बुख्याँचा मन :जातिय चेतनाको प्रस्तुती

 

समाज परिवर्तन तर्फ विस्तारै उन्मुख हुँदैछ । समाजमा रहेका कतिपय कुरीतिको भने अझै अन्त्य हुन सकेको छैन । यस विषयलाई गहन रुपमा उठान गरेको छ नाटक ‘बुख्याँचा मन’ले । राज शाहको लेखन तथा निर्देशनमा रहेको उक्त नाटक हेर्न सर्वनाम थिएटरमा दैनिक जसो दर्शकको भिड लाग्ने गरेको छ ।

नाटक हेरेपछि आँखा नरसाउने दर्शक सायदै होलान् । आइतबार बुख्याचा मन हेर्न आएका अनुप बराल, निर्देशक विकास आचार्य, निर्देशक दिपाश्री निरौला लगायत सबैले नाटकको हेरेर निष्किएपछि नाटक मन परेको कुरा बताए  ।

‘पानी नचल्ने समाजमा तैंले मया चलाउन खोजिस् ।’ नाटक ‘बुख्याँचा मन’को यो एक संवादमा पूरै कथा लुकेको छ । नाटकमा अन्र्तजातीय विवाहलाई समाजले अस्विकार गरेको देखाइएको छ ।

आधुनिक समाजमा देखिएका विविध घटनामध्येको अन्तरजातीय प्रेम र विवाहलाई टपक्कै टिपेर ल्याएका छन् लेखक तथा निर्देशक राज शाहले । मौलिक भाषिकाको प्रयोग गरेर कथालाई आकर्षक ढंगले मञ्चमा उतार्नु शाहको खुबी हो । यो नै यस नाट्यसमूहको सफल पक्ष पनि हो ।


शुरूमा नाटक हेर्दा एकछिन दर्शक अलमलमा पर्न सक्छन् । अन्त्यसम्ममा शीर्षकको अर्थ बुझ्न कठिन पर्छ । मुख्य पात्र धने र वीरकाजीको मित्रताबाट शुरू भएको कथाक्रम प्रेम र मित्रतासँगै अगाडि बढिरहेको हुन्छ । तर उनीहरूको मिलनसार जोडी सधैं एकनासको रहन्न । एउटा द्वन्द्वले नाटकलाई अल्झाइरहेको छ भने समाज बिग्रनुको कारण समाज नै हो भन्ने तीतो यथार्थलाई लेखकले नाटकमा स्पष्ट रूपमा देखाएका छन ।

फाल्गुण २० देखि शुरु भएको यो नाटक चैत्र १२ गतेसम्म बिहिबार बाहेक मन्चन हुन्छ ।