गजल

क्षितिज समर्पण

आगो कहिलेदेखी आगो बन्यो होला ?
पहिले यो पानी कि आगो बन्यो होला ?

ढुङ्गा ठोकेर ढुङ्गा आगो जन्माउँछ,
जिन्दगी कतिचोटि आगो बन्यो होला ?

भन्छिन् तिम्रो यादले जलाईरहन्छ,
सोच्छु के प्यार पनि आगो बन्यो होला ?

भोकै सुतेर भोक मेटाउँछु भन्थ्यो
थाहा छैन के सोची आगो बन्यो होला ?

हिजोसम्म ऊ गुलाफ जस्तो लाग्थ्यो,
आज खै कसरी आगो बन्यो होला ?