मेसिन

 

सरोज सर्वहारा
सौ फर्साटिकर ३ रुपन्देही
हालः दक्षिण कोरिया

 
बाको मुखको ध्वनि सुनेर
मेरो कानसम्म आईपुग्ने बतास बहँदैन यहाँ,
आमाको काखको जस्तै न्यानोपन लिएर
बिस्तरामै सुम्सुम्याउन पुग्ने घाम पनि आउँदैन,
प्रियाको आकृती चोरेर
मेरै कोठाको झ्यालबाट
मलाई नै जिस्काउन आउने जूनले पनि जिस्क्याउँदैन
यो मेसिनको शहरमा
यहाँ ममता छर्केर हाँस्दैनन् बेलि चमेलि र मख्खलीहरु
गाउँदैनन् चराहरुले शान्तिको गीत
यहाँ त मेसिनको कर्कस आवाजसँगै
ब्युझन्छन् मानिसहरु

 

दिनभर मेसिनसँग मेसिन बराबर गतिमा चल्छन्
वर्षमासमा रसाएको पहाड जसरी
शरीर रसाएर निस्केको झर्नाले
आफै नुहाउँदा समेत
सितलता हम्किँदैनन् यी चौतारीहरु

 

मान्छेले बनाएका मेसिन
अनि मेसिनले बनाएका मान्छेरुपी मेसिनसँग लड्दा लड्दै
साँझमा आफू जिउँदो छु भनेर पत्ता लगाउन केही समय लाग्नेछ

 

यो मेसिनको शहर हो साथी
यहाँ मान्छेले मेसिन चलाउँदैनन्
मेसिनले मान्छे चलाउँछ ।

मैले पनि
कतिबेला बिहान भयो र कतिबेला रात पर्यो
नदेखेको पनि वर्षौ भएछ ।

 

यो मेसिनको शहरमा
मेसिनसँग खेल्दाखेल्दै
खै कतिबेला म पनि मेसिन भएछु ।