फिल्म लिएर आउँदै नवीन गुरुङ

 

स्रोत ः कान्तिपुर दैनिक ।

कार्तिक १९, २०७३- लाहुरे भन्नेबित्तिकै आममानिसको मनमस्तिष्कमा सम्पन्न, सुखी र वैभवले भरिपूर्ण मानिसको चित्र आउने गर्छ । लाहुरेको जीवनमा कुनै दु:ख, कष्ट र अभाव हुँदैन भन्ने समाजमा स्थापित मान्यता छ । तर तिनै लाहुरे जब भूपू बन्छन् अर्थात् जागिरबाट रिटायर्ड हुन्छन् अनि उनीहरूको जीवन समाजको मान्यतासँग मिल्छ कि मिल्दैन ?

यस्तै कथावस्तुमा आधारित रहेर गायक गुरुङ सोल्टी अर्थात् नवीन गुरुङले फिल्म बनाएका छन्– ‘भूपू लाहुरे’ । लाहुरेको वैभवशाली जीवनका पछाडिका अँध्यारा पक्षलाई समाजमा ल्याउन खोजेको उनले पत्रकार भेटघाटमा बताए । लेखन निर्देशन आफैंले गरेका गुरुङले ३५ लाखको लागतमा फिल्म तयार भएको सुनाए ।

एक घण्टा ५० मिनेटको फिल्ममा प्रेम सुब्बा, योगिता गुरुङ, रोमियन लिम्बू, सिद्धार्थ श्रेष्ठको अभिनय देख्न पाइन्छ । पूर्वका विभिन्न स्थानमा फिल्मांकन गरिएको फिल्मका निर्मातामा कालसिंह राई र शमशेर गुरुङ छन् ।

‘लाहुरेको वैभवशाली जीवनका पछाडिको दारुण अवस्था हेरेर दर्शकहरू एक पटक यस्तो पनि हुँदो रैछ है भनेर सोच्न बाध्य बने भने मेरो फिल्म सफल भएको प्रमाण हो,’ नवीनले भने । 
उक्त फिल्ममा तीन गीत छन् । शब्द र संगीत नवीनकै हुन् । गीतहरूमा राजेशपायल राई, मेलिना राई, सुनिता थेगिम सुब्बा र विक्रम राईको स्वर सुन्न सकिन्छ । दिव्य सुवेदीको छायांकन रहेको फिल्मको सम्पादन अनन्त थपलियाले गरेका हुन् ।

फिल्म हङकङ, बेलायत र अमेरिकामा विशेष प्रदर्शनपछि पुसमा तमु लोसारको अवसरमा धरान र पोखरामा देखाइने नवीनले जानकारी दिए । पुसको अन्तिम सातामा मुलुकभरिका हलहरूमा लाग्नेछ ।