कला नै जीविकाको आधार

हुन त कलालाई मूल्यांकन गरेर दाँज्न मिल्दैन  । कलाकारले अन्तरमन देखिको लगाव, मेहनत गरेर कुँदेको कलाको मूल्य अमूल्य हुन्छ । जीवन जिउने क्रममा यस्तै सिपलाई आधार बनाउनेहरूको जमात बढ्दो छ देशमा । मकवानपुरका केही महिलाले पनि यस्तै सिपलाई आफ्नो जीविकाको आधार बनाउने प्रयास थालेका छन् ।

घरैमा बसेर पनि आत्मनिर्भरताको बाटो पहिल्याउने खोजीमा जिल्लाका केही महिलाले काष्ठ हस्तकलालाई रोजेका छन् । यसबाट जीविका सम्भव छ भन्नेमा उनीहरू विश्वस्त छन् । सिन्धुपाल्चोक घर भएकी ५० वर्षीया लक्ष्मी भ्लोन काष्ठकलाबाट जीविकोपार्जन हुनेमा विश्वस्त छन् ।

गत वैशाख १२ को भूकम्पले घर भत्किएर उनी विस्थापित भइन् । भूकम्पको पीडासँगै हेटौंडा आएकी उनलाई आत्मनिर्भरताका लागि सिपको खाँचो थियो । सिप सिक्ने र सिकेको सिपको बजारीकरणका लागि सहज होस् भन्ने भावना मनमा खेलाउँदै गरेकी उनलाई सोचेजस्तो मौका मिलेको छ । यसै क्रममा उनले काष्ठ हस्तकलाका विभिन्न आकृति बनाएर घरैमा बसेर आय आर्जनको बाटो पहिल्याएकी छन् । अस्मिता नेपालले उनलाई यो मौका दिलाएको हो ।

‘केही गर्ने सिपको खोजिमा थिएँ । अहिले यो सिप सिकेर आत्मविश्वास बढेको छ,’ काष्ठ हस्तकलामा बुट्टा भर्दै उनले भनिन् । लक्ष्मी मात्रै होइनन्, सुभद्रा पराजुलीको पनि आत्मबल बढेको छ । एपीएफ नेटको आर्थिक सहयोगमा अस्मिता नेपालको आयोजनामा भइरहेको ६ महिने काष्ठ हस्तकलामा बुट्टा भर्ने तालिम सहभागी ४९ वर्षीया सुभद्राले भनिन्, ‘घरमा बसेरै समय बित्थ्यो । सिप भए त धेरथोर कमाउन पनि सकिने भयो ।’ समुदायमा आधारित दीगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्मिता नेपालले जिल्लाका चार ओटा सामुदायिक वन उपभोक्ता समितिका ५० महिलालाई यो सिप सिकाइरहेको छ । लामो समयदेखि काष्ठ हस्तकलामा सक्रिय विजय दुलाल र बाबुलाल वाइबाबाट सिप सिकिरहेका छन् ।

वन सधैं जोगाउन मात्रै पनि सम्भव छैन, यसबाट आय आर्जन पनि गर्न सकियो भने वन जोगाउन स्थानीयहरूलाई आफैं मनोबल बढ्नेछ । यसैलाई मध्य नजर गर्दै वनसँग आयआर्जनलाई जोड्ने जमर्को गरेको अस्मिता नेपाल मकवानपुर अध्यक्ष आरती पाठकले बताइन् । प्रशिक्षार्थीहरूले बनाएको काष्ठ सामग्रिको बजारीकरणका लागि सहकारीमार्फत कोसिस गरिने पाठकले बताइन् । गरिब तथा विपन्न वर्गका महिलाहरूलाई आयआर्जनमा सहयोग गर्ने गरी यस्तो कार्यक्रम ल्याइएको हो । उनीहरू नेपालको नक्सा, स्तुपालगायत मायाको चिनो निर्माण गर्न सक्षम भइसकेका छन् ।

‘अझै उनीहरूको सिक्ने समय बाँकी छ,’ अध्यक्ष पाठकले भनिन् । जिल्लाको वनस्खन्डी, पिप्ले पोखरा, मनकामना, न्युरेनी सामुदायिक वन उपभोक्ता समितिमार्फत उनीहरूलाई चयन गरिएको हो । सामग्रीहरू बनाउन सके यसको बजारका लागि चिन्ता नै नहुने प्रशिक्षक दुलालले बताइन् । ‘बनाइसक्न पाएको छैन, खोज्नेहरूको मारामार हुन्छ,’ उनले भनिन् ‘सिप भए जीवन आफैं सहज बन्छ । काष्ठकलालाई पनि जीवन्त बनाउन सकिन्छ ।’

जिल्ला विकास समिति मकवानपुर वरिष्ठ सामाजिक विकास अधिकृत रामकृष्ण थापाले भने, ‘वन बचावट मात्रै गर्ने र उपभोग गर्न नपाउने हो भने संरक्षणमा पनि ध्यान कम हुने भएकाले संरक्षणसँगै उपभोग तथा आयआर्जनको पाटोमा पनि सघाउने हो ।’ यसले वन संरक्षणमा झनै चासो बढ्ने उनको भनाइ छ ।  स्रोतःराजधानी