जगदीश घिमिरे: फूलजस्ता नरम र बज्रभन्दा कठोर

PeshalAcharya

‘कसैको जीवनको टुङ्गो छैन तर मेरो जीवनको टुङ्गो छ । औसत दुई चार वर्ष हो –आगे उपरवालाको मर्जी । भविष्य चिन्ता व्यर्थ हो – आफ्नो नियन्त्रणमा छैन, सोच्नै नपाई आइसक्छ, मेरोजस्तो रोग । अनि चिन्ताले केही थेगिने पनि होइन । चिन्ता जानेलाई होइन नजानेलाई हुन्छ । मेरो जाने टिकट र भ्रमण आदेश आइसकेपछि अब केको चिन्ता ? सबैको जन्मँदै दुईतर्फी टिकट बनेको हुन्छ । फर्कने मितिमात्रै गोप्य हुने हो ।’ (‘अन्तर्मनको यात्रा’, शीर्षक अस्पतालमा स्वजन, पहिलो संस्करण, २०६४, पृष्ठ १६७)

माथिको यो शाश्वत भनाइ प्रख्यात साहित्यकार जगदीश घिमिरेको मदन पुरस्कार प्राप्त कृति अन्तर्मनको यात्राबाट लिई संस्मरण सुरू संस्मरणको आरम्भ गरेको छु । यो संसारमा कोही पनि अजरामर भएर आएको छैन । शूरमुनिदेखि भुसुनासम्म सबैले योनिजा भएर जन्मनु अनि आफ्नो नाश्वर चोलालाई अनन्त चैतन्यमा समाहित गर्नै पर्दछ । कोही पनि चिरन्तन जीवित र अनाश्वर हुँदैनन् । जीवित प्राणीमात्र होइनन् चराचर जगत्का सबै भौतिक र जीव नभएका वस्तुको पनि निश्चित आयु हुन्छ ।

जीवन सरल रेखा हो जसको आरम्भ भएपछि अन्त्य हुन्छ । त्यसैले औषधी विज्ञानमा प्रत्येक औषधीको निर्माण गर्दा मेनुफ्याक्चर डेट र एक्सपायर डेट राखिएको हुन्छ । सायद् मानिसको एक्सपायर डेट भनेकै मृत्यु हो । मृत्यु क्रूर सत्य हो । जसले समयक्रममा प्राणीलाई आफ्नो सुरसारूपि मुखमा लीन गराउँदछ । शास्त्रहरूले यसबारे पक्ष विपक्षमा मीमांशा औ बहस गर्न सक्छन् । गरेका छन् ।

मानिस एक मरणशील प्राणी हो । ऊ संसारकै विकसित प्राणी भएकाले आफ्नो जन्ममा सँगालेका अनुभूतिहरू र अनेकादि सीप, चेतना र शिक्षाका कारण सभ्य कहलाएको छ । भन्न त विद्वान्हरूले मानिसभित्र मनुष्यत्व र पशुत्व दुवै थोकको सम्मिलन भएको छ भन्छन् ।

जीवन कापीमा खिचिएको सरल रेखा हो जसको आदि भएपछि समापन हुन्छ नै । सुरूआतको विन्दु जन्म हो भने अन्त्यको विन्दु मृत्यु । तर आम र सामान्य मानिस जन्महुँदा बधाइ दिन्छन् भने मृत्युमा शोकाञ्जली व्यक्त गर्छन् । चलन नै चलिसकेको यो परम्परालाई सायदै कसैले उलङ्घन गर्न सक्ला ?

अहिले यतिखेर यो संस्मरणको विषय केन्द्रमा साहित्यकार जगदीश घिमिरे रहेका छन् । अपरिमित पारिवेशिक परिघटनाहरूले तथा सम्झनाका तरेलीहरूले वहाँको व्यक्तित्व मेरो मनको राजमार्ग हुँदै मस्तिष्कभरि छाएको छ । मानिसको प्रशंसा मरेपछि मात्र हुन्छ । अँझ नेपालजस्तो गरिब र सांस्कारिक हिसाबले उच्च संस्कारको विकास नभएको मुलुकमा त झन् शालिक संस्कार र श्राद्ध परम्पराले पउल विकास गरेका हुनाले मानिसलाई जिउँदामा गलत देखे पनि मरेपछि भने मात्रै भगवान् मान्ने चलन जो स्थापित भएको छ । त्यो मलाई रत्तिभर मन पर्दैन । तर मैले यहाँ प्रशंसा होइन आफूले देखे भोगेका जगदीश घिमिरेलाई लेखकीय इमान्दारिताका हिसाबले लेखन औ मूल्याङ्कन गर्ने जमर्को गरेको छु ।

मैले मेरो रामेछाप बसाइको करिबकरिब बाइस वर्षको दौरानमा त्यहाँ रहेभएका सबै प्रकारका सबै पेसा, आर्थिक अवस्था र दर्शनको दाउन खेलाउने विविध हाँचका अनेकानेक मानिसहरूसँग उठबस, रसोबसो र सरसंगत गर्ने बाक्लै मौका पाएँ । एक हिसाबले भन्ने हो भने मलाई रामेछापले नै दुःखका दाउनमा अनुभूतिका चास्नीमा राखेर लेख्न अनि कथ्न सिकाएको हो । त्यसै त पूर्व दुइनम्बर पुरानो नामले चिनिएको रामेछापलाई साहित्य, कला र राजनीतिका दृष्टिले ऐतिहासिक जिल्लाका रूपमा लिइन्छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरको क्रूर शासकीय सत्ताको विरोध स्वरूप मकैको खेती नामक पुस्तक लेखेर राणाशाहीकै विपक्षमा धावा बोल्ने नेपाली साहित्यकै प्रथम साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारी हुन् या नेपाली चित्रकलाको क्षेत्रमा प्रथम पिएचडी गर्ने कलाकार डा. रामकुमार भौकाजी पनि किन नहुन ती रामेछापकै माटामा जन्मेका सरस्वतीका वरद्पुत्र हुन् । त्यसैगरी नेपालको वामपन्थी आन्दोलनमा अग्रणी भूमिका निभाउने तथा २००७ सालको क्रान्तिका सहिद गंगालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठको जन्मधर्ती पनि रामेछाप कै माटो हो ।

अरु थुप्रै कलमजीवीहरू एकसेएक रामेछापमा जन्मेका छन् । तिनीहरूलाई यो सानो लेखमा नमन गर्न अहिले सकिन्न । कुनै बेलामा कलम चलाउनु नै पर्ला । तर अहिलेका विषय भने जीउँदामा अति नै चर्चा र प्रसिद्धिको घेरामा रहेका नेपाली साहित्यका मूर्धन्य साहित्यकार जगदीश घिमिरे हुन् जो कार्तिक १४ गतेमात्र हामीसबैलाई छाडेर आफ्नो महायात्राका यात्री भैसकेका छन् ।

माइलोमाको क्यान्सरजस्तो कडा रोगबाट पनि आत्मबल र औषधीका रुपमा बाँचेका घिमिरे नेपाली आधुनिक साहित्यको बीसको दसकदेखि अनवरत सत्तरीको दसकसम्म लेखन, सामाजिक सेवा र राजनीति वृत्तमा चलायमान स्थापित नामका रुपमा रहेका छन् । प्रसिद्ध समालोचक एव म समकालीन साथी हरि अधिकारीका शब्दमा ‘जगदीश सधैँ एक नम्बरमा रहिरहन चाहने साहित्यकार हुन् ।’

साहित्यकारका रूपमा आदरणीय जगदीश घिमिरेलाई करिब तीसको दसकमै रुपरेखा, मधुपर्क, अभिव्यक्ति, रचना, गोरखापत्र र गरिमाजस्ता विभिन्न पत्रपत्रिकाहरूमा लेखकका रूपमा पढिए पनि मैले वहाँसँग आमनेसामने भएर साहित्यिक भलाकुसारी र प्रत्यक्ष भेट्ने सौभाग्य चाहिँ २०५० सालमा पाएको हूँ । त्यसबेला अहिलेको जस्तो रामेछापमा मोटर बाटो, इमेल इन्टरनेटजस्ता अत्याधुनिक प्रविधिका सेवा र सुविधाहरू थिएनन् । यातायातको नाममा शाही नेपाल वायुसेवा निगमको जहाज हप्ताको तीन दिन आउँथ्यो । आइतबार, मङ्गलबार र बिहीबार हामी त्यसमै आउने बासी गोरखापत्र र अन्य साप्ताहिक पत्रिका हेरेर आफ्नो ज्ञानको भोक मेटाउथ्यौं ।

समय आफ्नै रफ्तारमा सुलुलुलु बग्दै गयो । म पनि आफ्नो कर्ममा लीन हुँदै गएँ ।

जगदीश घिमिरेको जिल्ला भन्नेसम्म मलाई थाहा थियो तर वहाँसँग भेट्ने सौभाग्य मलाई जुरेको थिएन । मैले वहाँलाई भेट्दा वहाँ आफ्नो जिल्लाको विकासे कार्यक्रहरूको निरीक्षण र मूल्याङ्कन गर्न रामेछाप आउनु भएको थियो । वहाँ आफ्ना सहयोगी र केही विदेशी मित्रहरूका साथ लागेर मन्थली जानु भएको थियो । त्यसबेला वहाँद्वारा नेतृत्व गरिएको तामाकोसी सेवा समिति पनि सानासाना ढुङ्गाले छाएका पहाडी शैली र ढपका भवनमा सञ्चालित थियो ।

मैले म आफू नेपाली साहित्यको सामान्य पाठक र त्यहीँको एउटा माध्यमिक विद्यालयको शिक्षक भनेपछि वहाँले मलाई माया गर्न थालेको महसुस गरेको थिएँ । वहाँ अलि खरो र हक्की स्वभावको हुनु भएकाले मलाई पहिलापहिला वहाँसँग खुलेर संवाद गर्न निक्कै धक लाग्थ्यो । पहिलोपटक मैले वहाँसँग एउटा लिखित साहित्यिक अन्तरवार्ता गरेको थिएँ । त्यो सायद् २०५० सालतिरको कुरा हो । जुन चितवनबाट निस्कने र रामबाबु घिमिरे सम्पादक तथा हिक्मत थापा कार्यकारी सम्पादक भएको सम्प्रेषण नामको साहित्यिक त्रैमासिक थियो । जून अन्तरवार्तामा वहाँले पुरस्कारका सन्दर्भमा भन्नुभएको थियो –‘साहित्यकारले पाएको पुरस्कार तरकारी किन्दा फोसामा पाएको खोर्सानी हो ।’ मलाई त्यो लिड वाक्यले निकै दिन ऊर्जा दिएको थियो । तिनताक म कवितामा निकै दिलचस्पी दिन्थेँ ।

जगदीश घिमिरेसँग मेरा ठूलाठूला सम्झनाहरू नभए पनि जति सम्झनाहरू छन् ती सानै भए पनि रोचक भने अवश्य छन् । हामी काम गर्ने विद्यालयमा वहाँले नै २०४९ सालतिर युएससी क्यानाडा भन्ने संस्थाबाट केही लाख रकम सहयोग जुटाइदिएर धुलाम्मे कक्षा कोठाको प्लाष्टर र फ्लोरिङ् गर्न मद्दत गर्नुभएको थियो । जुन कार्यलाई त्यसबेलाको रामेछापमा सकारात्मक कदमका रुपमा हेरिएको थियो ।

काम परेका बेला जुनसुकै समयमा नत्र भने वहाँ प्रत्येक हिउँदमा मन्थली आउनुहुन्थ्यो । हेर्दैमा विदेशीजस्तो देखिने अग्लो जिउडाल र काँटका घिमिरेले हलुका फलामको लौरो प्रायः टेक्ने र क्रिकेटरले लगाउनेजस्तो ठूलो टोपी लगाउनुहुन्थ्यो । खानपिन र डे«सअपमा असाध्यै ध्यान दिने विकासप्रिय जगदीश दाजु फूलजस्तो नरम र बज्रभन्दा कठोर स्वभावको हुनुहुन्थ्यो । वहाँसँग ठट्टा मजाक गर्न जोकोही हच्कन्थे भने मैले पनि कहिल्यै सो चेष्टा गरिनँ । थोरै बोल्ने भनौं मीतभाषी स्वभावका घिमिरे आफू बोल्दा अति नै मिठासयुक्त स्वरमा र तार्किक हिसाबले पनि नेतृत्वदायी अभिव्यक्तिका वाणीहरू प्रशारण गर्नु हुन्थ्यो । आफूले बोलेको अरुले सुने नसुनेको वहाँ निकै तन्मयताका साथ विचार गर्ने हुँदा वहाँले बोल्दा वरिपरिका मानिसहरू पिन ड्रप साइलेन्ट मुडमा बस्थे ।

मैले वहाँसँग २०५० सालदेखि २०६८ सालबीचमा करिब अठार वर्षको सानिध्यमा रहँदाबस्दा लिएका साहित्यिक र साप्ताहिक पत्रिकाका लिखित रूपका करिब एक दर्जनभन्दा बढी नै अन्तरवार्ता र कुराकानीहरूमा वहाँको मेधावी शक्ति र कुशाग्रताको पहिचान गरिसकेको थिएँ । २०५६ सालतिरको कुरा हो । म मन्थलीस्थित महेन्द्रोदय उच्च माध्यमिक विद्यालया पढाउँथे । वहाँको व्यक्तित्व र कृतित्वमा एकजना वैकुण्ठ पौडेल भन्ने भाइ एम्ए नेपालीको थेसिस गर्न आए । त्यसबेलामा पनि वहाँले मलाई आफ्नो तामाकोसी सेवा समितिको अफिसमा बोलाएर पौडेलसँग परिचय गराइदिई वहाँका बारेमा मैले जानेका कुराहरू र मैले वहाँका बारेमा राष्ट्रिय स्तरका पत्रपत्रिकामा लेखेका समाचार र फिचरहरूको फोटोकपी उपलब्ध गराइदिन अनुरोध गर्नुभयो । मैले त्यसबेला म जनमञ्चको र आजको समाचारपत्रको संवाददाताका हैसियतले वहाँसँग गरेका अन्तर्वार्ता साथै समाचार र फिचरका अंशहरू वैकुण्ठ पौडेलजीलाई उपलब्ध गराएको थिएँ । त्यसबखत म वहाँको राजधानीस्थित घर चोभार गएको छु ।

पछि वहाँले जब मन्थलीमा हिउँदका याममा काठमाडौँबाट विभिन्न हाँचका साहित्यकार तथा पत्रकारहरू निमन्त्रणा गरेर साहित्य महोत्सव गराउँनु हुन्थ्यो त्यसबेला मेरो उपस्थितिको खोजी वहाँबाट हुने गर्थ्यो । म आफूले सकेको मानसिक, साहित्यिक र रचनात्मक सहयोग गर्थें । जुन काम गर्दा मलाई एक प्रकारको सुखानुभूति हुन्थ्यो । २०६० साल फागुनमा मन्थलीमा हामीले एउटा वसन्त काव्य संगम नामको साहित्यिक संगोष्ठी गरेका थियौं । त्यो गोष्ठीमा प्रमुख अतिथिका रूपमा साहित्यकार तथा उपन्यासकार मदनमणि दीक्षित पाल्नुभएको थियो । जसको संयोजन मैले नै गरेको थिएँ । जुन कुरालाई वहाँले रामेछाप साहित्यिक महोत्सव शीर्षक दिएर आफ्नो चर्चित कृति अन्तर्मनको यात्रा पुस्तकको दोस्रो परिमार्जन संस्करणमा पनि उल्लेख गर्नुभएकोछ । जुन कार्यक्रममा वरिष्ठ साहित्यकार दीक्षितज्यूको भूमिशुक्त नामक चर्चित कृति लोकार्पण गरियो ।

२०६० पछाडि हरेकवर्ष रामेछाप साहित्यिक महोत्सवका नाममा कहिले कलाकार त कहिले राष्ट्रका प्रख्यातप्रख्यात साहित्यकारहरू नै मन्थलीमा जाने गर्दथे । त्यसरी जाँदा कहिल्यै पनि नछुट्ने कलमजीवीहरूमध्ये सम्पादकद्वय नगेन्द्रराज शर्मा, रोचक घिमिरे र वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल हुन् । कुनै एकसाल त ज्ञान्दाइ भाउजूलाई पनि लिएर जानु भएको थियो । वहाँको गजल र मुसायरा भन्ने शैली अनि जोक गर्ने शैलीलाई लिएर हामी स्थानीय अखबारमा स्तम्भ बनाएर लेख्थ्यौं ।

त्यसरी त्यहाँ हुने साहित्यिक माहौलमा हामी रामेछापबाट निरन्तर साहित्य लेखिरहनेहरूमा म, रामचन्द्र वियोगी, डा. सुमन कर्माचार्य र माधव सयपत्री यी चारजना भने कहिल्यै छुट्दैनथ्यौं । हामीलाई खोजीखबरी नगरीकन वहाँलाई सायद् चित्त बुझ्दैनथ्यो होला । हामीले दिनभरिको माहौललाई साथ दिनु त पर्थ्यौ नै साँझमा हुने क्याम्प फायर मै पनि सक्रिय उपस्थिति जनाउनु पर्दथ्यो । शित परेका हिँउदका चिसा रातमा हामी लेखनका लागि दाउन पर्खेर विशिष्ट साहित्य साधकहरूको वाणी सुन्न लालयित हुने गर्थ्यौं । बाह्र या एक बजे हामी आआफ्ना कोठामा फर्कन्थ्यौं । साथी माधव सयपत्री र मैले त्यसबेला निकै योजनाहरू पनि बनाएका थियौँ ।

२०६४ सालकै हिउँदको प्रसङ्ग हो । प्रसिद्ध आधुनिक समालोचक कृष्णचन्द्र सिंह प्रधान, सुविख्यात निबन्धकार तथा अनुसन्धाता कमलमणि दीक्षित र वरिष्ठ कलाकार किरण मानन्धरले रात्रीकालीन सत्रमा चलाउनु भएको कला, साहित्य र समालोचनाको मौखिक सत्र (लगभग कक्षा) त्यो हिउँदको असाध्यै श्रवणीय र दिगन्त सत्र रहेको अँझै मनमा लागिरहेको छ । आफूमात्र चर्चित हुने मञ्च नबनाएर अन्यलाई पनि मञ्च उपलब्ध गराउनु जगदीश घिमिरेको एउटा नयाँ शैली नै थियो । जसका बारेमा जति वर्णन गरे पनि कमै हुन्छ ।

२०६८ सालमै वहाँ सकस आख्यानलाई अन्तिम रूप दिन भनी मन्थली लेखन शिविरमा जानु भएको भन्ने थाहा पाएर मैले वहाँलाई नै प्रमुख अतिथि बनाएर त्रिदिवसीय पहिलो रामेछाप कला प्रदर्शनीको उद्घाट्न गरेको थिएँ । अनि हामीले त्यसै हिउँद्को होली पर्वका दिन वहाँकै सामाजिक संस्था तासेसमा होली कविगोष्ठी गरी अनौपचारिक साहित्यिक मञ्चलाई पुनर्जीवन गरेका थियौँ । जसको अध्यक्षका नाताले अँझै हामी केही न केही काम गर्दैछौं ।

यो अलि अघिको कुरा हो । सायद् २०५४ सालतिर हुनु पर्छ । रामेछाप जिल्लामा पत्रकार हिमाल ढुङ्गेलको सक्रियतामा अविरल नामको मासिक पत्रिका प्रकाशन भयो म त्यसको प्रधान सम्पादक थिएँ । जसमा जगदीश दाइ र दुर्गा घिमिरे सल्लाहकार हुनुहुन्थ्यो । मैले पहिलो अङ्कमा वहाँको रचना त प्रकाशन गर्न पाइनँ तर आदरणीय दुर्गा घिमिरेसँग लामो फोनसंवार्ता गरी प्रकाशन गरेको थिएँ । यसरी वहाँहरू दुवै पतिपत्नी साहित्य भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । पछि दिदीले मलाई जेलको सम्झनामा भन्ने पुस्तक उपहार दिनु भा’थ्यो ।

वहाँले त्यसबेलामा हाम्रो कामको खुलेर प्रशंसा गर्नुभएको थियो ।

२०६९ पुस महिनामा हामीले हाम्रो क्याम्पसमा बिए, बिएड् र एम्एड् पढ्ने विद्यार्थी तथा नेपाली भाषाका शिक्षकहरूलाई वहाँको लेखकीय व्यक्तित्वको जानकारी गराउन एउटा अन्तक्र्रिया कार्यक्रम राखेका थियौं । सो बखत वहाँले त्यसबेला बाँचेका पाठ्यक्रममा समावेश निबन्धकारहरूमा डा. तारानाथ शर्मा र आफू मात्र पुरानो पुस्ताको भएको कुरा बताउँदा स्रोताहरू मख्ख परेका थिए । वहाँसँग मैले लिएको अन्तिम अन्तर्वार्ता चाहिँ २०६८ मंसिर १५ गतेको रहेछ जसमा वहाँले म अति नै परिश्रम गर्ने मानिस हूँ भन्नुभएको छ । हो पनि वहाँ समय, बोली र लवाइखवाइका अत्यन्त मेनेजेवल पर्सन हुनुहुन्थ्यो । मैले अहिलेसम्म जीवनमा त्यस्तो व्यक्तित्व अर्को भेटेको छैन जो लेखकका नाताले फूलजस्तो नरम र व्यवस्थापकका नाताले वज्रभन्दा कठोर विशेषताको हुने गर्छ । जगदीश दाइ, तपाईं जहाँ भए पनि जहाँ रहे पनि यो तपाईंको बानी र विशेषता म मेरो शिक्षण जीवनमा मात्र होइन रिटायर्ड लाइफमा पनि आफूले बताएको सुन्ने र मान्ने मानिसलाई बताइरहन्छु । सुनाइरहन्छु । म यसबाटै तपाईंमा श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

पेशल आचार्य
उपप्राध्यापक, नेपाली
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली