आगो आफ्नो हुँदैन

माधव सयपत्री

माधव सयपत्री

रातको समय सबैतिर अन्धकारले ढाकेको छ। अन्धकारलाई चिर्दै लमतन्ने सडकमा बस गुडिरहेको छ। सडकमा बसको पाङ्ग्राको घर्षण एकतमासको सुनिएको छ। पाङ्ग्रा भुइँमा छन् कि हावामा? बस गुडेको हैन, उडेजस्तो लाग्छ। पाङ्ग्राको घर्षणको उराठलाग्दो आवाज निस्किरहेको छ, र्‍याईयाई र सुईसुई। धेरै यात्रु मस्त निदाएका छन्। केही यात्रु उङ्दै र बिउँझदै छन्। गाडीभित्र सन्नाटा छ। गतिमय सवारीले कहिले अनकन्टार जङ्गल पार गर्छ त कहिले हरिया खेतका फाँट। कहिले घना बस्ती।
वीरवहादुर एक प्रौढ सवारी चालक हो। थकाइले निकै गालेको छ उसलाई। उसलाई निन्द्रा लाग्न खोज्छ। आँखा झकाउँछ। तर ऊ झसङ्ग हुन्छ। सोच्छ, ‘अहो, म त गाडी चलाइरहेको छु। म निदाएँ भने यात्रु कोही जीवित रहने छैनन्। मेरो दायित्व भनेकै यी यात्रुलाई सकुशल गन्तव्यमा पुर्‍याउनु हो।’
ऊ आफ्नो दायित्व सम्झन्छ। आफ्नो गुरुत्तर अभिभारा सम्झँदा चालक आफैप्रति गर्वले फुलेल हुन्छ। बसभित्रको मधुरो बत्तीमा यात्रुका फरकफरक अनुहार वीरवहादुरका आँखामा नाच्छन्। बत्तीको प्रकाशले यात्रुको अनुहार उज्याला देखिन्छ। कहिले चुरा बजेको ‘छिन्छिन्’ आवाज सुनिन्छ त कहिले अल्छीलाग्दो हाइको आवाज। कहिले बसमा बजेको गीतले वीरवहादुरको ध्यान खिच्छ।
वीरवहादुर आफ्नो कर्मबाट विचलित हँुदैन। ऊ सम्झन्छ, ‘अहो, म यत्राविधि यात्रु बोकेर हिँडिरहेको छु। सबै यात्रुले ममाथि विश्वास गरेका छन्। यत्रो भरोसा गरेका छन्।  मैले धोका दिएँ भने!’ ऊ गहिरा कुरा सोच्छ। छेउमा बसिरहेको कण्डक्टर गीत भरिएको अर्को मेमोरी हालेर प्लेबटम थिच्छ। थिच्दाथिच्दै पुरानो एउटा गीत बज्छ– ‘लोकतन्त्रको कोपिला लाग्यो, फलाउनु छ मलपानी हालेर।’
वीरवहादुर गीतका गेडा सुन्छ। ‘कहाँ लोकतन्त्र मात्रै हो र! गणतन्त्रै आइसक्यो। तर खै, यो लोकतान्त्रिक गणतन्त्रलाई कसले मलपानी हाल्दैछ? फलाउने–फुलाउने काम कसले गर्दैछ?’
ऊ सम्झने कोसिस गर्छ। अहँ, निस्वार्थ सेवाभावले लोकतन्त्रलाई मलपानी हाल्ने मान्छे कोही देख्दैन ऊ। सरकार र विद्रोहीको एक स्वर भएपछिका दिनहरू एकपछि अर्को गर्दै आउँछन् दिमागमा। पहिले र अहिलेमा कुनै फरक देख्दैन। उही नातावाद, कृपावाद र भ्रष्टाचारबाहेक केही देख्दैन। नयाँ संविधान आएपछि पनि नेपाली जनताले झनै पीडा खेप्नु परेको देख्दा उसको मन कटक्क काटिन्छ।
बाटो चौडा छ, दुइटा गाडी सजिलै वारपार हुने। गाडीले आफ्नो गति पत्रे्ककै छ। यात्रुहरूको झिनो संवाद  खासखास खुसखुस सुनिदैछ। बेलाबेलामा खलासीको सुसेल्याई पनि।
तीव्र गतिमा अन्य सवारी उछिनेर अगाडि बढेको बेला ब्युँझिएका यात्रुलाई डर लाग्छ। कहिले वीरवहादुरको गाडीले उछिन्छ। कहिले अर्कोले उछिन्छ। सडकलाई कसले पहिला मिच्ने, प्रतिस्पर्धा चलेको छ सडकमा।
वीरवहादुर यात्रामा तराईको समथर भूमि हरेक दिन देख्छ। उसलाई देशको माटो अत्यन्तै प्यारो लाग्छ। हिमाल, पहाड, तराई जहाँ गाडी चलाएपनि आफ्नै घरको आँगनमा चलाएझैँ लाग्छ उसलाई। ऊ निकै वर्षदेखि पूर्व–पश्चिम राजमार्गमा गाडी चलाउँदै आएको छ। बेलाबेला गरिने चक्काजाम र हड्तालले उसमा पेशाप्रति नै वितृष्णा जाग्न लागेको छ। तर त्यो काम गर्नु उसको बाध्यता हो। आन्दोलनकारीको ढुङ्गामुढा वीरवहादुरले निकैपटक छल्यो। गाडीका सिसा फुटेपनि ऊ जोगियो र हजारौँ यात्रुलाई जोगायो।
बाटोमा सानासाना आगो त उसले सधैँजसो देखेकै थियो। तर त्यो दिन देख्छ ऊ भयंकर दावानल। आगोका लप्काले शनैशनै आकाश छोएको छ। ‘यो आगलागी पक्कै होइन, लगाइएको आगो हो,’ ऊ अनुमान गर्छ।
आगोको लप्कातिर हेर्दै र डराउँदै खलासीको अनुहारमा आँखा पुर्‍याउँछ ऊ। जाडो छ। घुर तापेको पनि हुन सक्छ। सडकमै बलेको आगो घुर अवश्य होइन्। धेरै थरीका आगोसँग उसको जम्काभेट भइसकेको छ। आन्दोलनका आगो विभिन्न रूपका हुन्छन्। तराईतिरका आगो थरिथरिका हुन्छन्। यो आगोले ठूलै अपसगुन ल्याउने सम्भावना देख्छ वीरवहादुर।
गाडी बढ्दै जाँदा अर्को आगोको मुस्लो देखिन्छ। त्यो लर्तरो आगो होइन। झन् भयङ्कर छ।
‘दाइ, अगाडिको गाडीमा आगो लागेजस्तो छ,’ कण्डक्टर बोल्छ।
वीरवहादुर संयमित हुँदै अगाडि बढ्छ। आगो ठूलै रहेछ। उसको मनमा ठूलै अनिष्टको शङ्का उब्जन्छ। मान्छेहरू सडक किनारमा जम्मा भएका छन्। भीड आगो बाल्न उद्यत छ। र, ताप्नमा लिप्त। गाडीको हेडलाइटको उज्यालोको परावर्तनले राम्रोसँग अगाडि देख्न सक्ने अवस्था छैन।
वीरवहादुरले देख्छ– अगाडिको गाडीमा आगो लगाइएको छ। परपरका गाडीतिर हुलहुलका हुल मान्छे पुल्ठो बोकेर कुदेको देखिन्छ। मानौँ, गाडी आगो लगाएर खरानी बनाउनकै लागि बनाइएको हो। आगो लगाउनेहरू थपडी मारेर उत्सव मनाइरहेका छन्। ‘ल ल, गाडीको इन्जिन पड्कियो। आन्दोलन विरोधीलाई छाड्नुहुँदैन। यिनले हाम्रा माग र आन्दोलनको खिल्ली उडाएका!’ तिनमा एककिसिमको उन्मत्तता देखिएको छ।
वीरवहादुर अपर्झट गाडीको ब्रेक लगाउँछ। गाडीको गति एक्कासी शून्यमा झर्छ। वीरवहादुर झ्यालबाट मुन्टो बाहिर निकाल्छ र हेर्छ। स्थिति असमान्य भैसकेको छ। ऊ कण्डक्टरलाई भन्छ, ‘भाइ, अब हाम्रो गाडी कता लाने? पछाडि बलिरहेको गाडी हामीलाई उछिनेर आउने गाडी हो। हेर त नम्बर प्लेट। नम्बर प्लेट नम्बर डढेको छैन।’
कण्डक्टर गाडी ठम्याउँदै बोल्छ, ‘हो दाइ। त्यै गाडी हो। हामीलाई उछिनेर आएको गाडी खरानी हुनलाग्यो। अब हामी पनि सल्कनु पर्ने होला। दाइ, केही उपाय छ?’
वीरवहादुर मेमोरी प्लेयर बन्द गर्छ। गाडीका सबै बत्ती ‰याप्पै निभाउँछ। बिउँझिएका यात्रुहरूमा ठूलो त्रास देखिन्छ। अत्यासमा वीरवहादुर बोल्छ, …भाइ, अब पक्का बाँचिदैन। सुतेका प्यासेन्जरलाई उठाइदेऊ। सबै भागून्। भागेर भएपनि ज्यान जोगाऊन्।’
यतिबेलासम्म सबै प्यासेन्जर ब्युँझिसकेका हुन्छन्। उनीहरू चिच्याउँछन्। सडकमा पोलिएका गाडीको गन्ध र धँुवाले उकुसमुकुस बनाउँछ। गाडीबाट झरेर कतै जाने साहस उनीहरूमा हुँदैन। बिरानो ठाउँमा जे पनि हुनसक्छ। यात्रुहरू चालकलाई जसरी पनि गाडी अगाडि लैजान दबाब दिन्छन्। वीरवहादुर किंर्तव्यविमूढ देखिन्छन्।
आगो बलेको छ सडकमा। दर्जनौँ ट्रक र बसमा आगो लागिसकेको छ। सडकका दुई किनारमा थपडी बजिरहेको छ। मानौँ, सडकमा महायज्ञ भइरहेको छ। महान् कार्यको थालनी भएको छ। थपडीसँगै चेतावनी सुनिन्छ, …खाइस्। हामीले भनेको नटेर्ने? देखिस् हैन, आगो बलेको तेरो खटारोमा।’
कुरूक्षेत्रका लडाकुको जस्तै भीड वीरवहादुरको गाडीतर्फ ओइरिन थाल्छ। कण्डक्टर विकल्प देखाउँदै भन्छ, ‘लु दाइ, अब जोड स्पिडमा भागौँ।’ वीरवहादुर कण्डक्टरले दिएको विकल्प स्विकार्छ। गाडीलाई वेगसाथ अघि बढाउँछ।
आगो नजिकिएको छ। किनाराका भीडलाई पार गर्दै वीरवहादुर आगोबाटै गाडी अगाडि लैजान तम्सन्छ। थाहै नपाई एउटा ढुङ्गा उसको कञ्चटमा बजि्रन्छ। टाउकामा ढुङ्गा बज्रेर घाइते भएपनि वीरवहादुर गाडी रोक्दैन। अर्को ढुङ्गा स्टेरिङ समाइरहेको हातमै बज्रन्छ। केही लाग्दैन। वीरवहादुर रगतले लतपतिदै स्टेरिङ छाड्न बाध्य हुन्छ।
बाहिर मान्छेको भीडले सडक छपक्कै ढाक्छ। वीरवहादुर आफ्नै सिटमा रगताम्य भएर ढल्छ। कण्डक्टर बोल्न सक्दैन। चारजनाले घाइते चालकलाई सडकमा झार्छन्। एउटा भन्छ, ‘ए साला, के हो? तँ अटेरी! गाडी बलेको देखिनस्?’
नम्र भएर बोल्छन् वीरवहादुर, ‘गाडी नचलाए हामीले के खानु हजुर? हाम्रा जहानपरिवार भोकै नमार्नुस्। बिन्ती छ, सडक चल्न दिनुस्।’
‘अझ बढ्ता हुन्छस्? हाम्रो यत्रो आन्दोलनमा तँलाई सडक र तेरै परिवारको मात्र चिन्ता? तैँले हामीलाई हेपेको?’ एक आन्दोलनकारी आगो बन्छ। मुक्काले वीरवहादुरको कन्पारोमा कस्छ। वीरवहादुर बोल्न छाड्छ।
‘सालाको गाडीमा लगा आगो।’ कतैबाट आदेश आउँछ। पुल्ठो सल्काएर गाडीमुनि छिराइन्छ। गाडीमा आगो दन्कन थाल्छ।
साहुकै भए पनि चालकलाई आफूले चलाएको गाडीको माया नलाग्ने कुरा भएन। अझ त्यो गाडी वीरवहादुरको आफ्नै हो। कन्चटबाट तर्तरी रगत बगाउँदै ऊ आफ्नो गाडीतिर हेर्छ। सोच्छ, ‘फाइनान्सको सात लाख। बैंकको दस लाख। घरखेत सबै बेचेर गरिखान किनेको गाडी। जलिरहेछ। बलिरहेछ। खरानीमा परिणत भैरहेछ। अब मैले कसरी जहानपरिवार पाल्ने होला? लोकतान्त्रिक गणतन्त्र भनेको यस्तै हँदोरहेछ!’
वीरवहादुरको दिमागले केही सोच्नै सकेन। भीड बोल्न थाल्यो, ‘हामीलाई हाम्रो प्रदेश दे। हामीलाई हाम्रो पहिचान दे।’
खलाँसी, कण्डक्टर र बसका यात्रु कता गए? उसले केही पत्तो पाउन सकेन। अन्तिममा यति मात्र सोच्न भ्यायो, ‘कठैबरा! देशमा आगो लगाउँदा प्रदेश कसरी सुरक्षित होला? आगो जति नै न्यानो भएपनि कहिल्यै आफ्नो हुँदैन।’