‘सिंहदरबारको एक रात’ मञ्चन गर्न सकिनँ

जयबहादुर मल्ल न्वारानको नाम । आफ्नो मूल नाममा साहित्यमा कलम चलाएर ख्याति कमाउन नपाउँदै उहाँको नाम परिवर्नन भयो उपनाम ‘गोठाले’ । परिवर्तित नाम अँगालेर साहित्य लेखनतिर लाग्नु भयो । त्यही परिवर्तित नामबाट नेपालको प्रसिद्ध कथाकार, उपन्यासकार तथा नाटककार हुनु भयो ।

नाम परिवर्तन हुनुको रोचक घटना यस्तो थियो- “९५/९६ सालतिर राणाशासनका विरुद्धमा काठमाडौँ सहरभरि पर्चाहरू छरिए अनि ९७ सालमा काजीदाइ (सिद्धिचरण श्रेष्ठ) र सुरेन्द्रबहादुर मल्ल दुबै जनालाई समातियो । त्यसबेला ‘शारदा’ मासिक पत्रिकामा सिद्धिचरण श्रेष्ठको ‘विश्वव्यथा’ र गोविन्दबहादुर मल्लको ‘उसको भाले’ दुबै कविता र कथा छापिएको थियो । ‘विश्वव्यथा’ एक पृष्ठ मात्र भएकोले त्यसलाई च्यातेर झिक्न मिल्यो तर ‘उसको भाले’ धेरै पृष्ठ भएकोले झिक्न मिल्ने थिएन । तसर्थ साहित्यकार भवानी भिक्षुले गोविन्द मल्ल झिकेर ‘गोठाले’ राखेर प्रकाशन गरे । त्यसबेलादेखि गोविन्दबहादुर मल्ल ‘गोठाले’ उपनामबाट परिचित हुनु भयो ।”

विभिन्न नाटककारहरूको नाटकहरूको निर्देशन गर्दै जाँदा प्रसिद्ध नाटककार विजय मल्लको नाटक निर्देशन गर्ने सौभाग्य पाएँ । यो कुरा २०२५ सालको हो र नाटक हो ‘पत्थरको कथा’ । यो नाटक त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले खेलेका थिए । यस नाटकमा अभिनय गर्ने मुख्य पात्र थिए डा. अभि सुवेदी र अन्य पात्रहरूमा सन्ध्या प्रधान, तीर्थ भण्डारी र ज्योति तुलाधर थिए ।

यसैबीच गोविन्दबहादुर ‘गोठाले’ गोविन्द दाइको नाटक निर्देशन गर्ने शुभ अवसर पाएँ । २०१६ सालमा लेखिएको पूर्णाङ्की नाटक ‘च्यातिएको पर्दा’ मञ्चन गर्ने निर्णय प्रज्ञाप्रतिष्ठानले गर्यो र नाटक/निर्देशन गर्ने तयारीतिर लागेँ ।

मानसिक अन्तर्द्वन्द्वको सूक्ष्म चित्रण गरिएको यो नाटकमा धनी घरानीयाँ सरदारको छोरा जनकप्रसाद र निर्धन गोकुलमान दुवै नायिका मननानी प्रति आकषिर्त भएको देखाइएको छ । मानसिक ग्रन्थीले ग्रस्त ती पात्रहरूको सँवाद एवं चरित्र चित्रणबारे पढ्दै जाँदा मन उद्वेलित हुन्छ, मन मस्तिष्कमा हलचल मचाइदिन्छ र गहिरो प्रभाव पार्छ । यो नाटक गोविन्द दाइको सर्वोच्च नाटक हो र नाट्यजगत्ले पाएको ठूलो उपहार हो ।

नाटक गहिरिएर अध्ययन गरी निर्देशन गर्न र पात्र चयन गर्न पनि निकै जटिल भएको अनुभव भयो । गोविन्द दाइसँग निर्देशनका लागि सरसल्लाह गर्नु उपयुक्त सम्झेर उहाँको निवासमा गएँ । केही भलाकुसारी भएपछि ‘च्यातिएको पर्दा’ नाटकको निर्देशन गर्ने सम्बन्धमा कुरा झिकेँ र निर्देशनका लागि सल्लाह पाउने आशा राखेँ ।

उहाँले नाटकका प्रमुख पात्रहरू जानकी, मननानी, धनाढ्य सरदारको छोरा जनकप्रसाद, विपन्न गोकुलमानको चरित्र चित्रण गर्दै पात्रहरूमा रहेको मानसिक द्वन्द्व, घातप्रतिघात, नाटकभित्र रहेको सूक्ष्म प्रतीकहरू आदिका बारेमा बहुतै सरल र सहज तरिकाले व्याख्या गर्नु भयो ।

केही समय अघिसम्म कुलीन घरानीयाँ इज्जतदार कहलिएकी जानकी विपन्नताको मारले भट्टी पसल राख्न पुगेकी र भट्टी पसलमा आउने ग्राहकहरूको सेवा गर्दै जाँड र रक्सी बेच्दै गर्दा आफ्नो इज्जतको पर्दा च्यातिँदै गएको नाटकको शीर्षक प्रतीकको रूपमा ‘च्यातिएको पर्दा’ राखिएको भन्नु भयो । निर्धन, जड्याहा, जुवाडे, मननानीसँग प्रेम गर्ने गोकुलमानसँग सौतामाथि पोइल जाने निष्कर्षमा पुर्याई मननानीलाई-‘म गोकुलमानसँग जान्छु’ वाक्य बोलाई नाटकको अन्त्य गरिएको बताउनु भयो । अब आफैँ विचार गर्नुस् कसरी निर्देशन गर्ने ? मैले नाटक लेखेँ तर नाटक निर्देशन गर्न आउँदैन मलाई । हाँस्दै भन्नु भयो ।

उहाँले नाटकबारे विस्तृत चर्चा गरिरहनु हुँदा म एकाग्र भई उहाँको कुरा ध्यान दिई सुनिरहेको थिएँ । त्यसपछि मलाई नाटक निर्देशन कार्य फुर्दै गयो । अनेक कल्पना गर्दै रहँदा नाटकका सम्पूर्ण पात्रहरू रङ्गमञ्चमा सशक्त प्रभावकारी अभिनय गर्दै रहेको मैले झलझल्ती देख्न थाले । गोविन्ददाइबाट मैले जति सुने त्यसले निर्देशन गर्ने बाटोको ढोका खोली दियो । यसले अब सहजै नाटक निर्देशन गर्न सक्छु भन्ने ममा पूर्ण विश्वास दिलायो । गोविन्द दाइको निकै समय मैले लिएको अनुभव भयो ।

उहाँसँग बिदा लिई म प्रज्ञाप्रतिष्ठान पुगेँ र प्रतिष्ठानका प्रतिभाशाली कलाकारहरू मदन दास श्रेष्ठ, सूर्यनाथ शर्मा, जितेन्द्र महत ‘अभिलाषी’, शुकुन्तला गुरुङ, यदुकुमारी, भरत सुवेदी, मुकुन्दनाथ निराशा ‘च्याम्पियन’, शाकुमार जीवन, शारदा राना, किशोर क्षेत्री आदि कलाकारहरू भेला गरी पात्र चयन गरेँ र रिहर्सल सुरु गरेँ ।

कलाकारहरूलाई अभिनय गराउँदै जाँदा जति अभिनय गराए पनि अभिनय गर्न नपुगेको अनुभव हुन थाल्यो । नाटकको सँवाद र प्रतीकको प्रयोगले कलाकारहरूलाई स्वतः अभिनय गर्न तानिरहेको अनुभव हुन्थ्यो । कलाकारहरूको अभिनयको दक्षताले नाटकको मञ्चन निकै सफल भयो । सबैले कलाकारहरूदेखि निर्देशकको प्रशंसा गरेको सुनियो । खुसीको सीमा रहेन ।

वि.सं. २०२९/३० सालतिरको कुरा हो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तुलसी दिवसजीले गोविन्द दाइको एकाङ्की नाटक ‘युगको शिकार’ को चर्चा गर्दै सो नाटक मञ्चन गर्ने सल्लाह दिनु भयो र नाटक तयार गर्ने तरखर गरियो र पात्रहरू छनोट गरियो । पात्रहरूमा सूर्यनाथ शर्मा, मदनदास श्रेष्ठ, जितेन्द्र महत ‘अभिलाषी’, शकुन्तला गुरुङ आदि थिए । नाटक निर्देशन सुरु गर्नु अगाडि गोविन्ददाइकहाँ पुगेँ र ‘युगको शिकार’ नाटक प्रज्ञा प्रतिष्ठानले मञ्चन गर्ने कुरा गरेँ । यसै समय त्यहाँ विजय दाइ आइपुग्नु भयो । मलाई गोविन्द दाइसँग कुरा गरिरहेको देखेर भन्नु भयो ‘युगको शिकार’ निर्देशन गर्न सुरु गर्नु भयो’ ? मैले भने- ‘त्यही नाटकबारे केही बुझुँ भनेर गोविन्द दाइकहाँ आएको ।’ विजय दाइले नाटकका पात्रहरू-रामराज, हरिदास, जोगमा, प्रभा, चक्रबहादुर र उपेन्द्रको चरित्र चित्रण गर्दै नाटकको विस्तृत व्याख्या गर्नु भयो । मैले साथै लगेको नाटकको पाना पल्टाउँदै भन्नु भयो-प्रभाले बोल्ने नाटकको अन्तिम यो वाक्य –

सबैसँग मेरो नाता हुन्छ, सबैसँग मेरो सम्बन्ध टुट्छ । म उच्च अभिलाषा छोड्छु, त्यतिबेला म यति सानी थिएँ, त्यसबेला मलाई के थाहा आज यस्तो हुन्छ भनेर ? मैले पढेँ तर म बलितिर लम्कँदैछु भविष्यतिर ! म म जमानाको बलि ! म शिकार

भिक्टिम ! भिक्टिम ! भिक्टिम !

अनि भन्नु भयो- नाटकको यो वाक्य अघि सारेर नाटक गर्नु भयो भने नाटकले भन्न खोजेको कुरा दर्शकलाई बुझाउन सहज तथा प्रभावकारी हुनेछ । विजय दाइको सल्लाहमा नाटकको कथा पात्र चित्रणबारे केही कुरा थपिदिनु भयो । म त्यहाँबाट बिदा भएँ । उहाँहरूको सल्लाहअनुसार निर्देशन गरेँ । नाटक मञ्चन निकै सफल भयो । नाटक हेरेर दर्शकहरूले निकै प्रशंसा गरे । प्राज्ञ तुलसी दिवसले सबैभन्दा बढी प्रशंसा गर्नु भयो ।

यस नाटकको प्रदर्शनपछि म गोविन्द दाइसँग नाटकबारे केही सिक्ने उद्देश्यले समयसमयमा जाने गर्थे । उहाँ मलाई आफ्नै भाइसमान व्यवहार गर्नुभएको अनुभव भयो । त्यसैले मलाई त्यस घरमा जान धक लाग्न छोडेको थियो ।

म गोविन्द दाइसँग राणाकालीन नाटकबारे कुरा गरिरहँदा हाम्रो कुरा सुनिरहनुभएका विजय दाइले भन्नु भयो -‘ प्रचण्डजी ! बागदरबारभित्र फ्रेन्च आर्किटेक्ट इन्जिनियरको नक्साअनुसार एउटा रङ्गमञ्च पनि बनाइएको थियो । एक तलामाथि थियो । त्यो चार कुने थियो । त्यसको एक तलामाथि बार्दली बनाइएको थियो । त्यो बल्कोनीको रूपमा थियो । त्यसै बार्दलीमा कुर्सी सोफाहरू सजाइएका थिए । त्यहीँ बसी दर्शकहरू प्रदर्शित नाच, नाटक हेर्थे । यहाँ राणाहरूका महलहरूमा तयार गरिएका नाटकहरू तथा बाहिर तयार गरिएका नाटकहरूको प्रदर्शन हुन्थ्यो । यो रङ्गमञ्च अरू राणाहरूका महलहरूमा बनाइएको रङ्गमञ्चभन्दा भिन्न थियो र आकर्षक थियो । पछि यो रङ्गमञ्च कति कारणले हो भत्काइयो ।’ विजय दाइको कुरामा सही थप्दै गोविन्द दाइले भन्नु भयो -‘वास्तवमा त्यो रङ्गमञ्च आधुनिक किसिमले बनेको थियो ।’ रङ्गमञ्चको चारैतिर बसी नाटक हेर्दा रमाइलो लाग्थ्यो ।

गोविन्द दाइसित समय समयमा भेट हुँदा राणाकालको रङ्गमञ्च र त्यहाँ प्रदर्शन हुने नाथ नाटकबारे निकै कुरा हुन्थ्यो र यसले गर्दा राणाकालमा मञ्चन हुने साँस्कृतिक कार्यक्रम र राणाहरूको शानसौकत र नवीन नाट्य साहित्यबारे केही ज्ञान हासिल गर्ने शौभाग्य पाएको थिएँ ।

वि.सं. २०४० सालको कुरा हो प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवको अवसरमा गोविन्द दाइको एकाङ्की नाटक ‘भोको घर’ निर्देशन गर्न वरिष्ठ रङ्गकर्मी रमेश बुढाथोकीले आग्रह गर्नु भयो । रमेशजीको प्रस्ताव मैले सहर्ष स्वीकार गरेँ । २०३४ सालमा लेखिएको उक्त नाटक रमेशजीकै छनोटबाट आएका पात्रहरू राखी मञ्चन गर्न रिहर्सल सुरु गरेँ । मैले गोविन्द दाइको दुई नाटक ‘च्यातिएको पर्दा’ र ‘युगको शिकार’ निर्देशन गरी मञ्चन गरिसकेको हुनाले यो नाटक म सहजै गर्न सक्छु भन्ने हिम्मत ममा थियो । तथापि यस नाटकबारे पनि निर्देशन पाउने अभिलाषाले उहाँ कहाँ पुगेँ । आफ्नो जिज्ञासा व्यक्त गरेँ । उहाँले नाटकबारे विस्तृत व्याख्या गरिदिनु भयो । नाटक ‘भोको घर’ सबैले रुचाए ।

म, गोविन्द दाइ र विजय दाइको सम्पर्कमा रहिरहेँ । एक दिन प्रज्ञाप्रतिष्ठानको कुनै कार्यक्रममा (त्यो के कार्यक्रमको थियो अहिले सम्झना छैन ।) गोविन्द दाइ निमन्त्रित हुनु हुन्थ्यो । म गोविन्द दाइ नजिकै थिएँ । यसै समय गोविन्द दाइले भन्नु भयो-‘प्रचण्डजी ! मेरो एउटा नाटक ‘मधुपर्क’ पत्रिकामा छापिएको छ । ‘सिंहदरबारको एक रात’ । त्यो नाटक मञ्चन गरेर हेर्नोस्, कस्तो हुँदोरहेछ ।’ मैले हवस् भने र सोधेँ ‘मधुपर्क’ को कुन अङ्कमा ? भन्नु भयो -‘ यसै सालको भदौ अङ्कमा । साल थियो २०५३ । यो नाटक गोविन्द दाइको अरू नाटकभन्दा भिन्न शैलीमा लेखिएको अनुभव गरेँ । नाटक सिंहदरबार आगलागी भएपछिको दृश्यलाई आधार बनाई लेखिएको रहेछ । यस नाटकमा सबै ऐतिहासिक पात्रहरू समावेश छन् ती पात्रहरू हुन्- चन्द्रशमशेर, शम्भुप्रसाद ढुङ्गेल, गङ्गालाल, कान्छी महारानी, शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द, टङ्कप्रसाद, रामहरि, माधवराज जोशी, सुब्बा कृष्णलाल, भीमशमशेर, कृष्णप्रसाद कोइराला, जुद्ध शमशेर, पद्म शमशेर, मोहन शमशेर र गोपालप्रसाद रिमाल । यस नाटकको अन्त्यतिरको दृश्य यस्तो छ-

(धुवाँलाई चिर्दै पातलो, दाहिने हातको कुम सुकेको गोपालप्रसाद रिमालको लङ्गडाएर प्रवेश)

गोपालप्रसाद- (गाएर) ‘एक युगमा एक दिन एक चोटि आउँछ । उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ ।’

चन्द्र शमशेर-को यो ?

मोहन शमशेर – गोपालप्रसाद रिमाल-त्यो बहुला ।

चन्द्र शमशेर – कस्तो बेसुरको राग अलापेको ।

गोपालप्रसाद -(चन्द्र शमशेरको नजिक गएर) तिम्रो निम्ति उथलपुथल – हरेक उथलपुथल बेसुर हुन्छ ।

गंगालाल – तर हाम्रो निम्ति क्रान्ति हुन्छ ।

गोपालप्रसाद – (फेरि गाएर) ‘एक युगमा एक दिन ।’

नाटक यहीँ अन्त्य हुन्छ । सम्भवतः उहाँको यो अन्तिम नाटक हो ।

केही समयपछि नाटक मञ्चनका लागि कलाकारहरू बटुल्न थालेँ । पात्रहरूका तस्बिरहरू हाम्रो आँखासामु प्रष्ट रहेको हुनाले पात्रहरूको खोजी गर्दा केही समय बित्यो । हुबहु पात्रहरू पाउन कठिन भयो र साथै भेषभूषाको व्यवस्था पनि हुन कठिन भएकोले नाटक मञ्चन गर्न सकिएन ।

आरोहण गुरुकुलले गोविन्द दाइको शालिक स्थापना गरे । यो शालिक अनावरण गर्न सँस्कृतिविद् सत्यमोहन जोशी आउनुभएको थियो र गोविन्द दाइ पनि हुनुहुन्थ्यो । दसैँको उपलक्ष्यमा हामीलाई टीका लगाइदिन आउनु भएको रहेछ । यस पटक पनि ‘सिंहदरबारको एक रात’ को प्रदर्शनको कुरा गर्दै भन्नु भयो- नाटकको मञ्चन अवश्य गर्नुहोला । मैले हवस् भनेँ तर आजसम्म पनि उहाँको इच्छा पूरा गर्न सकिँन । बहुतै दुःख लागिरहेको छ ।

 

मधुपर्क
गोविन्द गोठाले विशेष