जीवन र जगतलाई हेर्ने र फेर्ने भौतिकबादी दृष्टिकोण


धर्मको नाममा फैलाइएका अन्धविश्वासलाई त्याग्न सकेको खण्डमा मात्र देशको विकास हुनसक्छ भन्ने धारणा भएका टङ्क पराजुली (अन्तरे) माता नर्मदा खनाल (पराजुली) र पिता लीलाबल्लभ पराजुलीका सुपुत्र हुन् । वि.सं.२०१७ साल जेठ २९ गते इलाम मङ्गलबारे,क्याबुङमा जन्म लीएका उनले आफ्नो पुस्तक “पर्दा उघार्दा” भित्र जीवन र जगतलाई हेर्ने र फेर्ने भौतिकबादी दृष्टिकोण प्रस्तुत गरेका छन् । उनै अन्तरेसँग स्रष्टाखबरका लागि अमृता अर्यालले गरेको भलाकुसारीको संपादित अंश ः

(१) “पर्दा उघार्दा” पुस्तक लेख्नुपर्छ भन्ने मानसिकता कसरी आयो ?
पर्दा उघार्दा पुस्तक मेरो पहिलो कृति हो । आजभन्दा धेरैवर्ष अगाडीदेखि नै मैले ईश्वरीय दर्शन, चिन्तन भनेको के हो भनेर खोजि गरेको थिए । यसरी खोजी गर्दा विषेश त धर्म काल्पनिकतामा आधारित र विश्वासमा टिकेको पाए । वास्तविक कुरा नदेखिने र लुकेको कुरा पाठक समक्ष ल्याउनुपर्छ भनेर नै यो पुस्तक लेखेको हुँ । यस पुस्तकमा मैले विशेष गरी धार्मिक, साँस्कृतिक चालचलन आदि भित्रका कुरालाई देखाएको छु । यो मेरो धेरै वर्ष अगाडिदेखिको इच्छा पनि हो ।

(२) धार्मिक दर्शन के हो ?
ईश्वर केन्द्रित भएर मन्दिर, मुर्ति अर्थात ईश्वरको आधारमा गरिने धार्मिक क्रियाकलापलाई निर्देश गर्ने दर्शनलाई धार्मिक दर्शन भनिन्छ । धार्मिक दर्शन सवैले बुझ्न आवश्यक छ ।

(३) एउटा पाठकले “पर्दा उघार्दा” किन पढ्न आवश्यक छ ?
मानिस एउटा भौतिक प्राणी हो त्यसैले पनि यो ब्रह्माण्डको विषयमा बुझ्न जरुरी हुन्छ । यस पुस्तक भित्र मैले ब्रह्माण्डको शृष्टि कसरी भयो ? र त्यसलाई हेर्ने दर्शनको कुरा छ । एकाथरी मानिसहरु ईश्वर परमात्माले शृष्टि गरे भन्छन् भने अर्का थरी मानिसले भौतिक प्रक्रियाबाट शृष्टि भयो भन्दछन् । सिंगो पृथ्वि, मानव जातीको उत्पति र विकास आदि विषय वस्तुहरु र धार्मिक जीवन भित्र भएका विभिन्न कुराहरुलाई पुञ्नको लागि यर्थाथवादी र वस्तुवादी तरिकाले बुझ्नको लागि यो पुस्तक पढ्न आवश्यक छ ।

(४) “पर्दा उर्घादा” के भेट्नु भयो ?
पर्दा उघार्दा धर्मका नाममा अन्धविश्वास, रुढीवाद र आस्थाका नाममा रहेका परम्परावादी कुसंस्कार भेटें । रितिको नाममा कुरिति, चलनको नाममा कुचलन, प्रथाका नाममा कुप्रथा,आदि कुराहरु भेटेकाले यसलाई छर्लङ्ग पार्न आवश्यक ठाने । पर्दा उर्घाने क्रममा नेपाली समाजमा भएका थुप्रै कुराहरु भेटिए ।

(५) धर्म के हो ? भगवान छन्? छैनन् ?
म मन्दिर नगएको लगभग ३५ वर्ष भयो । म ईश्वरिय नाममा पुजा, भजन कृतन गर्दिन । तर हिन्दु संस्कार भएकाले केहिकेहि सामान्य कर्महरु भने गर्छु । भौतिकबादी तथा यथार्थबादी दर्शनमा विश्वास गर्ने भएकाले धर्ममा आस्था छैन । धर्म अध्यातमबादी दर्शन मान्नेहरुले मन्दिर बनाउनु भजन कृतन गर्नु आदिलाई मान्दछन् भने भौतिकबादीहरुले यसलाई मानदैनन् । वास्तवमा पानीले भिजाउनु, वगेको खोलाले वगाउनु, आगाले जलाउनु, मानिसले मानवीयता प्रकट गर्नु, कागति अमिलो र नुन नुनिलो हुनु जस्ता कुराहरु ऊ भित्रका स्वधर्म हुन् ।
हिन्दु, मुस्लिम, वौद्ध, क्रिश्चियन आदि धर्म नभएर धर्मको नाममा खडा गरिएका संगठन संस्था मात्र हुन् । अर्को कुरा के भने एउटा साहित्यकारमा पनि स्वधर्म भएन भने राम्रोसँग लेख्न नसक्ने हुँदा साहित्यकारलाई मानवीय धर्मको आवश्यकता पर्दछ ।

(६) “पर्दा उघार्दा” पुस्तक मार्फत भन्न खोज्नु भएको मुख्य कुरा के हो ?
मैले यस पुस्तक मार्फत जीवन र जगतलाई हेर्ने र बुझ्ने दृष्टिकोण एवं धर्मका नाममा गरिएका पाप, स्वर्ग, नर्क, मुक्ति,आदि कुराहरुलाई निरुत्साहित गर्न र ती विषयहरु यथार्थ हैन भन्न खोजेको छु ।

(७) आगामी योजना के छ ?
हिन्दु समाजमा धार्मिक, राजनैतिक, आर्थिक एवं सामाजिक लगायतका विभिन्न कारणले गर्दा महिलाहरुलाई पिडित बनाइएको छ । शहरका केहि महिलाहरुले समान हक अधिकार पाएपनि गाउँमा महिला हक, अधिकार र समानताको स्वर गुञ्जिन सकेको छैन । महिलाप्रति संवेदनशिल हुन आवश्यक भएकाले महिलाको विषयमा पुस्तक लेखने विचारमा छु ।

(८) अन्त्यमा भन्नै पर्ने कुरा केहि छ कि ?
अबको युवा पुस्ताले मन्दिर, भजन, कृतन र अन्धविश्वासलाई बोकेर जीवन सार्थक हुँदैन । भौतिक यथार्थमा टिकेर संघर्ष गर्न सक्नुपर्छ ।

अन्ततः स्रष्टाखबरलाई धनयवाद ! यस अनलाईन पत्रिकाले स्रष्टाहरुलाई उजागर गर्ने, प्रोत्साहन गर्ने गरेको मैले पाएको छु । यस यो एउटा डिजिटल लाईवेरिको रुपमा प्रगति गर्दै जाओस् । यसले स्रष्टाहरुले सिर्जना गरेका राम्रा सिर्जनाहरुलाई स्थान दिँदै बजारमा लैजान प्रोत्साहन गरोस् । यसो गर्न सकेको खण्डमा स्रष्टाखबरले उद्देश्य पूर्ति गर्न सक्छ जस्तो लाग्छ ।