रहेनन् साहित्यकार राजनारायण

 

मंसिर ५

दार्जिलिङका नेपालीभाषी साहित्यकार राजनारायण प्रधानको ८० वर्षको उमेरमा बिहीबार दार्जिलिङमा निधन भएको छ ।

संगीतकार मणिकमल क्षेत्रीका अनुसार, बिहीवार दिउँसो कालेबुुङ जान भनी घरबाट निस्किएका उनी गाडी चढ्न लाग्दा अचानक ढलेका थिए । उनको उपचारका क्रममा निधन भएको हो ।

१९९२ साल पुसमा कोलकातामा जन्मिएका प्रधान दार्जिलिङमा बसेर नेपाली भाषा र साहित्यको उत्थानमा सक्रिय थिए । खास गरी उनी नेपाली निबन्ध र कथाका क्षेत्रमा लोकप्रिय थिए । सरल भाषामा साहित्य सिर्जना गर्नु उनको मुख्य खुबी थियो । ‘उहाँका रचनामा नेपाली जनजिब्रोको भाषा बढी प्रयोग भएको पाइन्छ,’ सिलिगुडीका कवि राजा पुनियानीले भने, ‘उहाँ सरल भाषा प्रयोगका अग्रणी हुनुहुन्थ्यो ।’

प्रधानका निबन्ध, कथा, जीवनी, हास्यव्यंग्य गरी करिब ६३ कृति प्रकाशित छन् । उनले विश्वका उत्कृष्ट कथाहरू नेपालीमा अनुवाद गरेका छन् । प्रधान साहित्यसँगै प्राध्यापन पेसामा संलग्न थिए । तेह्रथुमको वीरेन्द्र क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रधानले दार्जिलिङको सेन्ट जोसेफ कलेजमा समेत प्राध्यापन गरेका थिए ।

केही समय उनले दार्जिलिङमा पत्रकारितासमेत गरेका थिए । उनी नेपाली साहित्यका हस्तीहरू इन्द्रबहादुर राई र कुमार प्रधानका समकालीन हुन् ।

स्रोतः कान्तिपुर