ज्ञवालीको “हिँडी रहूँ हिँडी रहूँ”यात्राकाव्य सार्वजनिक

चाहेकै खोज्छ मान्छेले पाइयोस् कि नपाइयोस्
स्रष्टाले गीत लेख्ने हो, गाइयोस् कि नगाइयोस्

स्रष्टाखबर समाचारदाता


काठमाडौं । वर्तमान नेपाली साहित्यका एक युग सचेत र विलक्षण उर्जाशाली सृजनशील प्रतिभा कवि रामप्रसाद ज्ञवालीको नवीनतम यात्राकाव्य“हिँडी रहूँ हिँडी रहूँ” सार्वजनिक भएको छ ।

नेपाली यात्राकाव्य परम्परामा ज्ञवालीको “हिँडी रहूँ हिँडी रहूँ”यात्राकाव्य अहिले सम्मकै सर्वोतकृष्ट कृति भएको समिक्षकहरु बताउँछन् । भानु प्रतिष्ठानको आयोजनामा राजधानीमा सम्पन्न यस पुस्तक सार्वजनिकीकरण समारोहमा लेखक तथा साहित्यकारहरुको भिडनै लागेको थियो ।

कवि ज्ञवाली सारस्वत कवि भएकाले यस यात्राकाव्यमा उहाँको कवित्व अथ देखि इतिसम्म भुल्भुलाएर प्रवाहित भएको कुरा साहित्यकारहरु बताउँछन् । डा.निर्मोही व्यास उल्लेख गर्छन् ,“सरल, सहयोगी, कठोर परिश्रमी, निश्छल र निर्मल स्वभावका उहाँले आफ्नो कञ्चन र काञ्चन प्रतिभालाई साहित्यका अनेक भँगालाहरुमा प्रवाहित गर्नु भएको छ ।”

तीन दर्जनभन्दा बढी कृतिहरु प्रकाशित गरिसकेका साहित्यकार ज्ञवालीकोे यस यात्राकाव्य “हिँडी रहूँ हिँडी रहूँ”मा अनुभूतिको आवेग, संवेदनाको संवेग, भाषाको लालित्यले नयाँ मिठास दिएको छ ।

मैले खोज्नु छ वाग सुन्दर नयाँ फल्छन् जहाँ मित्रता
मैले रोज्नु छ राग,गीत, मधुरा मासी सबै क्रूरता
ईष्र्या तोड्नु छ जाति जातिबिचको गाँस्दै नयाँ एकता
मान्छे जोड्नु छ प्रेम, मान, रसले यात्रा छ मेरो त्यता ।

प्रकाशक सृजनशील साहित्य लेखन मञ्चका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि टीका गुरुङ भन्नु हुन्छ, “डा. रामप्रसाद ज्ञवाली, श्री ऋषभदेव घिमिरे अनि उहाँका टोलीले आफ्नो साहित्यिक भ्रमणमा हामीलाई केवल दर्शक र प्रशंसक मात्र होइन प्रकाशकको दायित्व सुम्पिएर सह–यात्री पनि बनाउनु भयो । ”गरुङ्ले यस नवीनतम यात्राकाव्यले नेपाली साहित्य जगतमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

a

कार्यक्रमका सभापति व्रतराज आचार्यले आदिकवि भानुभक्तलाई जीवन्त तुल्याउन अझै सहयोग गरेको यस कृतिमा ज्ञवालीको कवित्व अग्लिएको बताउनु भयो । यो यात्राकाव्य आदिकवि भानुभक्तको द्विशताब्दी जयन्तीको अवसरमा भानु प्रतिष्ठानका सदस्यहरु एवं आदिकविका खनाति डा.व्रतराज आचार्यको अगुवाइमा पूर्व भारतको साहित्यिक भ्रमणका बेला ज्ञवालीले लेख्नु भएको हो ।