माघे संक्रान्ति गोरु जुधाएर देश भरि मनाइने

पुस ३०,२०७२ माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिएको भन्ने चलन छ । यस संक्रान्तिमा विषेश गरी घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो आदि खाने र गोरु जुधाउने प्रचलन रहेको छ । विगतका वर्षहरुमा जस्तै भोली माघे संक्रान्ति गोरु जुधाएर देश भरि मनाइने भएको छ ।

यो भिन्न र निकै महत्वपूर्ण संस्कृति हो । किसानहरूले आफ्नै क्षमतामा धानिरहेको परम्परा बचाउन चौतर्फी पहल र चासोको हुनुपर्ने किसानहरु बताउँछन् । माघे संक्रान्तिको अवसरमा भोलि नुवाकोटको वेत्रावति र तारुकामा पनि गोरु जुधाइने भएको छ । वेत्रावति र तारुकामा गरी २४ हल गोरु जुघाइने मेला आयोजक समितिले बताएको छ । वेत्रावतिमा पाँच हल र तारुकामा १९ हल गरी २४ हल गोरु जुधाइने भएको हो ।


गत वर्ष राजनीतिक विवादका कारण दुई स्थानमा जुधाइएको गोरु यस वर्ष तारुकामा एकै स्थानमा जुधाउने तयारी भएको हो । विगत केही वर्षदेखि नुवाकोट, धादिङ, रसुवा, काठमाडौँलगायतका जिल्लाबाट दर्शकहरूको उपस्थिति बढ्न थालेपछि यहाँ जात्रा व्यवस्थापनको लागि आयोजकले धेरै स्वयंसेवकसमेत खटाउन थालेको छ ।

धादिङको विभिन्न गाविसहरुमा पनि गोरु जुधाएर माघे संक्रान्ति मनाइने धादिङ सल्यानटारका सुरेश उप्रेतीले बताए । उनी भन्छन्, “माघे सङ्क्रान्तिमा आफूले पालेको साँढेले जित्ता आफ्नो पहिचान बढ्ने आषमा गाउँलेहरू आफू थोरै खाएर भएपनि गोरुलाई मास तथा अन्न खुवाई पाल्छन् ।”यस्तो अमुल्य संस्कृतिको जगेर्ना गर्न सरकारी तवरबाट पनि प्रयास हुनुपर्ने विज्ञहरु बताउँछन् ।