रनवीर– दिपिकालाई फिल्मफेयर, ‘बाजिराव मस्तानी’ ९ विधामा उत्कृष्ट

1601201602155661-1000x0

एजेन्सी मुम्बई

माघ २, २०७२- यस वर्षको फिल्मफेयर अवार्डमा रनवीर सिंह उत्कृष्ट अभिनेता र दिपिका पादुकोण उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । रनवीरले ‘बाजिराव मस्तानी’का लागि र दिपिकाले ‘पिकु’का लागि अवार्ड पाएका हुन् ।

संजय लिला भन्सालीले निर्देशन गरेको ‘बाजिराव मस्तानी’ उत्कृष्ट फिल्म घोषित भयो भने यसकै लागि भन्सालीले उत्कृष्ट निर्देशकको फिल्मफेयर पाए ।

बाजिरावले जम्मा ९ विधामा फिल्मफेयर पायो ।

‘दिल धडकने दो’का लागि अनिल कपुरले उत्कृष्ट सहअभिनेताको अवार्ड पाए भने ‘बाजिराव मस्तानी’का लागि प्रियंका चोपडाले सहअभिनेत्रीको । क्रिटिक्स च्वाईसमा ‘पिकु’ उत्कृष्ट फिल्म घोषित भयो भने यसकै लागि अमिताभ बच्चनले उत्कृष्ट अभिनेताको क्रिटिक्स अवार्ड पाए । कंगना रनावतले ‘तनु वेड्स मनु रिर्टन्स’का लागि उत्कृष्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड पाइन् ।

नयाँ निर्देशकमा ‘मसान’का नीरज घेवान, नयाँ अभिनेतामा ‘हिरो’का सुरज पन्चोली र नयाँ अभिनेत्रीमा ‘दम लगा के हैसा’ कि भूमि पेडनेकर उत्कृष्ट घोषित भए ।

मौसमी चटर्जीले लाइफटाइम एचिभमेन्ट अवार्ड पाइन् भने ‘रोय’ को संगीत उत्कृष्ट ठहरियो । अरिजित सिंहले उत्कृष्ट गायक र श्रेय घोसालले उत्कृष्ट गायिकाको फिल्मफेयर पाए । संगीतका लागि दिइने आरडी वर्मन अवार्ड अरमान मल्लिकले पाए ।