अहिले नै तिमी आयौ भने

पूर्ण विराम

 

अहिले नै तिमी आयौ भने
यो विजनमा गोलको भारी बोकिरहेको समयभित्र
मैले सुन्नु पर्ने छैन कहिले दायाँ पेटीमा
कहिले बायाँ पेटीमा हाड चपाउन डेरा सार्ने गरेका
ती कुकुरका आवाजहरु
जसका स्वरहरुले मेरो एकान्तलाई विघट्न गरिरहेका छन् ।

अहिले नै तिमी आयौ भने
म सुत्ने गरेको खाटले पाउने छ अनुदानमा रहने पुर्जी
र लग्नेछ कसैले त्यसलाई अनुदानकै तन्ना ओछ्याएर
बजारको कुनै पसलमा र पसलेले नयाँ भएको आवरण टाँसेर
सकेसक्म सिमानासम्मको मुनाफा आर्जन गर्ने छ ।

अहिले नै तिमी आयौ भने
तप्त सूर्यले मलाई वाण हानेर
मेरो अनुहारमा रोपेको पसिना पुछ्ने रुमालले
खोलाको किनारमा कसैले खोलामा बग्नका निम्ति
पाउने घोक्रेठ्याकको अनुभव गर्ने छ
बाकटे हान्न नजानेको त्यो रुमालले
खोलाले जता लग्छ उतै जाने मार्गमा पर्दापण गर्नेछ ।

अहिले नै तिमी आयौ भने
कहिले मेरो कमिजको खल्तीमा
कहिले मेरो पाइन्टको गोजीमा
कसैको दुःखको आँसु पुछ्न नसकेको
लाचार खगामले तत्कालै मुमुक्षा पाउने छ
जसलाई मैले नपुंशकको लिपस्टिक लगाउँदै
उमेरको सोपान चढ्ने स्वतन्त्रता दिएको छु ।

अहिले नै तिमी आयौ भने
अवसरवादको चुचुरोमा फरफराउने छन् थरिथरिका झण्डाहरु
तिनका मुखमा खेलिरहने ¥यालको रङ्ग चाहीं
एउटै जातको हो
अहिले नै तिमी आयौ भने
तिनले पाउनेछन् ओढाउने विषयको लामो छलफल
वहसले खन्न सक्छ पानी बाराबारको तहसम्म पु¥याउने बाटो
मलाई आफ्नो झण्डाको अलवान ओढाउन कसले सक्छ ?
यसको लागि सिन्का भाँच्नु पर्दा लाग्ने शक्ति भन्दा
कम शक्ति उपयोग गरेर म भन्न सक्छु
धानको खेतमा देखा पर्ने गरेका झ्यालिन्चाहरुलाई
वडो चलाखी बोकेर बलियो हात झुण्ड्याइरहेको
केटोले नै झ्यालिन्चालाई ट्याप्पै समात्न सक्छ ।

अहिले नै तिमी आयौ भने
मेरा सारा सपनाहरु आगोमा खसेका
लाहाका टुक्राहरु हुने छन्
र कसैलाई दिन्छु भनेको म्यादि सिसारमा
डढेलो लागेर त्यसको देहपात हुने छ ।
र तत्कालै त्यसको जन्म भालाको कुलमा हुनेछ
जसले घोचिरहँदा आजीवन कसैलाई
म उघ्रिन नसक्ने ओठबाटै भए पनि
तिमी आएको समयलाई प्रतिकुल नै भनिरहेको छु ।