के गरूँ

रमेश खकुरेल

रमेश खकुरेल

जाऊँ कतै भनेदेखि पेट्रोलैको अकाल छ
खाना पकाएर खान ग्याँसको अनिकाल छ ।।
काँचै खाऊँ भनेदेखि खाद्यवस्तु नपाइने
भेटिहाल्यो भनेदेखि मूल्यले मूर्छितै हुने ।।
अात्मदाह गरी मर्न कहाँ इन्धन पाउने
समाऊँ बिजुली तार भोल्टेजै कम आउने ।।
न मर्न पाइयो साथी न यहाँ बाँच्न पाइयो
जिन्दगीमा नपाएको गोता यो साल पाइयो ।।
भूकम्पले भत्किएको घर बल्ल बनाइयो
यही वेला छिमेकीले नाकाबन्दी गराइयो ।।
के पी तुक्का मात्र छोड्छन् गर्नु सर्नु कता कता
हाम्रो यो नेपाल देश न यता भो न ता उता ।।
ठेकेदार बनेको छ यौटा नेपाल आयल
उसैले यो देशलाई पार्‍यो हायल कायल ।।
कालोबजारी होस् वा कि मिलावट गरीकन
कुरुस्त धनका पोका उही लग्छ पुर्‍याउन ।।
हाक्काहाकी ताल ठोक्छन् मान्दैनन् ऐनका कुरा
पुष्टकारी लिई चुस्छन् उनैबाट बनी भुरा ।।
ओली गोली त होला नि हानिदेऊ कृपा गर
भोकै मर्नु भयो कष्ट यति चाहिं जनी गर ।।