देउडा गीत र देउडा भाषिकाको एक इतिहास

 

 

गणेश कञ्चन थापा
कालिकास्थान,अछाम
हाल विरेन्द्रनगर,सुर्खेत
देउडा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाईने प्रचलित गीत हो । यसलाई देउडा भाषीका, देउडा गीत, लोक देउडा आदी नामले चिन्ने गरिएको पाइन्छ ।
देउडा भाषीका खासगरी शुदूरपश्चिमाञ्चलका ग्रामिण जिल्लाहरु बैतडी,अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा लगाएतका जिल्लाहरुमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालिकोट, जुम्ला,हुम्ला,मुगु,डोल्पा,दैलेख, र जाजरकोट जिल्लाहरुमा मुख्यरूपमा रुसपमा रहेको छ । देउडा गीत पश्चिमेली भाषामा गाईने गरीएको छ ।

देउडा गीतको सुरुवात खस भाषिकाको सभ्यतासँगै सुरु भएको अनुमान छ । कतिपय ठाउँमा पहिलेका दिन र अझै अहिलेका दिनहरूमा देउडा गीत गाउन देउडा भाषिका बोल्न लाज मान्ने चलन पनि प्रचलित रुपमा भेटिन्छ ।
त्यो अवस्थामा देउडा गीतको गीतबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) वीच सवाल जवाफ चल्ने गर्छ । यती मात्र होइन देउडा गीतबाट नै कतिपयका घरबार बसेका अर्थात् देउडा गीत गाउन जाँदा गाउने र सवाल जवाफ गर्ने ठाउमा केटा र केटीको एक आपसमा माया प्रेम चलेर बिवाह भएको कुरा पनि बुढापाकाबाट सुन्नमा आउँछन् ।

देउडा गीत एक प्रकारको भाषीका हो । यसलाई आफ्नो आफ्नो लयमा पनि ढालेर गाउन सकिन्छ । प्राय देउडा गीतहरू खस भाषीकामा आधारीत भएर गाइएका हुन्छन् । खास गरेर खस भाषीको उद्गम स्थल जुम्ला जिल्लाको सिंजालाई मानिए पनि अहिले मध्य तथा शुदूरपश्चिमका बिभिन्न जिल्लामा वसोवास गर्ने मानिसहरुले आफ्नो आफ्नो जिल्लाबाट उत्पति भएको हो भनेर दाबि गरिरहेका छन् ।

पश्चिम नेपालका अधिकांश जिल्ला तथा ठाउहरुहरु बैतडी ,डोटी, दैलेख, दुल्लु, जाजरकोट,सिजा,सिमिकोट लगाएतका थु्ररै ठाउँहरुमा देउडा भाषिकाकोे प्रयोग भएको पाइन्छ । देउडा गीत पनि यीनै ठाउँ र जिल्लाहरुबाट प्रचलित भएको थियो । अहिले पनि मध्य तथा शुदूरपश्चिमाञ्चल अन्तर्गत पर्ने विभिन्न जिल्ला तथा गाउठाउहरूमा यो देउडा गीत अझै लोकप्रिय बन्दै गएको छ ।

देउडा गीत र देउडा भाषिकाको हिसाबले धेरै प्रकारको हुन्छ देउडा । यसमा गायकहरूले विभिन्न ताल र लयको प्रयोग गरेर गाएको पाईन्छ । कुनै तालमा बसेर गाइन्छ भने कुनैमा नाच्ने गरिन्छ । देउडा गीतका ताल र प्रकार यस्ता रहेका छन् ।
ठाडी भाका
ठाडीभाका लामो स्वर गरेर दुई वा एक जनाले गाईन्छ तर प्राय जसो एक वयक्तिले गाउने गरिन्छ । यो ग्रामिण क्षेत्रका भिर, पाखा, गोठालो,घास दाउरा काट्न जाँदा सबैभन्दा बढी गाईने हुनाले यसलाई गोठाले गीत पनि भनिन्छ । यसमा गायकले शान्त र एकान्त ठाउँमा बसेर आफ्ना मनका पीर व्यथा हाँसो खुसिहरुलाई गीत मार्फत गाउँने गर्छन् । ठाडी दैलेख जिल्लाका दुल्लु क्षेत्रमो ठाडी भाका निकै प्रचलित छ त्यस ठाउमा गाउने यो भाकालाई पनि दुलाल भाका पनि भन्ने गरिन्छ । यसमा गायक एकल यूगल हुन्छन् कहिलेकाहीँ दुई जना मिलेर पनि गाएको भेटिन्छ ।

हुड्के नाच

हुड्क्यौली अथवा हुड्के नाच हुड्काको तालसँग गाउदै नाच्ने पनि गरिन्छ । हुड्क्यौली अथवा हुड्के नाचमा पुराना कथा काहानिहरू समावेश गरेर गाएको पाईन्छ । यो सामूहीकरूप सबै जना मिलेर गाउने नाच्ने गरिन्छ । यसमा गायकहरू २ समूहमा बाँडीएका हुन्छन् । एक समूहमा नाँच्ने हुन्छन् नाच्नेहरु लाई हुड्के भन्ने गरिन्छ । अर्को समूहमा संगसंगै बजाउने र गाउनेहरु हुन्छन् ।
यो खास गरी बैतडी र दार्चुला कालिकोट जिल्लाका साथै दैलेखको पश्चिम क्षेत्र अछामको पश्चिम भुभागमा विवाह गर्दा वा कुनै उत्सवहरूमा बढि गाउने र नाच्ने गरिएको पाईनछ । यो नाच भारतको उत्तराखंडका केहि ठाउहरुमा पनि प्रयोग भएको पाइन्छ ।
धमारी
देउडा समूह अंतर्गत पर्ने एक अर्को प्रकारको भाका हो । यसमा गोलो घेरा बनाएर एकै तालमा हात खुट्टा बटार्दै दुई समूहमा गाउने गर्दछन देउडा खेल खेल्दा जसरी खेलिन्छ र गाईन्छ त्यसरी नै यो खेलिन्छ । धमारी खास गरी न्वारन र देवताको पूजा स्थानमा प्रयोग भएको पाइन्छ । यसलाई मुख्य रूपले बैतडी दैलेख, कालिकोट, डोटी र अछाममा प्रयोग भएको पाइन्छ । खास गरेर मेला महोत्सव र पूजा पाठका बेला धमारी खेल्ने प्रचलन छ ।
देउडा खेल
देउडा बाट नै देउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा पनि खेल खेल्ने मान्छेहरु गोलो घेरा बनाई पैतलिका साथ दुई समूहमा गितै गितमा सवाल जवाफ हुन्छ । यसमा प्राय एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् ।
यूवायूवा बिच र यूवतीयूवती बिच यूवा र यूवति विच पनि यो सवाल जवाफको खेल हुन्छ । यो देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । गोलाकार शैलिमा समुहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाईने र खेलिने खेल देउडा हो ।

बैतडी तथासुदूर पश्चिममा चाड पर्वको बेला खेलिन्छ । बालक देखि वृद्ध वृद्धा सम्म देउडा खेल्न ब्यस्त देखिन्छन् । यो सुर्खेत जिल्लाको सरमुकाम विरेन्द्रनरको खुला मञ्चमा प्रत्यक महिनाको १ गते र १५ गते खेलिन्छ । शुदूरपश्चिको महान पर्व गौरा पर्वमा देउडा खेल धेरै खेल्ने गरिन्छ ।
केही देउडा गीतहरू
डोटी राम्रा डँडेल्धुरा अछाम राम्रा साँफे,
मलाई पनि उडाई लैजा हिउँचुलीका डाँफे ।
दुल्लुदेई दैलेख सम्म जाँथी हान्यो खम्म,
खाँक फाल तिर्सना झाल घाम लागन्ती सम्म ।
म पारी गैजाने थिएँ नित्र गंगा नित्र,
मै जसो दुस्खारी क्वै नाई चौध अञ्चल भित्र ।
भैसाथी जाँदैन भन्दो बामनको बर्म,
दुस्ख पाउनु प्रदेशै धाउनु के बिग्री होई कम ।
जैगाड बस्याको भोट्या पानी काँ खाँदो हो,
हाड मांस माटीका भर हंस काँ जाँदो हो ।
यसरी मध्य तथा सुदुर पश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका अहिले लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । बढदो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीतलाई ओझेल पार्दैछ ।

पहिले बनपाखाहरुमा गुञ्जने ठाडी न्याउले भाकाहरु आज भोलि हराउँदै गएका छन् । आज भोलि पप,हिन्द लगायत अन्य थुप्रै गीत संगीतमा पछिल्लो पुस्ता रमाउदै गएको छ । रातिको समयमा लाग्ने मेलामा खेलिने न्याउली खेलहरुको संख्या ह्वात्तै घटेको पाईन्छ । विभिन्न गीत संगीतकालागि क्लब, संघसंस्था खुले ता पनि ठाडी भाका, न्याउले खेल लगायतका देउडा संस्कृतिलाई जगेर्नन गर्ने तथा यसलाई बिकास गर्दै सांस्कृतिक पर्यटनको रुपमा विकास गर्न तपाई हामि सबै एक जुटका साथ लागेर आफ्नो संस्कृति लाई बचाउन आवश्यक देखिन्छ ।
गणेश कञ्चन थापा
कालिकास्थान,अछाम
हाल विरेन्द्रनगर,सुर्खेत