पूर्ण सौन्दर्य शोभा

बदी प्रसाद दाहाल

अग्ली – सग्ली , हिमशिखरकी , पूर्ण सौन्दर्य रेखा ।
आँखा लामा , झिमझिम गरी , पोख्छ सौन्दर्य लेखा ।।
गाला हाँस्छन् , रङ-रस भरी , फुल्न थाले गुराँस ।
खेल्छन् पौडी , रसिक -मनमा , उल्किँदै राज-हाँस ।।
ताजा ताता , अधर – तल ता , गोलकाक्री समान ।
मस्केकी छिन् , शरद – ऋतुकी , चन्द्रमाकी गुमान ।।
केशै लामा , गजमज न भै , हल्लिने यत्र तत्र ।
पङ्खा बन्दै , मधु – पवनमा , रङ्ग छर्छन् विचित्र ।।
रङ्गी बाला , छिनछिन गरी , गीतका धून बन्दा ।
वेदान्ती कै मन – मगजनै , पर्न सक्ने छ फन्दा ।।
कस्तो मोही रु वचन उनको , कोइलीकै गला छ ।
सिङ्गै शोभा , शशि -वदनकी , स्निग्ध मुस्कानमा छ ।।
रङ्गी उन्का , पहिरन सफा , चम्किला कण्ठहार ।
झुम्का नाच्छन् , श्रवण -दुइमा , दाडिमे दन्तहार ।।
सिङ्गै उन्को , तन सुमन झैँ , नम्र -हल्का सुशोभा ।
मानौँ लाग्छिन् , प्रकृति – तनया , पूर्ण सौन्दर्य – शोभा ।।