इलाम र आसामका साहित्यकारले तताए मञ्च

 

असोज,१८

‘टोपी खोल टोपी खोल

म तिम्रो उचाइ नाप्न चाहन्छु

मेरो त हजुुुर उचाइ त्यही टोपीमा छ’

यस्तै भाव बोकेका कविता इलामको उद्योग वाणिज्य संघको सभाकक्षमा वाचन गर्दा सबै दर्शकले तालीले साथ दिए । भारतीय भूमिमा रहेर पनि नेपाली साहित्यलाई बिछट्टै मन पराउने कालुसिंह रनपहेंलीले यो कविता सुनाएका हुन् । एक सेरको गजललाई आफैंले ‘युगमग’ नाम दिएर लेखन कार्य सुरु गरेका रनपहेंलीले करिब एक दर्जन कविता सुनाए ।

‘जाबो अढाई अक्षर मृत्युसित

म तीन अक्षर जीवन किन डराउनु’

यी र यस्तै किसिमका ‘युगमग’ गजलहरू वर्षाउँदा सबै साहित्यकार गहन भएर उनका साहित्यिक शब्दहरू सम्झँदै थिए । साहित्यकार रनपहेंली मात्र होइन, आसामका अरू साहित्यकार ज्ञानेन्द्र खतिवडा, विचन्द्र प्रधान, इन्द्र गिरी र भविलाल लामिछानेले पनि आफ्ना प्रतिभा जोसिलो ढंगले सो कार्यक्रममा प्रस्तुत गरे ।

‘घडीले नौ घण्टा अघि नै ठोकिसक्यो

तर पनि तसलिमा तिमी

निदाइरहेकी छ्यौ बिछ्यौनामा…’

अत्यन्तै चोटिला र व्यंग्यात्मक शैलीका कविता कोर्नै विचन्द्र प्रधानले साहित्यकार तसलिमा नसरिनबारे सुनाएको कविताको अंश हो यो । रमाइला स्वभावका साहित्यकार प्रधानका सबै किसिमका कविता सुन्दा श्रोता तथा दर्शक दंग थिए । भारतीय प्रहरीका डीएसपीसम्म भएका प्रधानले आफू पूर्वप्रहरी भए पनि साहित्यमा भुल्ने गरेको बताए ।

‘प्रहरी पेसा र साहित्य दुई भिन्न पाटा हुन्, त्यसैले यी दुवैमा एउटै व्यक्ति संलग्न हुन सक्दैन भन्ने विचारलाई चिर्नका लागि मैले नेपाली साहित्यलाई अंगालेको छु,’ प्रधानले भने, ‘एउटै व्यक्ति घरको बाबु, छोरो र भान्जो आदि हुन सक्छ भने एउटा व्यक्ति प्रहरी र साहित्यकार किन हुन सक्दैन ।’

साहित्यकार प्रधानले आसाम र इलामको परिवेशलाई

तुलना गरेर इलामसँग आसामी नेपालीहरूको प्रगाढ सम्बन्ध रहेको बताए । आसामबाट इलाम आइपुगेका अर्का साहित्यकार भविलाल लामिछानेले भारतीय साहित्य र पर्यटकीय स्थलबारे जानकारी गराए । उनले नेपालमा आफू नबसे पनि नेपाली मायामोह बढी नै रहेको बताए । साहित्यकार लामिछानेले भारतमा नेपाली साहित्य लेख्न प्रोत्साहनको कमी भएकाले साहित्यकारहरू छायाँमा परेको जानकारी गराए । पुराना साहित्यकार लीलाबहादुर क्षत्री  र इन्द्रबहादुर राईजस्ता प्रवासी साहित्यकारको स्मरण गर्दै उनले भने, ‘देश बाहिर नै रहेर पनि नेपाली साहित्यको सिर्जनामा हामी नेपालमै बस्ने नेपालीभन्दा पछि परेका छैनौं ।’

कार्यक्रममा इलामे साहित्यकार धर्म गौतम, इतिहासकार युद्धप्रसाद वैद्य र प्राज्ञ कोमल निरौलाले इलामे साहित्यबारे जानकारी गराएका थिए । सो अवसरमा इलामे युवा गजलकार शिशिर भट्टराई, प्रवीण श्रेष्ठ, विमल राई र प्रतिभा पौडेललगायतले आआफ्ना रचना सुनाएका थिए ।कार्यक्रम उद्योग वाणिज्य संघको आयोजना र भानु संरक्षण समितिको संयोजनमा भएको थियो । साहित्यकार विमल वैद्यले  सो कार्यक्रम सञ्चालन गरेका थिए ।

स्रोतः राजधानी दैनिक