साहित्य सिर्जना समाजकै यथार्थ उद्घाटन हो

रमेश शुभेच्छु

रमेश शुभेच्छु

कविता भाषाको मितव्ययी कलात्मक अभिव्यक्ति हो भन्ने कवि रमेश शुभेच्छु माता पुण्यमाता लुइटेल र पिता सूर्यनाथ लुइटेलका सुपुत्र हुन् । वि.सं. २०३६ वैशाख १ पाँचथर, शुभाड ९ मेची नेपालमा जन्म लीएका उनको पुरा नाम रमेशकुमार लुइटेल हो ।

गद्य वा पद्य दुबै कविताको प्राण भन्नु नै लय वा सांगीतिक चेतना हो भन्ने धारणा भएका कवि अर्थात साहित्यकार रमेश शुभेच्छुसँग स्रष्टाखबरका लागि अमृता अर्यालले गरेको भलाकुसारीको संपादित अंशः

१) बाल्यअवस्था कस्तो रह्यो ?

मेरो बाल्यवस्था ग्रामीण परिवेशमा बित्यो । मेरा बाबाआमा सामान्य किसान हुनुहुन्थ्यो । महुर्केको परिवार हजुरबाकी आमा र हजुरआमाकी आमासमेत भएको उन्नाइस जनाको संयुक्त परिवार थियो । त्यस्तो परिवारमा म भने सबैको प्यारो नयाँ पुस्ताका रुपमा हुर्किएँ । पहिलो छोरो, नाति, भतिज, भदा, पनाति आदि भएकाले मैले परिवारका सबैको साझा न्यानो माया पाएँ तर त्यस परिवारमा सबैलाई दुख थियो । उज्यालो भएदेखि सबै जना खटिरहनु हुन्थ्यो । म पनि उमेर अनुसार घरको काम सघाउँदै, गाइबाख्रा चराउँदै कहिले गोठमा र कहिले डिहीमा सुत्तै हुर्किएँ । साढे छ वर्षका उमेरमा मात्र स्कुल देखिएको थियो । यद्यपि अक्षरारम्भ भने आफ्नै पिता र हजुरबासँग गरेको थिएँ । स्कुल जान थालेपछि खुबै दुख भयो । आफ्नै घरको पढ्ने लेख्ने अभिभावक नहुँदा गाउँले उदण्ड केटाकेटीहरुको खुब कुटाइ खाइयो । यस शरीरमा अर्काको लात्ती नपरेको ठाउँ सायदै होला ? बिहान बेलुका घाँसका भारी गोठमा पुर्याएर मात्र स्कुल जान पाइन्थ्यो । स्कुलमा खाजा लैजाने वा किनेर खाने चलनै थिएन । बिहान साढेसातमा खाना खाएर हिँडेको मान्छे साँझ पाँचबजे मात्र घर आइपुगिन्थ्यो । त्यसकारण पनि म बाल्यकालमा ज्यादै कमजोर फुकिढल्ला जस्तो दुब्लो पातलो थिएँ । पढाइ पनि दुब्लै थियो । कक्षा सात आठपछि मात्र मेरो पढाइ र व्यक्तित्व विकास भएको हो । मेरा भाइ बहिनीलाई भने त्यस्तो भएन । कम्तिमा उनीहरुले मेरो दाइ हामी भन्दा पढ्ने र जान्ने छ भन्ने भयो र सबै सजिलै अगाडि बढे । सामान्य परिवार र शिक्षा अवस्थाका कारण मेरो परिवारले यस सन्तानले एस. एल.सी पास गर्ला भन्नेसम्म अपेक्षा लिएको थिएन । तपाईँको प्रश्नले कति कुरा समेट्ला र ? मेरो बाल्यकाल आफैमा रमाइलो उपन्यास बन्न सक्छ ।

२) कसरी साहित्य तर्फ मन तानीयो ?
मेरो सिर्जनाको मूल प्रभाव मैले तपाईँलाई बताएको दुखद बाल्यकाल नै हो । त्यस परिवेशमा कक्षा तिनमा पढ्दै गर्दा दश वर्षका उमेरमा पाठ्य पुस्तकको उपदेश शीर्षकको कविताबाट मलाई पनि यस्तै केही लेख्न पाए हुन्थ्यो भन्ने लागेर लेखेको थिएँ । त्यस्तै कक्षा पाँचको पाठ्य पुस्तकमा रहेको किसानको रहर शीर्षकको वेनामी कविता मेरो प्रेरणाको दोस्रो रचना स्रोत हो । त्यस रचनालाई मैले स्कुलको पाठ्य पुस्तक लेख्ता समेत पुन प्रयोग गरेको छु । त्यस कविताले मेरो गीति कविता चेत खुलेको हो भने तत्कालीन कक्षा आठको पाठ्य पुस्तकमा समेटिएको लेखनाथ पौडेलको चरीको विलाप कविताले मेरो सिर्जनामा छन्दको सञ्चार गरिदियो । त्यसै रचनाका प्रभावमा कक्षा १२ उत्तीर्ण हुँदासम्ममा पाँच सय अधिक छन्द कविताको अभ्यास गरेको थिएँ । ती रचना अलि अलि परिष्कार गरेर ल्याउने हो भने काम लाग्ने छन् भन्ने लाग्छ । मैले उच्च शिक्षाका लागि इलाम आएपछि मात्रै केही साहित्यिक संगत र वातावरण पाएँ । त्यसपूर्वको मेरो साहित्यको प्रेरक पात्र म एक्लै थिएँ । पाठ्य पुस्तकमा पढिएका भानुभक्त आचार्य लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, चक्रपाणी चालिसे, माधव घिमिरे, आदिका रचना पढ्नासाथ कण्ठ हुन्थे । ती कविता बाहेक मलाई प्रेरित गर्ने रचनाहरु देवकोटाको मुनामदन, सुब्बा होमनाथको कृष्णचरित्र, भानु रामायण र भगवत गीता समेत थिए । रामायण, कृष्ण चरित्र र गीता मेरा पिताजी र हजुरबाले पढ्नु हुन्थ्यो । हितोपदेश र कतिपय धार्मिक श्लोकहरु मलाई बाल्य कालमै आउँदो थिए । मेरो साहित्यको प्रेरणा त्यतै कतै बहुमुखी स्रोतमा हुनुपर्छ ।

३) कविता के हो ?
यो प्रश्न आफैमा जटिल छ । सारमा भन्दा कविता भाषाको मितव्ययी कलात्मक अभिव्यक्ति हो । सबै भाषिक अभिव्यक्तिभन्दा कविता बढी मितव्ययी र कलात्मक हुन्छ । पूर्वीय साहित्यशास्त्रले दिएका छन्द रस, अलंकार, ध्वनि, रीति गुण जस्ता साहित्य तत्वहरु र पाश्चात्य साहित्य चिन्तनले दिएका बिम्ब प्रतीक आदिको पूर्ण प्रयोग कवितामा बढी सम्भव छ । यस आधारमा यो कलात्मक भाषिक कला हो । यो त्यतिकै मितव्ययी भाषिक अभिव्यक्ति हो । यसमा शब्द चाहेजति खर्च गर्नु हुँदैन । गद्य भाषाका तुलनामा कविताको भाषा संक्षेपीकृत रुपको पनि संक्षेपीकृत रुप मात्रै हो । कविताका पद पद, पदावली पदावली र पंक्ति पंक्ति ध्यन्यात्मक वा बहुअर्थी हुन सक्नुपर्छ ।

४) कविता कस्तो हुनुपर्छ ?
मैले आजसम्म कविताको साधना गरे अनुसार र सुने,पढे, बुझे अनुसार नेपाली कवितामा कविता यस्तो उस्तो हुनुपर्छ भन्ने र कविता रच्ने भिन्ना भिन्नै छन् । म पनि कविता यस्तै हुनुपर्छ भन्न सक्दिन । सामान्य समीक्षकका नाताले कतिपय कविताहरुको समीक्षण गरिरहेको हुन्छु फेरि मेरा कविता कस्ता हुन् भनेर भन्न सक्दिन । मैले अघिनै भनिसकेँ कविता मितव्यही भाषिक कला हो । यसमा मितव्ययीता र भाषिक चमत्कृति हुनुपर्छ । त्यो चमत्कृति लयले पनि ल्याउन सक्छ, भावले पनि ल्याउन सक्छ, बिम्ब प्रतीकले पनि ल्याउन सक्छ, मिथक र सामयिक वस्तु वा घटनाले पनि ल्याउन सक्छ । विपरीचितिकरण, आत्मव्यग्य, विशिष्ट वा विचलित पदक्रम आदि जेले पनि ल्याउन सक्छ । त्यस्तो चमत्कृति ल्याएन भने कविता भाँचिएको भाषा मात्र हुन्छ , लयमा भनिएको कुरा मात्र हुन्छ कविता हुँदैन ।

५) पद्य कविता र गद्य कवितामा के फरक छ ?
पद्य कविता कविताको पनि कविता हो र पद्य कवि कविमध्येको पनि कवि हो । कारण जोसुकैले पद्य कविताको साधना गर्नै सक्तैनन् । यसका लागि लामो तपस्या र त्याग चाहिन्छ । पद्य कविता हुनलाई लय वा भाका मात्र भएर पुग्दैन । लय वा भाकाभित्र मैले अघि भनेका सबै कुरा अटाउन सक्नुपर्छ । चार पाउको लय मिल्दैमा कविता भयो भन्नु भूल हो । कुनैबेला तपाईँ पनि मेरो प्रशिक्षणमा हुनु हुन्थ्यो । मैले बारम्बार यही कुरा भन्दै आएको छु कि कविता धेरैले लेख्न सक्छन् तर छन्दकविता वास्तविक साधकले मात्र लेख्न सक्छन् ।
गद्य कविता कविता होइन भन्ने होइन । त्यस्तो कवितामा पनि निश्चित लय हुने हुँदा मैले तिनलय मुक्तलयात्मक कविता भन्ने गरेको छु । स्वतन्त्र लयका कविता भने पनि हुन्छ । आजको बजारमा भएका गद्य कवि सबै कवि होइनन् साहित्यिक कार्यकर्ता हुन् खास खास कवि मात्रै गद्य कवि हुन सफल छन् र तिनको भविष्य पनि त्यति बलियो छैन बरु गीतकार र गजलकार र आख्यानकारहरुको भविष्य बलियो छ । तपाईँले फरक सोध्नुभयो होइन, फरक भनेको गद्य कवितामा भाषाको विचलन, भाव, विब्ब प्रतीक आदिको प्रवाह बढी अटाउँछ भने पद्यमा यी समग्र पक्षसँगै लय सामथ्र्य सक्तिशाली हुन्छ । गद्य वा पद्य दुबै कविताको प्राण भन्नु नै लय वा सांगीतिक चेतना नै हुन् ।

६) साहित्यले समाजमा कस्तो भुमिका खेलेको हुछ ?
साहित्य सिर्जना समाजकै यथार्थ उद्घाटन हो । लोक साहित्यमा पनि यो अवस्था देखिन्छ । लोकव्यथा नभएको साहित्य साहित्य हुनै सक्तैन । साहित्यलाई तिथि मिति नखुलेको इतिहास भनिन्छ । यसलाई तत्काल नछापिएको समाचार पनि भनिन्छ । साहित्य समाजको दर्पण हो भन्ने भनाइत सर्वविदित र सर्वमान्य नै छ । यी कुराहरु आधारहीन होइनन् । साहित्य र समाज अभिन्न पक्ष हुन् । साहित्यमा प्रयोग हुने पात्र समाजबाटै टिपिएका हुन्छन् । मैले जति कथा लेखेँ ती सबै कथामा मैले चिने जानेकै पात्रहरु छन् । यो अवस्था प्रत्येक कथाकार, उपन्यासकार र नाटककारले आफ्नो सिर्जनामा लागू गरेका हुन्छन् । समाजकै वस्तु व्यक्ति वा संस्कृति नै कविताको बिम्ब हुन्छ । माक्र्सवादी साहित्य सिर्जनामा समाजको वर्गन्द्वलाई महत्व दिइन्छ भने मनोवैज्ञानिक साहित्यमा समाजकै कुनै व्यक्तिविशेषलाई उभ्याएर उसका कोणबाट समाज नै हेरिन्छ । हरेक प्रेम कवितामा सामाजिक सांस्कृतिक सन्दर्भ हुन्छन् । हाम्रो समाजमा सिँदुरपोतेलाई मायाको सफलताको प्रतीक मानिन्छ भने पश्चिमा समाजमा औँठीलाई सिदुर पोतेको स्थान दिइन्छ । हाम्रोमा दुखको घडीमा सेतो वस्त्रको प्रतीकको सहारा लिनु र वेलायतमा सुखका घडीमा सेतो वस्त्र लगाउनु यही फरक समाजको र साहित्य र समाजको सम्बन्ध हो । नेपाली साहित्यमा गाईलाई दुध खाने प्राणी वा सुधो प्राण्।ीका रुपमा लिइनु र पश्चिमा अमेरिकी समाजमा हाम्रामा खसी जस्तै मासु खाने जनावारका रुपमा लिनुको अर्थ यही समाज सापेक्ष चित्रण हो । त्यही समाजसँग संस्कृति हुन्छ । कुनै समाजका बारे बुझ्न त्यहाँको साहित्य पढ्नु प्रभावकारी हुन्छ नभए कतिपय साहित्यकारका कृति किन समाज वहिस्कृत हुन्छन् र ?

७) जीवन के हो ?
सारमा भन्दा जीवन कोक्रादेखि चितासम्मको संघर्षपूर्ण यात्रा हो । यस संघर्षमा विजयीहरु जीवन बाँच्छन् भने हार्नेहरु मृत्यु पनि बाँच्छन् । कर्मवीर जीवन जीवन हो भने कर्महीन जीवन मृत जीवन हो । यसलाई फरक फरक दर्शनले फरक फरक ढगले व्याख्या विश्लेषण गरे पनि सारत कर्मशील र सिर्जनशील जीवन समाजका लागि अनुकरणीय, व्यक्तिका लागि पनि गौरवपूर्ण र भावि पुस्ताका लागि जीवनी पढ्न लायक हुन्छ ।

८) धर्मसँग समाजको संस्कृति र धारणा कसरी जोडिन्छ ?
व्यक्ति आफैमा धर्म निरपेक्ष बन्न सकिरहेको हुँदैन । उसको धर्म समाजको अनुशासन र कानुनसँग गाँसिएको हुन्छ । कतिपय मुलुकले धार्मिक कानुन नै चलाई रहेका छन् । आज हाम्रो मुलुक धर्म निरपेक्ष मुलुक बनेको छ यसले कसैलाई दुखी बनाएको पनि देखिन्छ तर धर्म राज्यको नीति होइन निश्चित समुदायको परम्परा, रीतिथिति र कानुन पनि हो । हाम्रो समाज सनातन धर्मसापेक्ष रीतिथिति र कानुनमा चलिरहेको छ । मलाई व्यक्तिगत रुपमा भन्नु हुन्छ भने धार्मिक कुरामा उति विश्वास लाग्दैन तर मेरा पितापुर्खाले गरिआएका सांस्कृतिक पक्षहरुबाट टाढारहन सकिरहेको हुन्न । धर्म परीवर्तन गरेर हुँदैन । आज बाबुले परिवर्तन गर्दैमा उसका साखा सन्तानले नयाँ परिवर्तीत धर्म नै मान्छन् भन्ने छैन । धर्मसँग समाज र संस्कृति एवम् भावनात्मक सम्बन्ध हुन्छ । यसलाई साहित्यले पनि आफ्नै परिवेश अनुरुप चित्रण गरिरहेको हुन्छ ।

९) अन्त्यमा केहि भन्नु छ ?
तपाईको प्रश्न सोध्ने काइदा राम्रो लाग्यो । एउटा स्रष्टालाई खोज्ने पत्रकार पनि स्रष्टा चेतना भएकै हुन्छ । तपाईँभित्र पनि स्रष्टा चेतना पाएँ । भन्नु पर्ने कुरा धेरै थिए । म नेपाली साहित्य कर्मी र साहित्यकै अध्यापक प्राध्यापक भएर हेर्दा हाम्रो देशको राष्ट्रभाषा नीति ज्यादै कमजोर देख्छु । म राष्ट्र भाषा साहित्यको पिएच्डी गर्दै गरेकोले यस विषयमा उच्च शिक्षा लिएर गर्व गर्ने ठाउँ ज्यादै कम छन् । कक्षा १२ सम्म स्कुल शिक्षा भइ सकेको वर्तमान परीप्रेक्षमा क्याम्पस तहका हरेक विषयमा नेपाली अनिवार्य विषय पढाइ हुनु पर्ने हो । अझ विज्ञानमा विज्ञान सापेक्ष भाषा साहित्य, व्यवस्थापनमा व्यस्थापन सापेक्ष भाषा साहित्यको पठनपाठन कानुनमा जस्तै हुनु पर्ने हो त्यो हुन सकिरहेको छैन । नीति निर्माताहरुले विदेशी भाषालाई गरिखाने मेलो बनाइ राखेका छन् । आज राजधानी लगायत हिमाली क्षेत्रका चिनसँग सीमा जोडिएका निजी विद्यालयले चाइनिज भाषा र तराईमा भारतसँग सीमाना जोडिएका विद्यालयले हिन्दी भाषा पढाइरहँदा राज्य वेखबर छ । कम्तिमा छिमेकी मुलुकको भाषा एैच्छिक रुपमा पठन पाठन गराउने व्यवस्था दोहोरो हुन सके हुन्थ्यो । सिर्जनाको केही विकास भए पनि गुणस्तरीय सिर्जना हुन सकिरहेको छैन र समालोचना त ज्यादैनै कम छ । राज्यले राष्ट्रभाषाको साहित्यलाई गरिमापूर्ण बनाउन सकिरहेको छैन । जिम्मेवार व्यक्तिहरुका वक्तव्य र विज्ञप्तिहरु पनि भाषिक साहित्यिक दृष्टिले कमजोर छन् । लोकसेवा जस्तो राष्ट्रसेवाको जागिर खान भाषा नजाने पनि हुने भएको छ । संघसंस्था शैक्षिक संस्था आदिका नाम विदेसीकरण हुँदै गएका छन् । देशको राष्ट्र भाषा साहित्यको विद्यार्थीै भएर हेर्दा आफ्नै मुलुकमा हराइने स्थिति छ । तपाईँले केही भन्नु थियो कि भन्नु भयो मैले त यसो पो भनिदिएँ ।

१०) स्रष्टाखवरलाई केहि भन्न चाहनु हुन्छ ?
अबको सञ्चार अनलाइनमै विकास हुन्छ । नेपालमा यसको उचित व्यवस्थापन हुन सकेको छैन । त्यसमा पनि तपाईँहरु स्रष्टा र सिर्जनशील पक्षलाई मात्र उद्देश्य बनाएर अनलाइन चलाइरहनुभएको छ । कला,संस्कृति र साहित्यको संगालो स्रष्टाखबरलाई यसका बधाईका साथै निरन्तर चलिरहोस् भन्ने शुभकामना । संसारमा स्थापित भन्ने कुरा निरन्तरताबाट मात्रै सम्भव छ । यो वेव पत्रिका कलासाहित्य जगत्को नेतृत्वदायी पत्रिका बन्न सकोस् । हार्दिक शुभेच्छा ।