उपन्यास : नन्दिता

 

प्रदिप नेपाल~

तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार पार्न दिइन । त्यो उज्यालो भयो । परीक्षाको परिणाम र आफू भित्र हुर्किएको आत्मविश्वासले नै मलाई यो चिठी लेख्न ढाडस दिएको हो । उसो त मामु, यस्ता एक दर्जन जति चिठीहरु तपाईंका हातले खेलाइसकेका छन् । तर तिनमा जे थियो यसमा त्यो छैन । यसमा जे छ त्यसको कल्पना तपाईंको मनले पनि गर्न सक्दैन । त्यसैले फेरि एकपल्ट मलाई आशिर्वाद दिनुस्, म तपाईंले जन्माएकी योग्य छोरी बन्न सकुं । जुन आत्मविश्वास बोकेर मैले तपाईंलाई चिठी लेख्ने आँट गरेकी छु, म त्यसमा अटल रहन सकुं ।

हप्ता दिन अघि हामी सबै नेपाली विद्यार्थीहरु समुद्र हेर्न गएका थियौं । केही साथीहरु पहिले पनि गएका रहेछन् । म, इलामकी संगीता र गुल्मीकी सान्त्वना हामी तीन जना पहिलो पटक समुद्र पुगेका रहेछौं । कस्तो अनौठो ! समुद्रबाट झण्डै सय किलोमिटर टाढा तीन वर्ष बिताइसक्दा पनि हामीले समुद्री किनारको बालुवामा टेकेका रहेनछौं ।

मामु, बिचित्रको हुंदो रहेछ समुद्र । तपाईंले कतै देख्नुभएको छ ? देख्नु त भएकै छ । आजभोलि काठमाण्डौमा पनि टेलिभिजन बाक्लै भएको छ । गाउँघरमा झिक्रा थुपारे जस्ता एण्टेनाहरु बजारभरी देखिन्छन् । त्यसैले तपाईंले समुद्र देख्नु भएन भन्न मिल्दैन । समुद्रको किनारमा नपुग्दासम्म मलाई पनि पानी र टेलिभिजनको समुद्र उस्तै उस्तै लाग्थ्यो । तर प्यारी मामु, टेलिभिजनको समुद्र र आँखा अगाडि निलो बालुवा जसरी पानीमा पसारिएको समुद्रमा आकाश जमिनको फरक हुंदो रहेछ । समुद्रको दैलोमा उभिएर हेर्दा यस्तो लाग्दो रहेछ – मानौं आकाश फेरि पृथ्वीमा झरेको होस् । मैले संगितालाई भनें, “संगिता, मेरी मामुलाई मैले समुद्र देखाउनु परेको छ । समुद्र र मेरी मामुका बीच कुनै भेद छैन । त्यस्तै फराकिलो छाति, त्यस्तै शान्त मन, त्यस्तै निलाम्य शान्ति !”

संगिता खिसिक्क हाँसी । उ जहिले पनि मायालु पाराले हाँस्छे । मामु, तपाईं संगितालाई चिन्नु हुन्न । तर उ तपाईंलाई चिन्छे । मैले पहिलेका चार पाँच ओटा पत्रहरुमा उसका बारेमा लेखेकी छु । तर त्यत्ति लेखाइले तपाईं संगितालाई चिन्न सक्नुहुन्न । यहाँ त हामी चिठी लेख्दैनौं ।

हामी शब्दहरुको थुप्रोमा बसेर कथाहरुको माला उन्छौं । संगिता मेरो माला उन्ने साथी हो । उसलाई मैले हजुर आमाको कथा सुनाएकी छु । हजुरबा र उपचार देख्न नपाएर अकालमा खस्नु भएकी दिदीको कथा पनि सुनाएकी छु । मैले केही बाँकि नराखी सबै सुनाएकी छु । त्यसैले उसले तपाईंलाई मै भएर चिन्न थालेकी छे । समुद्रमा डुबुल्की मारिरहेका मेरा आँखाहरुमा नियाल्दै त्यसैले, उसले भनेकी थिइ, “मामु तेरा लागि समुद्र, आकाश र पृथ्वी सबैथोक हुनुहुन्छ । काठमाण्डौ गएर म तेरी मामुसँग एक हप्ता बस्नेछु ।”

मामु, मैले कुरा बरालेकी मात्र हुं । हामी समुद्र नदेखेकाहरुलाई समुद्र के हो के हो जस्तो लाग्छ । यहाँका मेरा साथीहरु हिमालको कुरा सुन्न पनि नपाउँदै अहो, अहो ! गर्न थालिहाल्छन् । हाम्रो आँखामा दिनहुं नाचिरहने हिमाल हाम्रा लागि केही थिएन । तर यहाँका संगीहरुका लागि त्यो भन्दा अर्को कुनै स्वर्गै हुंदैन । मेरा दुइ जना बंगाली साथीहरुले मसँग हिमालको कुरा सोधे । तपाईंलाई सम्झना छ ? एकपल्ट हामी घर गएका थियौं हवाइजहाज चढेर । देब्रेतिरको अघिल्लो सिटमा तपाईं बस्नु भएको थियो । पछिल्लो सिटमा म बसेकी थिएँ । हवाईजहाजले भुईं छोड्यो । बिस्तारै त्यसले बौद्धको स्तुप माथि उभिएर भगवान वुद्धलाई नमस्ते गरे जस्तो गर्यो । हामीले स्तुपतिर आँखा फाल्न भ्याउदा नभ्याउदै त्यो गोकर्णको जङ्गल माथि पुगिसकेको थियो । हवाइजहाज नगरकोट माथि तेर्सियो । त्यही साल त हो तपाईंले मलाई हिमालको दर्शन गराउनु भएको ! पहिले हामीले गौरीशंकर हेर्यौं । कत्ति राम्रो थियो त्यो पर्वतमाला ! सधैंभरि त्यसकै छहारीमा बसौं बसौं लाग्ने । त्यसपछि तपाईंले कुनामा लुकेको थाप्लोलाई ‘उ सगरमाथा हेर छोरी’ भनेर औंल्याउनु भएको थियो । अहं, मलाई सगरमाथाले पनि छोएको थिएन । तर यहाँ आएपछि सबैखाले साथीहरुले हिमाल हिमाल भनेको सुन्दा मामु, मलाई त भरखरै स्वर्ग छोडेर आएकी पो हुँ कि जस्तो लाग्यो । मैले सबैलाई हिमालको पोष्टकार्ड पठाइदिने वचन दिएकी छु । मामु, मेरा लागि तीस चालिस ओटा हिमाल भएका पोष्टकार्डहरु किनेर राखिदिनुस् है ! कुनैमा कञ्चनजङ्गा होस्, कुनैमा होस मकालु अनि कुनैमा सगरमाथा । कुनैमा माछापुच्छ«ेको तिखो चुच्चो भैदियोस् अनि कतै धवलागिरी हिमाल सुतेर आकाश नियाली रहेको होस् । अहो ! मेरा साथीहरु कति खुशी हुने होलान् !

मैले सागर नदेखेकी भए, हिमाललाई यत्ति धेरै माया गर्ने थिइन होला । समुद्रको किनारमा हामी पुग्दा मलाई कल्पनै नगरेको संसारमा पुगे जस्तो लागेको थियो । त्यतिबेला मध्यदिन थियो र आकाशमा तिखो सूर्य चम्किरहेको थियो । हामी भुईंतिर पिठ फर्काएर उभिएका थियौं र हाम्रो आँखाले देखिने जति भागमा पानी, पानी मात्र थियो । लट्ठ परेछु म त ।