सम्झनामा एकदिन (संस्मरणात्मक निबन्ध)

DeepsShah

 

दीप्स शाह

मिति ठ्याक्कै याद भएन, २०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिकको सम्पादन गर्थें। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा. दीर्घसिंह बमको जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न थालेको ‘म’लाई यो चानचुने कुरो थिएन। तर पनि सानैदेखि लेख्न भनेपछि हुरुक्क हुने हुँदा त्यातिबेला मैले उक्त जीवनीलेखन चुनौती र अवसरको रुपमा लिएर सुरुवात गरेँ। यो सुरुवातमा मेरा धर्म-दाजु श्री गमनराज आचार्य (झापा, भद्रपूर)को ठुलो प्रेरणा थियो। उक्त जीवनी लेखाइले मलाई धेरै कुरा नियाल्ने, जान्ने, दुई-चार ठाउँ पुग्ने र प्रत्यक्षता प्राप्त गर्ने अवसर समेत दियो । लाग्न पनि एक बर्षभन्दा बेसी समय लागेको थियो मलाई उक्त पुस्तकको पूर्ण खाका तयार गर्न। त्यही सिलसिलामा डा. दीर्घसिंह बमकी जीवनसाथी श्रीमती सलोनी बमज्यूबाट केही जानकारी लिने हिसाबले उहाँसँगको समय मिलाएको थिएँ अन्तर्वाताको लागि – एक कठ्याण्ग्रे बिहानमा उहाको निवास थापाथलीस्थित सुन्दर घरमा। कठ्याण्ग्रे यस हिसाबले कि मलाई याद छ खासाबाट झिकाएको पहेँलो झ्यापुल्ले ज्याकेटको उद्घाटन त्यसै दिन गरेको थिएँ। तोकिएको समयमा अफिसकै साथी बिमला रेग्मीलाई लिएर पुगें सलोनीज्यूको दैलो ढक्ढक्याउन । अत्यन्तै मिजास र सम्मानका साथ बैठकको नरम सोफामा बसालेर उहाले सत्कार गरिसकेपछि हाम्रो कुराको सुरुवात भयो। टेप-रेकर्ड बोके पनि किन किन मलाई धेरैजसो अन्तर्वाता लिँदा बुँदागत टिपोट कापीमै गर्न मन पर्थ्यो।

सम्भ्रान्तीय उहाको बिगतदेखि डा. दीर्घसिंहज्यूको जीवनका कैयन पाटा खोतलिसकेपछि एक छिन अनौपचारिक वार्ता पनि भ्यायौँ । अनि अन्तमा खाजा नास्ताको ब्यबस्था पनि गरियो, नाइ भन्ने ठाउँ त थिएन नै । फेरि त्यसै दिन एक छिनपछि एउटा न्युज रिपोर्ट गर्ने समय मिलाइसकेको हुँदा त्यही खाजालाई दिउसोको खाना बनाएर लाग्नु ठीक लागेकोले स्वीकार गरियो। खाजा आइपुग्यो । ब्रेड चिया अनि खै के थियो अरु । तर साथमा अम्लेट थियो, सलोनीजीको अनुसार ‘हाल्फ अम्लेट’ याने कि अण्डाको रानो चाँहीँ नपाकेको अवस्थाको। मलाई खासमा अझै पनि त्यस्तो अम्लेटको नाम के हो थाहा छैन। मैले भनु पर्दा रानो नपाकेको अम्लेट । हतारै गर्नुपर्ने गरी भोकाएकी पनि थिइन, न त डा. बमज्यूको आरामदायी बैठकमा त्यति थर्थरी काँप्ने गरी जाडो नै थियो। (सरल सामान्य अझै निर्धन जीवन बाँच्दै भर्खर भर्खर सपनाका मोती खोज्दै शहर पुगेको ‘म’लाई कतिपय शहरिया खान्कीको नाम पनि थाहा थिएन। भनौ भने खाने तौरतरिका पनि आउँदैनथ्यो। बिस्तारै अक्कलको नक्कल र नक्कलको अक्कल पालो पालो गर्दै शहरमा पाइला टेक्तै थिएँ। ठाउँ हेरी जानेसुनेको बानी परेको झैँ अभ्यस्त देखिन खोज्थेँ । मलाई लाग्छ यो आम ग्रामीण प्राणीलाई सुरुवातीका शहरीया जीवनमा पर्ने असर होला।) कसो कसो मिलाउँदा मिलाउँदै अम्लेटको प्लेट कोल्टेर त्यो बजिया अण्डाको नपाकेको रानो त स्वाल्यात्त ओइरियो मेरो खासाली भुवादार ज्याकेटमाथि! कति माथि रहरले किनेर उसै दिन मात्र उद्घाटन गरेको ज्याकेट, उसमाथि त्यतैबाट सोझै अर्को कार्यक्रममा जानुछ उही लुगामा। अझै त्योभन्दा चर्को कुरो त कत्ति न प्रोफेसनल बनेर त्यत्रो अन्तर्वाता लिन जान्नेले एउटा प्लेट समात्न नसकेको हो कि अम्लेट खान नजानेको हो! यो सामान्य कुरो हुँदाहुँदै पनि म भित्रको उरन्ठ्यौलोपन हुत्तेर यसरी आयो कि, जति अघि अम्लेट पोखिँदा शरम भएको थिएन त्योभन्दा बेसी अहिले थाम्नै नसक्ने हाँसोको फोहराले पारिदियो। हरे मेरो आलोकाचो बुद्धि! रोक्न खोज्छु मरे रोकिन्न त हाँसो । श्रीमती बमज्यूले दिनुभएको टिस्यु पेपरले ज्याकेट सफा गरेर खाजा भ्याइसकेपछि बाटो लाग्यौँ हतार हतार बिदा मागेर। अनावश्यक शरमले यति गाह्रो भयो, हिँड्ने बेला कतिखेर त्यहाबाट उम्केर पेटभरि हाँसुला जस्तो भएर हतार हतार गरी निस्क्यौँ र थापाथली चोकमा पुगेर आन्द्रा चुँडेला जसरी हाँस्यौँ।

त्यसको लगत्तै सार्क राष्ट्रका क्षयरोग केन्द्रका डाइरेक्टरहरूको सम्मेलन थियो होटल हिमालयन्, कुपोन्डोलमा। एकातिर स-सानै भए पनि साप्ताहिक पत्रिकाको सम्पादक अर्कातिर उहाकै जीवनी लेख्दै गरेको हुनाले पनि डा. बमज्यूले उक्त सम्मेलनमा पत्रकारको हैसियतले मलाई निम्त्याउनुभएको थियो।

त्यति ताम्झामको होटल पहिले कहिल्यै नजिकबाट देखेको त थिएन भने भित्रै पस्न पाउनु त परको कुरो। सानोमा गाउँमा हुँदा अरुले ‘तारे होटल’को कुरा गर्दा भित्तोभरि झिल्मिल तारा टल्किने होला भन्ने लाग्थ्यो। आफ्नै त्यो परिभाषा बदलिएर अहिले सर्ब-सुबिधा सु-सम्पन्न होटल भनेरसम्म बुझिएको अवस्थामा त्यस दिनको काकताली भनुँ भने भीरकै चिण्डो भयो। डा. साहेबले होटलको रिसेप्सनमा भन्नुभाको रहेछ कोही ‘राइजिङ्ग स्टार’बाट आउनुभयो भने माथि पठाइदिनु भनेर। भित्र प्रबेश गर्नासाथ् बडो नम्रतापूर्बक हामीलाई सोधपुछ गरी एकजना भलाद्मीले लिफ्टसम्म पुर्याइदिए। तर त्यहाँ भएका जतिले अनौठो गरी हामीलाई नियालेको भने मैले अड्कल गरेको थिएँ। जति नै मेहनत गरेर सकेसम्म गतिलो पर्सानालिटी बनाउन खोजे पनि हाम्रो लवाइमा एक खालको संक्रमित अवस्था प्रष्ट झल्किरहेकै थियो । (गाउँले तरिकाले नछोडिसकेको र शहरीया तरिकाले पूर्ण स्वागत गरिनसकेको उक्त संक्रमित लवाई-बोलाईमा बिशिष्ट ठाउँमा पुग्दा प्राय:निकैको आँखाले घुरेको म महसुस गर्थें, त्यहाँ पनि त्यस्तै भयो। )

तर जे भए पनि म डा. सा’ब बाटै बोलाइएको पत्रकार न परेँ। अनि ती भलाद्मीले लिफ्टभित्र पुर्याएर बन्द गरेर फर्किए । र फर्किने बेला “माथि थर्ड फ्लोरको ग्रीन हलमा जानुस् है!” पनि भने। आक्कल्झुक्कल बिशालबजारको सुरुरुरुरुरु माथि जाने भर्याङ्ग जस्तो लिफ्ट मात्रै देखेको यो आँखाले पहिले त अचम्मै मान्यो । पहिलो पटक सानो चिटिक्क परेको, भित्तामा ऐना राखेको लिफ्टमा रहँदा ‘यस्तो पनि कस्तो लिफ्ट हो?” भन्ने लागेर म र साथी अचम्ममा पर्यौँ। त्यसपछि फसाद पर्‍यो! अब कता जाने? लिफ्ट हल्चल नै गर्दैन ! माथि जानलाई स्विच थिच्नुपर्ने पनि थाहा भएन, त्योभन्दा पहिला कहिल्यै देखेको भए पो! के गर्ने नगर्ने सुद्दी नआएर एक छिन त असिनपसिन भयौँ। न बाहिर जान सक्नु, न माथि जान सक्नु । जे पर्ल पर्ला भनेर ३ लेखेको बटन दबाएको त स्वाट्टै माथि गयो । तर कसरी ढोका खोल्नु भनेर सोच्दासोच्दै माथि पुगेर आँफैँ ह्वाङ्गै ढोका खुलेपछि निधारमा टिल्पिलाउन खोजेको पसिना आफैं ओभाउन थाल्यो। यसो अगाडि हेरेको भित्तामा ग्रीन हल तिरको सिग्नल रहेछ अनि त्यतै हानियौँ।

भित्रपुग्दा त सार्कका प्रतिनिधि र अरु दुई जना मात्र छलफलमा रहेछन । कार्यक्रमको जानकारी फ्याक्सबाटै सम्बन्धित मेडियामा पठाइने हुँदा अरु पत्रकार कोही निम्त्याइएको रहेनछ। डा. बमको जीवनी लेख्ने क्रममा निकै आवत-जावत, फोन वार्ता, भेटघाट भैरहेको हुँदा डा. बमज्यू मलाई आफ्नो कोही अभिभावक झैँ लाग्थ्यो । उहाले पनि मलाई आफ्नी छोरी दीलाशा जस्तै छिन् भन्ने गर्नुहुन्थ्यो । मलाई पत्रकार कम आफन्त बेसीको व्यबहार गर्नुहुन्थ्यो । शायद यसैले पनि होला उहाले ती सार्क प्रतिनिधिहरूसँग मेरो परिचय गराउने हेतुले पनि त्यहाँ निम्त्याउनुभएको थियो । तर अहिले म ती कसैको नाम समेत सम्झन्न । ठुलो भव्य ‘ग्रीन हल’मा पस्दा पहिले त विश्वाशै लागेन त्यस्तो भव्य कोठा कुनै नेपालीकै उपभोगको लागि हुँदोरहेछ भन्ने। नाम नै ‘ग्रीन हल’ भएकोले हल पुरापुर हरियो थियो। अँझै भुइँमा साँच्चैको लाग्ने हरियो लहलहाउँदो दुबोमा हाम्रा धुलोमा रङ्गिएका जुत्ता छोपिँदा गाउँमा बिहेको समयमा माला बनाउने दुबो खोज्दाको क्षण याद आइदियो।

भित्र पस्नासाथ भर्खरै अर्कै ग्रहबाट टप्किएका प्राणी जस्ता हामी दुईलाई देखेर ‘सार्क प्रतिनिधि’हरू पनि अचम्मित् भए हुनन् । तर बडो शिष्टतापूर्वक सबैले एकसाथ उठेर स्वागत अभिवादन गर्दा त्यो सम्मान पचाउने हैसियत आफूभित्र खोज्दै मेरा दुबै कान रिनिक्क ताता भए । तर भाग्यबस कसैले देखेन, एकप्रकारले ढुक्क भएँ। हामीलाई लगेर एउटा सोफामा बसाइयो र सँगै परिचय पनि। परिचयको क्रममा बुद्दिजिविबाट सामान्य कुराकानीमा जति नम्रता, शिष्टता र इज्जत पाइयो , उसबखत मैले शिक्षा र मेहनतको महत्व निकै टड्कारो महसुस गरेँ । हाम्रो परिवेशका बाबजुद एउटा पत्रकार भएर त्यति गहकिलो समयमा उपस्थित हुनु आफैंमा मलाई गर्व लाग्यो । ती सबैले अत्यन्त सम्मान गरे जुन मैले होइन मेरो मेहनत, शिक्षा र लगावले पाएको थियो । भलै त्यो निकै ठुलो डिग्रीको शिक्षा र मेहनत थिएन।

त्यसपछि उनीहरूको छलफल सुचारु भयो। बडेमानको भित्तामा जडान गरिएको स्क्रिनमा परबाट रिमोट-कन्ट्रोलको मद्दतले औँल्याउदै जानकारी प्रस्तुत गरेको देख्दा स-सानो सिनेमा हल नै पो जस्तो लाग्यो। तिनै अचम्म, र असमयन्जस्यताका बिच करिब एक घण्टा बितेछ । अनि अर्को अचम्म के भने ती सबै प्रतिनिधिहरू छलफलको क्रममा यति मसिनो गरी बोल्ने कि, कतिपय शब्द मैले सुन्नै सक्दिनथेँ ।

बिस्तारै कार्यक्रमले समयको पुछार ताकेको संकेत मिल्न थालेपछि भने म झस्किएँ नराम्रोसँग। अवश्य कार्यक्रमको अन्तमा खाजा पानीको ब्यबस्था यहाँ पनि होला । अब यति महत्वको अन्तरराष्ट्रिय छलफलको उपलक्ष्यमा, यति बिशिष्ट होटलमा झन के के तरिका र प्रकारका खानेकुरा आउलान् । ‘पाखे त हुँदै हुँ, यहाँ अडबाङ्गे पनि बनुला’ भन्ने पिरले कोतर्न थाल्यो फेरि । त्यैमाथि अघि भर्खर बिहान उनै डा. सा’बका घरमा अम्लेटको रानो पहिरो गाको सम्झना दिमागबाट त हटेको छैन नै खासाली झ्याप्ले पहेलो ज्याकेटमा दागपनि कतै कतै बाँकी नै छ। फेरि कति न ठुलो पल्टेर खान्न भन्न पनि झनै नसुहाउने कुरा। त्यस्तो बिषम अवस्थामा मैले एउटै उपाय भेटेँ – खाजा आउनुअघि नै त्यहाँबाट कुलेलम ठोक्ने। अनि औलाको ईशाराले डा. बमज्यूलाई सोफाको छेउमा बोलाएँ, उहाँ आउनुभयो। मैले भनेँ, “भोलिको पेपरका लागि निकै काम पेण्डिङमा छ, अर्को एक जना स्टाफ आज बिदामा छन्, मिल्छ भने यो विवरण मेरो अफिसमै फ्याक्स गर्दा कसो होला?” यसो सोचेर उहाँले “हुन्छ नि त” भन्दै सबैसँग बिदा माग्दिनुभयो र उहाको पी. ए. कृष्ण पन्तज्यूलाई हामीलाई तलसम्म छोड्न भन्नुभयो। अनि हलुको मन बोकेर सबैसँग बिदाको हात उचालेर तल झर्यौं । तर यो पाली लिफ्टबाट लगेनन कृष्णजीले, भर्याङ्गबाट ओराले। बाहिर गेटसम्मै पुर्याएर उनी फर्किए। अनि हतार हतार तल बागमतीको पुलतिर लम्किँदा बल्ल मेरो साथी बिमला जङ्गिई, ” किन ढाँटेको! आज त पेपरको काम त कति नै छ र? कस्तो मजा आइरा’को थ्यो ग्रीन हलको हरियालीमा हराउन।”

मैले भनें, “अघि बिहान अम्लेटको गति देखिनस्? फेरि त्यै दशा फर्क्यो भने नि!” त्यसपछि एकछिनलाई पत्रकारिता, लेखन, जागिर, सम्मान सबैलाई आफूबाट पन्छाएर नित्तान्त उही ग्रामीण सादा जीवनमा पदार्पण गरेर धित मरुन्जेल हाँस्यौँ बागमती पुलको पेटिमा आड लागेर। यसो हेरेको त हाम्रा जुत्ताको धुलो पनि पो सबै त्यै ग्रीनहलको दुबोले त्यहीँ राखेछ, सफा भएछ ! झन आँशु र सिँगानको ओइरो लागुन्जेल पेट मिचीमिची हाँस्यौँ र लाग्यौँ डिल्ली बजारतिर आफ्नै अफिस भेट्न ।

जिन्दगीका भङ्गाला पार गर्ने सिलसिलामा यस्ता अनेकन उतारचढाब देख्दै भोग्दै आएको छु । अँझै योभन्दा घत लाग्ने कति अवस्था र प्रसंगका गुँडुल्को छन् मनभित्र । भलै कसैलाई कथा या अझै दन्ते कथा लाग्ला, तर यो मेरो जिन्दगीको मिठो रमाइलो भोगाइ मध्यको एक केस्रो हो जो व्यस्त जिन्दगीको यदा-कदा सुस्ताइमा मलाई बरोबर याद आउँछ र अनायासै हाँसो फुस्किन्छ, अँझै पनि।