कर्ण दासले दर्शकलाई तताए

कर्ण दासले दर्शकलाई तताए

कर्ण दासले दर्शकलाई तताए

पुस १२, २०७२- शनिबार पोखरा सभागृहमा एकल गायन लीएर उत्रिएका कर्ण दासले दर्शकलाई आफ्ना सुमधुर स्वरले तताए । यसरी गाउन पाउँदक आफ्नो सपना साकार भएको उनी बताउँछन् । अमेरिका भासिए पनि कर्ण दाससँग स्वदेश फिरेर दर्शकमाझ गाउने इच्छा हराएको थिएन ।वर्षौंअघि यही सभागृहमा दुइ ओटा एकल कन्सर्ट गरेका थिए ।

‘सपना देख्नुपर्छ एक दिन पूरा हुने रहेछ’, १० वर्षपछि ‘कर्ण दास एकल साँझ’ मा प्रस्तुत हुँदै उनले भने, ‘अमेरिका बस्दा सभागृह कल्पना गरेको बसेको थिएँ ।’उनलाई सुन्न सभागृहमा दर्शक खचाखच थिए । दर्शक सहभागिता देखेर हौसिएका उनले एकल गायन सुरु गर्नुअघि आमालाई स्टेजमा डाकेर ढोगे । आमाकै हातबाट माइक लिएपछि गाउन तयार भए । सुरुआतमा उनले चर्चित राष्ट्रिय गीत ‘ठूला–ठूला महल हैन।।’ बाट गला खोले ।

यो गीतमा सांस्कृतिक पहिरनसहित मसिना बालबालिका राष्ट्रिय झन्डा हल्लाउँदै स्टेजमा उत्रिए । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले भूकम्प प्रभावित विद्यालय पुनर्निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले उनलाई एकल गायनमा उतारेको हो ।

गीत गाउने क्रममा उनले भूकम्प र नाकाबन्दीले समेत नेपालीमा धैर्य नटुटेको बताउँदै थिए । उनले आमाभन्दा ठूलो कोही नभएको भाव झल्कने गीत सुनाए–
‘मन्दिर पनि हैन, भगवान् पनि हैन
आमाभन्दा ठूलो अरू कोही छैन।।।।’

राष्ट्रिय भाव र आमाको महिमा गीतपछि उनले ‘यो प्रेमको बलिदान।।’ गीत गाए । उनलाई गीतमा रुबी गौली, रजनी राई र उपासना पाख्रिन लगायतका गायिकाले पनि साथ दिए । राष्ट्रिय, सुगम र पप सबै गीत पालैपालो गाए उनले । दर्शकले ताली बजाउँदै गीतको तालमा ताल मिलाए ।

‘जिन्दगीको के भरोसा।।।’, ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो।।।’, ‘पुरानो डुंगा पानीको छाल।।।’, ‘फर्की आऊ शान्ति तिमी।।।’ र ‘मनमनै मन पराइसकेछु।।।’ लगायत लोकप्रिय गीतमा दर्शक उत्तिकै रमाए ।

उनले ‘आमासँगै अल्लारे उमेरमा आफूले मन पराएकी युवतीदेखि पत्नीका लागि’ भन्दै गीतहरू समर्पण गरे । उनको गायकी सुन्न अमेरिका बसाइपछि स्वदेश फिरेका अभिनेता सरोज खनालसमेत चितवनदेखि पोखरा आइपुगेका थिए । युवादेखि पाकासम्मका दर्शक रोजाइका गीतले कार्यक्रमको चिसो माहोललाई ततायो ।

पोखरा मध्याह्न ब्यान्डका गायक कर्ण दास दस वर्ष अमेरिका बसाइ छाडेर आएपछि पहिलो पटक आफ्नै जन्म थलोमा एकल कन्र्सटमा प्रस्तुत भएका हुन् । अहिलेसम्म १२ सयभन्दा बढी गीतमा स्वर दिइसकेका उनी यति बेला नयाँ गीति एल्बमको तयारीमा रेकर्डिङमा व्यस्त छन् ।
                                                                                                                                                                                                                                            स्रोतः कान्तिपुर