कवितारामको अन्तिम कृति ‘लाइट अफ दि हिमालय’ विमोचन

 

काठमाडौं । बेलायतमा साहित्यकार कविताराम श्रेष्ठ सम्मानीत भएका छन् । २०७४ साल केही महिनाअघि मृत्युको मिति पाएका क्यान्सरपीडित सहित्यकार डा. कविताराम श्रेष्ठलाई बेलायतमा एक समारोहबीच सम्मान गरिएको हो । उक्त समारोहमा उनको लाइट अफ दि हिमालय कृति विमोचन गरिएको छ ।

 

श्रेष्ठले चिकित्सकले मिति दिए पनि आफूलाई मृत्युसँग डर नभएको बरु मृत्युचाहिँ आफूसँग हारिरहेको बताउँदा दर्शकदीर्घा स्तब्ध देखिएको थियो । उहाँले विमोचित पुस्तक ‘लाइट अफ दि हिमालय’ अन्तिम कृति भएको बताउनु भयो । उहाँलाई अक्सिजनको सिलिन्डरसहित कार्यक्रममा सहभागी गराइएको थियो ।

राजदूत दुर्गाबहादुर सुवेदीले कृति बिमोचन पश्चात सम्मानपत्र हस्तान्तरण गर्दै श्रेष्ठले नेपाली साहित्य क्षेत्रमा दिएको योगदान साहित्यजगतले स्मरण गरिरहने बताउनु भयो । नयाँ कृतिबारे राजेन्द्र क्षेत्री, रुपक श्रेष्ठ, एलिजाबेथ इभान र मुलीवीर राईले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले श्रेष्ठको साहित्यिक योगदान कहिल्यै स्मृतिबाट नमेटिने बताउनु भयो ।

प्रवासी नेपाली साहित्य समाज बेलायतले आयोजना गरेको उक्त कार्यक्रममा श्रेष्ठबारे मुलीवीरद्वारा निर्मित डकुमेन्ट्री पनि देखाइएको थियो । श्रेष्ठका ३७ पुस्तकसहित दुई डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् । उहाँ एकदशकदेखि यूकेको वकिङमा बस्दै आउनु भएको थियो। भिजिटिङ प्रध्यापकका रूपमा लामो समय काम गर्नु भएको श्रेष्ठको अधिकांश समय साहित्य क्षेत्रमा बित्यो । श्रेष्ठलाई साहित्य समाजले सन् २००८ मा पनि सम्मान गरेको थियो ।