साहित्य मान्छेको मन मष्तिष्कलाई छुने शाब्दिक कला हो

कवि एवं गीतकारका रुपमा स्थापित नाम हो उषा शेरचन । स्व.पिता झपट बहादुर भट्टचन र माता याम कुमारी भट्टचनकी शुपुत्रि शेरचनको जन्म वि.सं.२०१२ साल भाद्र ६ गते पोखराको गणेश टोलमा भएको हो । मान्छेको स्वरुप र विचार फरक–फरक भए जस्तै मान्छेले लीने साहित्यको स्वाद पनि फरक–फरक हुन्छ भन्ने विचार भएकी प्रतिभाकी धनी शेरचनसँग स्रष्टाखबरको लागि अमृता स्मृतिले गरेको भलाकुसारीको संपादित अंशः

(१) बाल्य अवस्थामा यहाँको स्वभाव कस्तो थियो ?
मेरा माता\पिताका अनुसार म बाल्यकालमा निकै सालिन स्वभाव भएको ज्ञानी बच्चा थिएँ । म सानै देखी सिर्जनशिल भएकाले परिवारमा सवैजनाले निकै माया गर्नुहुन्थ्यो । म अनुशासित थिएँ । सवैले भनेको मान्ने नम्र अनि चकचक नगर्ने खालको थिएँ । मेले सानोमा आर्थिक समस्या खेप्न नपरेतापनि छोरीलाई धेरै छुट भने थिएन । जब मलाई म हुनुको अस्तित्व थाहा भयो तब म अलि लज्जालु थिएँ । म अलि बढिनै भावुक अनि संवेदनशिल भएकाले सानोसानो कुराहरुले पनि मेरो मन छुन्थ्यो । समग्रमा मेरो बाल्यकाल सिर्जनशिल एवं सुखद् रह्यो ।

(२) साहित्य एवं संगीत लेखनमा कसरी मन तानियो ?
त्यतीवेलाको समाज छोरीहरुले पढ्न हुँदैन भन्ने खालको थियो । मेरो जन्मथलो पोखरामा पनि त्यस्तै थियो । हाम्रो घर वरिपरि नेवारहरुको बाहुल्यता थियो । मेरो बाजेले पनि त्यहि व्यापार गर्नुहुन्थ्यो । त्यतीवेला पनि मेरो बाजे कला एवं संगीत प्रेमी हुनुहुन्थ्यो । आजिवन थकाली समुदायको मुखिया हुनुभएको मेरो बाजे वेद लगायत धेरै शास्त्रहरुमा निपूर्ण हुनुहुन्थ्यो । तवला निकै राम्रोसँग बजाउनु हुन्थ्यो । त्यतीवेला पनि गाउँमा भजन कृतन हुने गथ्र्यो । त्यसवेला देखिनै मेरो साहित्य तर्फ मन तानिएको हो । संगीत तर्फ भने मेरो बाजेको प्रभाव नै हो ।

(३) यहाँको पहिलो साहित्यिक कृति कुन हो ?
‘नजन्मेका आस्थाहरु’ मेरो पहिलो कृति हो । नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान र त्यहाँका रामशरण दाईकै प्रयासमा यो कृति प्रकाशित भएको थियो । यद्यपी मेरो फुटकर कविताहरु भने गोर्खापत्र लगायत धेरै मिडियाहरुमा प्रकाशित भइसकेको थियो । पाण्डुलीपि छाडेर अमेरिका गएकी म आउदा मेरो कृति प्रकाशित भइसकेको रहेछ । पहिलो रचना वि.सं.२०३५ सालमा गोर्खापत्रमा प्रकाशित भएपछि सार्वजनिक रुपमा कविको रुपमा सार्वजनिक भएँ ।

(४) यहाँको विचारमा साहित्य के हो ?
साहित्य भनेको मान्छेको मन मष्तिष्कलाई छुने शाब्दिक कला हो । अक्षर त केवल क देखि ज्ञ सम्म नै हो । कसरी शब्द संयोजन गर्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ ।
साहित्यलाई परिभाषा भित्र कैद गर्न मिल्दैन किनभने जसरी मान्छेको स्वरुप र विचार फरक–फरक भए जस्तै मान्छेले लीने स्वाद पनि फरक–फरक हुन्छ । मलाई धुनधान मन परेको कविता अरुलाई मन नपर्न पनि सक्छ र अरुलाई असाध्यै मन परेको कविता मलाई मन नपर्न पनि सक्छ । मेरो विचारमा व्यक्ति विषेशले साहित्य पढेर अनुभुत गर्दछ भने त्यो नै हो साहित्य । कतिपय समालोचकहरुले साहित्य यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भन्नु हुन्छ तर उहाँहरुकै कवितामा त्यो भेटिंदैन । त्यस्तो भन्न जान्नेहरुले त त्यस्तै गरेर लेख्न पनि सक्नुहुन्थ्यो तर किन लेख्नु भएन त ? रचनात्मक कुरा भनेको मान्छेको सिर्जनामा भरपर्ने कुरा हो । विश्वको जुनसुकै मान्छेले आकाश देखेको छ । विश्वका सवै मानिसले जुनतारा, धर्ति, प्रकृति आदि देखेका छन् तर कविले देख्नु र साधारण मानिसले देख्नु फरक हुन्छ । अनुभुति उस्तैउस्तै भएपनि दृश्टिकोण फरक हुन्छ ।

(५) यहाँलाई नेपाली साहित्य महिला मैत्री छ जस्तो लाग्छ ?
नेपाली साहित्य अहिलेसम्म पनि महिलामैत्री पटक्कै छैन । किनभने धेरै पढे लेखेका महिलाहरुले पनि अदृश्य अंकुशहरु झेलेकै हुन्छन् । बौद्धिक जमातमा पनि अझै घर भित्रका काम महिलाले गर्ने जस्ता विभिन्न किसिमका बन्देजहरु जीवीतै छन् । कामबाट बचेको समय सिर्जनामा लाग्दा गाह्रो हुन्छ । भारी सहित हिँड्नु र भारी बिना हिँड्नु एउटै हुँदैन । भारी विना पुरुषहरु हिंड्छन् भने महिलाहरु अझै पनि भारी सहित हिँड्न बाध्य छन् ।

(५) जीवन के हो ?
जीवन भनेको आउनु र जानुको एउटा रेल जस्तै हो । जीवन नियतीको खेल पनि हो । अझ भन्नुपर्दा आउँदा र जाँदासम्मको अनुभवहरुको संगालो नै जीवन हो । जीवन फुलाउन मैले धेरै काँडाहरुको घोचाइ सहनु परेन तर संघर्ष भने गर्नु प¥यो ।

(६) यहाँको जीवनको अविस्मरणीय क्षण ?
हरेक क्षण मलाई उत्सवमय र अविस्मरणीय लाग्छ । तर दुखको क्षण भन्नुपर्दा आफन्तको मृत्यूले मन दुखाउँछ ।

(७) गीतसंगीत तर्फ रुचि कसरी बढ्यो ?
मेरो बाजे गितार, तबला मादल अत्यन्तै राम्रो बजाउँनु हुन्थ्यो । सानै उमेरदेखि गीतसंगीत तीर मेरो पनि झुकाव थियो । हाम्रो टोलमा त्यतीवेला धेरै भजन गाउने चलन पनि थियो । नाच्न गाउँन नआएपनि म लेख्न सक्छु र सवैको सुन्दर गला मैले पाएको छु खुसि लाग्छ ।

(८) भावी योजना के छ ?
मान्छेले सपना देखेको हुन्छ तर कहिले पुरा हुन्छ कहिले पुरा हुँदैन । भुकम्प र नाकाबन्दीको असरले गर्दा प्रत्येक मानिसको जीवन यापन कठिन भईरहेको अवस्था छ । यदि म विलगेट जस्तो भएको भए सारा असहाय नेपालीलाई सहयोग गर्ने थिएँ । सवैलाई सहयोग गर्न असमर्थ भएकाले साहित्य क्षेत्रमा लाग्नु भएकाहरुलाई सहयोग गर्ने मेरो सोचाइ हो । साहित्यमा सेवा गर्नु भनेको समाजको एउटा अंगलाई सेवा गर्नु हो । पहिला देखि नै सानासाना विद्यार्थीहरुलाई केहि रकम सहयोग गरिरहेको छु । नाकोत्तरका केहि विद्यार्थीहरुलाई पनि सहयोग गरिरहेको छु । मैले प्रचार प्रसारको लागि भन्दा पनि आत्मा सन्तुष्टिको लागि गरेको हुँ ।

(९) यहाँका पाठकहरुलाई केहि भन्नुछ कि ?
। लेखकले लेख्ने पाठकको लागि हो । त्यसैले उएटा लेखकको लागि पाठक प्रीय हुन्छ । पाठकले पढेर प्रतिक्रिया दिनु अर्थात पाठक बढ्नु भनेको एउटा रचनाकारको लागि खुसिको कुरा हो । प्रकाशित भएका मेरा सवै कृतिहरु स्रोता तथा पाठकको सम्पत्ति हो । उहाँहरुले कसरी ग्रहण गर्ने भन्ने उहाँहरुको कुरा हो । अहिलेसम्म केहिकेहि बाहेक असल पाठकहरुसँग मात्र भेट भएको छ।

(शेरचनको अहिलेसम्म नजन्मेका आस्थाहरु (कविता–सङ्ग्रह) , अक्षरहरुका शिविरबाट (मुक्तक–सङ्ग्रह) , सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कविता–सङ्ग्रह) ,तेस्रो रङ्ग (कथा सङ्ग्रह) ,एलबमः अभीप्सा , सञ्चयन , मेरो माटो मेरो गीत , संवेदन, आकाश छुने रहर , वियोण्ड द फ्रन्टिर्यस (ख्याति प्राप्त महिला स्रष्टाहरुका अंग्रेजिमा अनुवादित कथा संग्रह) र डटर अफ दि अर्थ ( समकालिन महिला स्रष्टाहरुका अंग्रेजिमा अनुवादित कविता संग्रह) कृतिहरू बजारमा आईसकेका छन । शेरचनले ब्यथित–काब्य पुरस्कारः(२०४३) ,लोकप्रिया पुरस्कार (२०५७) , पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार(२०५७) , व्यथित–काव्य वनिता पुरस्कार(२०६९) , रत्नश्री–सुवर्ण–पदक (२०४०) , कविता महोत्सव पदक (२०४५) , वीरेन्द्र–ऐश्वर्य सेवा पदक (२०५८ ) , विश्व नारी नेपाली साहित्य पदक(२०७१) , भानुभक्त स्वर्ण पदक (२०७१) र अन्य दर्जनौ पुरस्कार प्राप्त गरि सक्नु भएको छ ।  )