मोदनाथ प्रश्रित र उनका गीतहरु

देवीचरण भण्डारी ‘सरोज

देवीचरण भण्डारी ‘सरोज

३४–३५ सालतिर होला म ६–७ कक्षामा पढ्दै गर्दा मोदनाथ प्रश्रितको नाम सुनेको हुँ । अनेरास्ववियु मोरङ्ग जिल्ला कमिटीका दाइहरु हामी पढेको विद्यालयमा आएर हामीलाई अनेरास्ववियुको बारेमा बताउनु हुन्थ्यो । अन्य विद्यार्थी संघ स्रगठनहरुमध्ये अनेरास्ववियु (तत्कालिन एकताको पाचौँ) उत्कृष्ट संगठन हो भनि हामीलाई विद्यार्थी राजनीति र देशको वर्तमान अवस्थाको बारेमा प्रशिक्षण दिने गर्नुहुन्थ्यो । वुर्जुवा साहितय र संस्कृतिको विरुद्धमा सशक्त ढंगले प्रगतिशील साहित्य लेखन मार्फत प्रसिद्धि कमाई सक्नुभएको प्रश्रितको बारेमा त्यसैबेला मैले थोरबहुत सुनेको हुँ, अनेरास्ववियुकै दाइहरुबाट । वुर्जुवा साहित्य, गीत संगीत र संस्कृतिले समाजलाई विगार्ने काम गर्दछ, खास गरी युवापीढीलाई वर्वादीतर्फ धकेल्छ भन्ने कुराको ज्ञान मैले वहाँका सिर्जनाहरु पढ्दै गर्दा थाहा पाएको हुँ ।
हाइस्कूल अध्ययनकै क्रममा प्रश्रितको सिर्जना नारीबन्धन र मुक्ति पढेको थिएँ मैले । नारीबन्धन र मुक्ति एकपटक मात्र हैन ३।३ पटकसम्म पढेको थिएँ । प्रश्रितजीले आफ्नो बहिनीलाई लेखेको चिठ्ठी थियो त्यो सिंगो कृति । आदिम साम्यवाद युग देखि समाजको विकासक्रम हुँदै आएको, ‘हामी’ र ‘हाम्रो’ भावनाबाट ‘म’ र ‘मेरो’ भावनाको विकासभएको, समाजमा धनी र गरीव, मालिक र मजदुर, शोषक र शोषित जस्ता वर्गीय विभेदहरुको उदय भएको, धर्म कर्म भाग्य अनि ईश्वर जस्ता अर्मूतकुराहरुको विकास हुँदै आएको, मातृ सत्तात्मक युगबाट पितृसत्तात्मक युगको सुत्रपात भएको जस्ता विषयवस्तुहरुलाई नारी बन्धन र मुक्तिमा उल्लेख गरिएको छ । धर्मकर्म, भाग्य र ईश्वरको आडमा नारी माथि पुरुषहरुले थिचोमिचो, अन्याय–अत्याचार, शोषण्(ा र दमन गर्ने गरेको, नारीलाई केवल श्रृङ्गार र योग्य वस्तुको रुपमा मात्र हेरिने गरेको र नारीमाथिको तमाम अन्याय अत्याचार, शोषण – दमनबाट मुक्ति पाउन नारीहरुनै संगठित भएर उठ्नुपर्ने कुराहरु नारी बन्धन र मुक्तिमा त्यसैवेला पढेको हुँ मैले । त्यसैगरी गोलघरको सन्देश (कविता), अतितका पाइलाहरु, भूतप्रेतको कथा, देशभक्त लक्ष्मीवाई जस्ता कृतिहरु पनि त्यसताका पढेको हुँ मैले ।
कसले भन्छ छोरीको हारेको जुनी
बल्ल बुझेँ संघर्ष नगरी नहुने अनेरास्ववियु प्रारम्भिक कार्य समितिको आयोजनामा खेलिएका देउसी भैलो कार्यक्रममा यो गीत प्रशस्तै गाएको छु मैले । त्यतिबेला प्रश्रितसँग प्रत्यक्ष भेटघाट नभए पनि उनका रचनाहरु मार्फत उनको विचार र समाज परिवर्तन र समुन्नत नेपालको निर्माण निम्ति उनको दृष्टिकोण भने बुझ्ने अवसर पाएको थिएँ मैले । संयोगबस २०६७।१०।८ २०६७।१०।८ गतेका दिन ‘जुही’ कविता पौडेल विशेषाङ्कको लोकार्पण र कविता पौडेलको सम्मान कार्यक्रममा नेपाल बहुउद्देश्यय सहकारी संस्थाको सभाहल काँकरभिट्टामा प्रश्रितजी सँग साक्षात्कार हुने अवसर मात्र प्राप्त भएन, वहाँले लेख्नुभएको ‘जब चल्छ हुरी’ भन्ने गीत संग्रहबाट
‘काम ठूलो हो काम साथी काम ठूलो हो काम
कामले नै नाम माम दिन्छ नामले हुन्न काम’
भन्ने गीत समेत प्रश्रितजीकै सामुन्नेमा गाउने सुवअवसर समेत प्राप्त गरें मैले । गाइसकेपछि प्रश्रितजीले ‘वाह ’ वाह ’ मेरो भावना व्यक्त गर्नुभयो’ भनि म सँग हाल मिलाउँदै अंकमाल गर्नुभएको थियो । समयक्रमसँगै प्रश्रितजीको विचार र वहाँले रोज्नुभएको राजनैतिक मार्गले मलाई पनि यतैतिर डो¥याउँदै लग्यो । मेरो पनि साहित्य पं्रतिको अभिरुचि र अनुरागले होला, मेरा लेखनियहरुमा पनि प्रगतिशीलताको प्रभाव पर्न थाल्यो । अहिले म प्रश्रितजीको गीत संग्रह ‘जब चल्छ हुरी’ पढिसकेर त्यसैको आधार टेकी उहाँको गीतहरुमा उहाँलाई नियाल्दैछु । उहाँको विचार र दृष्टिकोण गीतमा कसरी अभिव्यक्त भएका छन् त्यसलाई सरसरती केलाउने जमर्को गरीरहेको छु । प्रश्रितज्यूका गीतहरुका बारेमा लेखिरहँदा गीतको सामान्य परिभाषा वा सैद्धान्तिक पक्षलाई समेत चर्चा गर्नु सान्दर्भिक नै हुन आउँछ । वास्तवमा गीत के हो त ? सामान्य अर्थमा भन्दा गीत मानिसको अन्तस्करणबाट निसृत हुने दुःख सुख, आँसु हाँसो, वेदना आदि भावनाले भरिएको लयात्मक पंक्ति हो जसलाई सस्वर गाउन सकिन्छ, र गेयात्मक
हुन्छ । अर्थात् स्वर संगीत र गेयात्मकता यसका अनिवार्य तत्व हुन् भन्न सकिन्छ । गीतका सन्दर्भमा विभिन्न विद्वानहरुले परिभाषा गरेका पाइन्छ । गीतको परिभाषा गर्दै ह्वाइट रिडले भनेका छन् – ‘गीत यो रचना हो जाहाँ सुक्ष्म अनुभूति अभिव्यक्त हुन्छ अथवा यस्ता व्यक्तिगत अनुभूतिका प्रक्रियाहरुको त्यो रुप हो जुन एकान्त आनन्दमा जागृत हुन्छ’ । अर्का विद्वान अनेष्ट राईसले गीतलाई यसरी परिभाषित गरेका छन् – ‘साँचो गीत त्यही हो जाहाँ भाव या भाषात्मक विचारको भाषामा सहजरुपमा प्रष्फुटित होस्, जुन शब्द र लयको समुन्वयद्वारा सुक्ष्म भाव पूर्णतया अभिव्यक्त हुन्छ, जसको पद लालित्य एवम् शब्द माधुर्यद्वारा त्यस्तो संगीतमय ध्वनि निस्कन्छ जसलाई स्वाभाविक अभिव्यक्ति मानिन्छ । यसमा शब्द सरल, कोमल र नादपूर्ण होउन्, गीतको त्यसमा प्रवाह होस्, अनुभूतिको सुन्दर आरोह अवरोह होस्, माधुर्ययुक्त होस्, प्रसादपूर्ण र स्पष्ट होस् ।’ वरिष्ठ संगीतकार अम्बर गुरुङ्ग भन्छन् – ‘संगीत, स्वर र शब्द मिलेर गीत बन्छ । गीत र कविता दिदी बहिनी हुन् ।’ वरिष्ठ संगीतकार गोपाल योञ्जन भन्छन् – ‘जीवनका तीता मीठा अनुभूतिहरुको सरल, गेयात्मक अभिव्यक्ति नै गीत हो ।’ उपरोक्त परिभाषाहरुलाई नियाल्दा गीतका बारेमा प्राय सबै विद्वानहरुको धारणा मिल्दोजुल्दो पाइन्छ । संक्षेपमा भन्दा, मानिसको अन्तरआत्माबाट शब्दहरुको माध्यमबाट अभिव्यक्त हुने गेयात्मक भावानुभूति नै गीत हो । जसमा संरचना, गेयात्मकता, भावुकता, संक्षिप्तता, संगीतात्मकता र भाषा शैली आदि तत्वहरु समाविष्ट रहेका हुन्छन् । गीतका पनि विभिन्न प्रकार हुन सक्छन् परम्परादेखि लोक जनजिव्रोले गाउँदै आएका लोक गीत जसमा परम्परागत लय, संगीत अपेक्षित हुन्छ । कुनै गीतहरु प्रेम र विरहका हुन्छन् भने कुनै गीतहरु स्पष्ट विचार, सिद्धान्त र दृष्टिकोणबाट बाँधिएका हुन्छन् । जुन गीतहरुले समाजलाई चेतना प्रदान गर्दछ । जागरण प्रदान गर्दछ, समाज परिवर्तन र रुपान्तरणका निम्ति प्रभावकारी सन्देश दिएको हुन्छ, हो यस प्रकारका गीतलाई प्रगतिशील गीत, जागृति गीत वा क्रान्तिकारी गीत भनेर भन्न सकिन्छ । प्रश्रितजी मार्कसवादी चिन्तन र दृष्टिकोण बोकेर हिँड्ने व्यक्ति, श्रमजीवि जनताको मुक्ति आन्दोलनमा जीवनको पर्वाह नगरी मृत्यु सँग समेत नडराई निरन्तर संघर्षमा लागीरहने व्यक्ति त्यसैले वहाँका सिर्जनाहरु चाहे महाकाव्य होस्, चाहे गीत कविता वा अन्य साहित्यिक विधा सबैमा सामाजिक सचेतना जागृती र परिवर्तनको पक्षपोषण गरिएको पाइन्छ । त्यतिमात्र होइन प्रश्रित आयुर्वेदका ज्ञाता, भूगोलसँग पनि परिचित, सामाजिक अभियान्ता र दार्शनिक व्यक्तित्व पनि हुन् । प्रश्रितजीको ‘जब चल्छ हुरी’ भित्रका गीतहरुलाई हेरौँ । यो गीतसंंग्रहमा वि.सं. २०१७ साल देखि २०४८ साल सम्मका जागृतिमूलक गीतहरु संग्रहीत रहेका छन् । यसको प्रथम प्रकाशन वि.सं. २०४९ मा र दोस्रो संस्करण २०५८ मा भएको देखिन्छ । यस संग्रह भित्र विभिन्न शिर्षकमा ५४ वटा गीतहरु संग्रहीत छन् । गीतको रचना स्थानलाई र रचनाकाललाई दृष्टिगोचर गर्दा भूमिगत कालमा वाराणसीमा बस्दा, फर्केर हेर साथी (२०१८), कसैले मेरो
(२०१७÷९÷४), अभियान गीत (२०२८), बल्छन् महलहरुमा (२०२९÷७÷१), गरे हुँदैन के याहाँ मिलेर नौजवानले
(२०३१) र एउटै छ कामना (२०३१) जस्ता ६ वटा गीतहरुको रचना गरेको देखिन्छ । बुटवलमा बसेर निम्न ७ गीतहरुको सिर्जना गरेका छन् प्रश्रितले –
तिमी सित लाउँदैनौ माया (२०२४÷८÷६), नेपालका आँसु पुछिए आमा (२०२६), हामीलाई पराउने (२०२४), फुलैमा रातो लालिमा छाउँदैछ (२०२४), ए देशका गरिब हो (२०२५), फूर्तिला नौजवान (२०२४÷७÷२०) र ल हेर है
(२०२५) । भैरहवा जेल भित्र बसेर र बाहिरबाट समेत जम्मा ११ वटा गीतहरुको सिर्जना गरेको देखिन्छ प्रश्रितजीले –
हेरौँ ती गीतहरु –
अझै मेरो अँधेरीमा (२०२३), दाजै नहिँडन आजै (२०२४), बताई देउ (२०२४), हाम्रो बलिष्ट आशा (२०२४), खुङ्खार (२०३७÷८÷८ भैरहवा थाना), विचार फुक्का छ (२०२३७÷८÷१५ भैरहवा थाना), म मरे पनि मेरी प्रिय
(२०३७÷११÷१८ भैरहवा थाना), मलाई तिमी नभन नेता (२०३७÷११÷१९ भैरहवा थाना), संसारमा मलाई सबभन्दा
(२०३७÷८÷२७ भैरहवा थाना), रोकिन्न क्रान्ति (२०३७÷८÷८ भैरहवा थाना) र जीउँदो म सर्वहारा (२०३७÷४÷२७ भैरहवा थाना) मा रचिएका गीतहरु हुन् । नख्खु जेलमा रहँदा २ वटा गीतहरु – नख्खु जेल बगेको देखि
(२०३९÷७÷५) र फुलहरु हो हाँस (२०३९) को तिहारमा लेखिएका गीत हुन् । गोलघर (जेलमा) मा रहँदा ५ वटा गीतहरु लेखिएका रहेछन् ती गीतहरु हुन् – केही काम गर्न सक्तैन मर्न डराउने लाछीले (२०३८÷१÷१), शहीदको रगत (२०३८÷१२÷१), नयाँ जिन्दगीका नयाँ छन् काहानी (२०३८÷१÷२१), बादल र हामी (२०३८÷१÷२४) र संकल्प (२०३८÷१÷२८) ।
खिदिम, हरीबोटमा रहँदा सिर्जना भएका २ वटा गीतहरुमा – जान्न म त मन्दिरमा आमा (२०२५÷६÷२४) र सुनकामी दाई (२०२५÷६÷२७) गीतहरु हुन् । दार्जिलिङ्गमा रहेको बेला लेखिएको एउटा मात्र गीत – लहर भएर बाचौँ (२०३२) हो । भद्रगोल जेलमा बस्दा – कसले भन्छ छोरीको हारेको जुनी (२०२७) लेखिएको गीत हो । रौतहटको गौर जेलबाट – हिमाल माथी खुट्टा राखि (२०४०÷४÷२२) र गण्डकी (२०४३÷१÷६) गीतहरु रचना भएका देखिन्छन् । सिलाङ्बाट ४ वटा गीत सिर्जना भएको पाइन्छ – व्यूँझ हे भारत ! जाग हे नेपाल (२०२८÷३÷१५), नबिर्से है
(२०२८÷३÷१६), कैले मैले देखुँला आमा (२०२९ जेठ) र शहीदको सलामी (२०२९ जेठ) । काठमाण्डौबाट ६ वटा गीत सिर्जना भएको देखिन्छ ती गीतहरु हुन् – जब देशका स्वाभिमानी (२०४४÷१२÷५), सूर्य चन्द्र झैँ माथि
(२०४६÷१२÷२२), यो रातो झण्डा फरर (२०४६÷१२÷२७), बाममोर्चा आयो (२०४६÷१०÷१२), हो यसरी जुटेमा
(२०४६÷१०÷२३) र गौँथली (२०४६÷१२÷७) । पाटनमा बस्दा ‘जब चल्छ हुरी! (२०४४÷१२÷२२) रचना गरिएको देखिन्छ । त्यसैगरी स्वयम्भूमा रहँदा मजदुर नामक गीत (२०५१÷१÷३) र म पनि मान्छे हुँ (२०५०÷८÷२४) रचना गरिएको पाइन्छ । अनि धनकुटाबाट पनि अब फेरी शहीदको सपना हो उठ भन्ने गीत रचिएको देखिन्छ । रचना, स्थान र मिति नखुलेका गीतहरुमा प्यारा ज्ञानी नानिहरु, राष्ट्रिय गीत र क्रान्ति रहेका छन् भने मिति खुलेको तर स्थान नखुलेको एउटा गीत मानव अधिकार गीत २०४८÷८÷२४ रहेको देखिन्छ ।
जब चल्छ कुरी भित्र प्रश्रितका गीतहरु तत्कालीन निरंकुश पञ्चायती कालरात्रीको अवधि विभिन्न कालखण्डहरुमा सिर्जना भएको देखिन्छ । त्यसैले वहाँका गीतहरुले अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनका विरुद्धमा जेहाद छेडेका छन् । गीतका शब्दहरुले क्रान्तिको आगो ओझेलेका छन् । विद्रोहको मसाल वोकेका छन् । र तानाशाही व्यवस्था उछित्तो भाड्न क्रान्तिचेत र युगीन चेतनाले भरिपूर्ण, झर्झराउँदो आगाको लप्को भएर जाइ लागेका छन् । कतिपय गीतहरुमा अन्धविश्वास, रुढीवादी परम्परा र कट्टर पुरातनवादी सोच ग्रस्त विद्यमान् समाजलाई त्यस्ता विकृति र विसंगतीजन्य परिवेशबाट माथि उठी समाज रुपान्तरणको पक्षमा लाग्न जागरण र चेतनाका स्वरहरु मुखरित भएका छन् । समाजमा विद्यमान् थिचोमिचो लैङ्गिक र जातीय विभेदका विरुद्ध आलोक बनेर आएका छन् प्रश्रितका गीतहरु । हेरौँ केही नमूना
अझै मेरो अँधेरीमा भाले वासेन
अझै मेरो हिउँचुलीमा सूर्य हाँसेन
पञ्चायती कालरात्रीलेमा आम जनताहरुले अन्धकारमय जीवन विताउनुपरेको र त्यो अन्धकारलाई नाश गरेर नेपाली जनताले सुख, शान्तिका साथ बस्न नपाएको, चेतनाको उज्यालोले श्रम जीवि जनताहरु आलोकीत हुन नपाएको कुरा यहाँ उजागर भएको देखिन्छ । त्यसैगरी ‘दाजै नहिँडन आजै’ भन्ने दाजुबहिनीको संवाद भएको दोहोरी गीतमा देशको गरिवीका कारण रोजगारको खोजीमा विदेश जाने दाजुलाई विदेश नजान र दाजु बहिनी मिलेर स्वदेशमा नै गरिव दुःखीको पक्षमा लाग्नु पर्छ भनि बहिनीले दाजुलाई अनुरोध गरेकी छिन् यस गीतमा । निरंकुशताका अजेय पर्खालहरु भत्काउन क्रान्ति मार्गमा हिँडेका योद्धाहरुको आशा सडेगलेको थोत्रो लाठी हैन, उनीहरुको बलिष्ठ आशा र विश्वासलाई जतिसुकै प्रयास गरेपनि भाँच्न टुटाउन सक्तैनन् निरंकुशताका हिमायतीहरुले । क्रान्तियोद्धाको छाती अग्राक र आँत स्पात झैँ कडा र मजबुत हुन्छ भन्दै यसरी लेखिएको यो गीतलाई हेरौँ –
हाम्रो बलिष्ठ आशा भाँचेर भाँचिदैन
थोत्रो सडेगलेको यो एक लाठी हैन
अग्राख झैँ छ छाती ईस्पात झैँ छ आँत
भाँचिन्छ आफू आँफै जो भाँच्छ हाल्छ हात
जन्मदै कर्म हारा भएर जन्मन्छन् छोरीहरु । उनीहरु यो समाजमा केही पनि गर्न सक्क्तैनन्, केवल दासी हुन् पुरुषहरुका भन्ने पुरातन सोचले ग्रस्त पितृसत्तात्मक समाजलाई चड्कन हान्दै छोरीहरु पनि छोरा भन्दा कम छैनन् र कम आँक्नो हुँदैन । उनीहरु सँधैभरी हेपिएर, दविएर बस्दैनन् वर्गीय मुक्तिका निम्ति छोरीहरु पनि एकजुट भएर संघर्षमा जुट्नुपर्छ भनी नेपालका तमाम छोरीचेलीहरुलाई झक्झक्याएको छ तलका हरफले ।
‘कसले भन्छ छोरीको हारेको जुनी
बल्ल बुझेँ संघर्ष नगरी नहुने’
नौजवान अर्थात् युवाहरुले गरेमा के हुँदैन यस धर्तीमा, युवाहरु उदाउँदो सूर्य हुन्, विश्व हाँक्ने सारथी हुन् । जाहाँ युवा निदाउँछ अर्थात् केही नगरी निस्काम बस्दछ, त्यस्तो अवस्थामा देश मसानघाट जस्तो बन्दछ । तर जाहाँ युवा जाग्दछ देशले गती पाउँछ र मुस्कुराउँछ देश । प्रश्रितका तल उल्लेखित गीतका हरफहरुले यही कुरालाई प्रतिविम्वित गरेको पाइन्छ ।
उठाउने जुरुक्क काँधमाथि शैल टाकुरा
अनन्त शक्ति युक्त छन् प्रचण्ड वीर पाखुरा
उदाउँदो प्रदीप्त सूर्य हौ तिमी प्रभातक
प्रभुद्ध सारथी युवा तिमी नविन विश्वका

मसान हुन्छ देश त्यो जाहाँ युवा निदाउँछ
मुसुक्क हाँस्छ देश त्यो जाहाँ युवा उदाउँछ
युवा जाहाँ झुक्यो त्यहाँ बुरुक्क देश नै झुक्यो
युवा जाहाँ उठ्यो त भाग्य देशको उठ्यो उठ्या
‘जबचल्छ हुरी’ गीत संग्रहमा बालगीत समेत पस्कनुभएको छ प्रश्रितजीले । दुईवटा बालगीत मध्ये एउटा बालगीतका केही हरफहरु हेरौँ ः

प्यारा भाईबहिनीहरु
हाम्रा ज्ञानी नानिहरु
पुग्नु छ धेरै टाढा–टाढा…….
तिम्रा पाइलाहरुमा टेकी
देश अगाडि बढोस्

तिम्रा कलिला हातहरुमा
नूतन श्रृष्टी फुलोस्

बालबालिका कै पाइला टेकेर देश अगाडी बढोस् र तिनका कलिला हातहरुमा नयाँ श्रृष्टी फुलोस्. भन्ने कामना गरिएको छ प्रस्तुत गीतमा ।
सारमा प्रश्रितजीका जब चल्छ हुरी भित्रका गीतहरु जागृतीमुलक, चेतनामूलक अनि जोश, जाँगर र अदम्य साहसले भरिपूर्ण जोशिला, चोटिला र उत्प्रेरक रहेका छन् । कुनै कुनै गीतका शब्दहरुले भक्भकी रगत उमाल्दछन् शरीरका नशा नशा भित्र । पुरानो सढेगलेको मक्किएको तत्कालिन निरंकुश शासन व्यवस्थालाई ध्वस्त पारेर समतामूलक समाजको निर्माण गर्न कम्प्युनिष्ट विचारले सुसज्जीत हुन पुगेका प्रश्रितका लेखनिमा त्यसको प्रभाव सघनरुपमा छाएकै छ । अन्धविश्वास रुढीवादीपरम्पराबाट समाजलाई मुक्त गरी प्रगतीशिल समाजको स्थापनामा जोड दिएको पाइन्छ उनका गीतहरुमा । धर्म कर्म, जाती पाति, लैङ्गिक विभेद, लाहुरे बनेर विदेशीको गुलामी गर्ने प्रवृत्तिका विरुद्धमा सशक्त भएर लेखिएका छन् प्रश्रितजीका गीतहरु । राष्ट्रिय स्वाधिनता, आत्मसम्मान र गौरवपूर्ण नेपाली इतिहासलाई कला, संस्कृति र गीतसंगीतको माध्यमबाट गीर्दै गएको नेपाली स्वाभिमानलाई उच्च राख्न प्रेरणादायी मार्ग निर्देश बनेका छन् प्रश्रितका गीतहरु । उनी सशक्त रुपमा नेपाली प्रगतिवादी चिन्तक, लेखक र कलाकार पनि हुन् । उनका यस्ता कशिला र झरिला भावनाले भरिपूर्ण यथार्थपरक साहित्यिक कृतिहरु निस्किरहुन्, समाजले यसको यथेष्ट उपयोग गर्न सकोस् र नेपालीको मान सम्मान र स्वाभिमान सगरमाथा झैँ उच्च बन्न सकोस् । बस यही कामनाका साथ प्रश्रितजीलाई बधाई ।