लघुकथा : भुताहा घर

~सन्जोग नेपाली~

दुर्गम गाउँबाट आएका बिद्यार्थीहरू त्यो ठूलो घरमा भाडामा बसेका छन् । उनीहरूले बस्न पाउनुमा पनि उनीहरूकै जिल्लाको गुन्डा नेताको ठूलो हात छ ।

‘फेरि बिजुलिको लाइन काटियो ।

टेलिफोन त उहिल्यै काटिएको हो । अब कसरी बस्ने होला ?’

‘भाडा तिरेका छैनौ र?’ अर्को दिद्यार्थी सोध्छ ।

‘तिरिसकेको नि । त्यो भाडा गुन्डा दिद्यार्थी नेताले पच पारे । गुन्डा नेताको राजनैतिक खेवा सुकेकोले यस्तै मसिनो रकमले काम चलाईरहेको छ । ऊ भाडावाल बिद्यार्थीहरूबाट जम्मा भएको रकमले बिजुलि, पानी, टेलिफोन आदिको महशुल केही तिर्दैन ।’ निन्याउरो मुख लगाउँदै अर्को बिद्यार्थी भन्छ ।

‘जे होस् हामी बसेको यो घर ऐतिहासिक हो । यो एक समयको सर्वशक्तिशाली दलको केन्द्रीय कार्यालय थियो । यहाँ प्रधानमन्त्री, मन्त्री, सांसद र दलका कार्यकर्ताहरूको ठूलो चहलपहल हुन्थ्यो । राष्ट्रपति र विदेशी कुटनीतिज्ञहरू पनि यहाँ आउँथे । तर आफ्नो दायित्व पूरा नगरी निहीत स्वार्थमा लिप्त भएपछि प्रधानमन्त्री, मन्त्री भएका नेताहरू भ्रष्टाचार र राष्ट्रघातको मुद्धा हारेर जेल परेका छन् । अरु केही विदेश भागेका छन् । कार्यकर्ताहरूले दल छाडेका छन् । संविधान नबनाउने, शान्ति प्रक्रिया पूरा नगर्ने र मुलुकलाई लुटेर खोक्रो पार्ने एडनानथेराजस्ता नक्कली दलहरू विघटनको अवस्थामा पुगेका छन् र अब ती दलहरू इतिहासको गर्भमा बिलाउने निश्चित छ । ती पाखण्डि र भ्रष्ट दलहरूको कार्यालय भवनहरू खण्डहरमा परिणत हुन लागेका छन् । यीनै थोत्रा घरहरू हामी बिद्यार्थीहरूले सस्तो भाडा तिरेर उपभोग गरिरहेका छौँ । हाम्रो अहोभाग्य।।। ती भ्रष्ट, स्वार्थी, लोभिपापीहरूले बनाएका घरहरू हामीलाई काम लागिरहेका छन् । तर अब केही बर्षपछि मानिसै बस्न नहुने अवस्था भएपछि यी घरहरू ‘भुताहा घर’ हुनेछन् ।’

त्यो बिद्यार्थीको भन्ने तरिका सुरूचिपुर्ण र ब्यङ्गात्मक भएकाले सुन्नेहरू सबै गलल्ल हाँस्छन् ।