृति विषयक कार्यक्रम सम्पन्न भएको छ । धादिङको सांस्कृतिक, धार्मिक एवं ऐतिहासकी अवस्थामाथि प्रकाश पार्ने दृश्टिकोणले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले धादिङको माटो सिर्जनशील भएको र प्राथमिककाल, माध्यमिककाल र आधुनिककालमा धादिङेली साहित्यले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको कुरा दर्शाउनु भयो । कार्यक्रममा बोल्दै घिमिरेले धादिङको सिर्जनालाई भुल्ने हो भने नेपाली साहित्य अधुरो रहने कुरा समेत बताउनु भयो । उहाँले संस्कृति र संस्कृतिको मानव जीवनमा प्रभावलाई प्रष्ट्याउँदै कुसल कार्यक्रम संयोजन गरेकोमा ‘सप्रने’ धादिङ शाखा र कार्यक्रम संयोजक अमृता स्मृतिलाई कृतज्ञता साथै धन्यवाद ज्ञापन गर्नुभयो ।

 

विचार गोष्ठी कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएकी नेपाल प्रज्ञा–प्रतिष्ठानको समालोचना तथा निबन्ध विभाग प्रमुख कुसल समालोचक तथा निबन्धकार प्रा.डा ज्ञानु पाण्डेले साहित्यको महत्व दर्शाउनु भयो । साथै उहाँले अनुसन्धानका लागि प्रस्ताव कम आएकाले प्रपोजल बुझाउन समेत आग्रह गर्नुभयो ।

 

उक्त कार्यक्रममा ‘सप्रने’ केन्द्रीय अध्यक्ष एवं कार्यक्रम संयोजक कवि अमृता स्मृतिले कार्यक्रमको उदेश्य र विषयवस्तुमाथि प्रकाश पार्नुभयो । उहाँले धादिङको नामाकरण कसरी रह्यो एवं धादिङको सांस्कृतिक धार्मिक महत्व बारे समेत प्रष्ट पार्नुभयो । कार्यक्रममा ‘सप्रने’ धादिङ शाखाका अध्यक्ष हरिशरण अर्यालले स्वागत तथा धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको पहिलो दिनमा दुइ कार्यपत्र प्रस्तुत भयो । साहित्यकार डा. नविन बन्धु पहाडीले धादिङको साहित्यिक इतिहास र वर्तमान अवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले धादिङको साहित्यकार र धादिङको साहित्यले नेपाली साहित्यमा पु¥याएको योगदानलाई समेत कार्यपत्रमा प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रा.रामहरी दाहालले धादिङको सांस्कृतिक, धार्मिक एवं पुरातात्विक इतिहास विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत पश्चात स्रोता तथा दर्शकले प्रश्न गर्ने र कार्यपत्र प्रस्तोताले जवाफ दिने कार्य पनि भयो ।

टानका पूर्व अध्यक्ष रमेश प्रसाद धमलाले साहित्य र संस्कृतिलाई पर्यटनको रुपमा विकास गर्नुपर्ने कुरा बताउनु भयो ।

कार्यक्रमको दोस्रो दिन धादिङ जिल्लामा रहेको केही धार्मिक सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेका सम्पदाहरु अवलोकन गरियो भने कार्यक्रमको दोस्रो दिन रचना वाचन कार्यक्रम भयो । वाचित रचनाहरुमाथि डम्बर खतिवडाले समिक्षात्मक टिप्पणी गर्नुभयो ।

 


उपकुलपति घिमिरे र समालोचना तथा निबन्ध विभाग प्रमुख पाण्डेले पनि कार्यक्रमलाई कविताबाटै सम्बोधन गर्नुभयो । आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै सप्रने धादिङ शाखाका अध्यक्ष अर्यालले कार्यक्रम समापन गर्नुभयो । विगत चार वर्षदेखि विभिन्न महत्वपूर्ण साहित्यिक गतिविधि गर्दै आएको संस्थाले प्रज्ञा–प्रतिष्ठानसँग पनि सहकार्य गर्न पाउँदा अमृता स्मृतिले खुसी व्यक्त गर्नुभयो ।